भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारस्थित मैदानेका किसान पछिल्लो समय व्यावसायिक रुद्राक्ष खेतीतर्फ आकर्षित भएका छन्। परम्परागत खेतीभन्दा कम मेहनतमा राम्रो आम्दानी हुने भएकाले यहाँका कृषक रुद्राक्ष खेतीलाई मुख्य आयस्रोतका रूपमा विकास गर्न लागिपरेका हुन्।
स्थानीय किसान प्रदीप थापाका अनुसार रुद्राक्ष खेतीबाट किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्। “रुद्राक्षको सिजन सुरु भएपछि गाउँमै व्यापारी आउने गर्छन्”, उनले भने, “देशका विभिन्न ठाउँबाट खरिदका लागि आउने भएकाले बजारको समस्या छैन। जसले किसानलाई थप उत्साहित बनाएको छ।”
मैदाने क्षेत्रको हावापानी र माटो रुद्राक्ष खेतीका लागि उपयुक्त भएकाले उत्पादन पनि राम्रो हुँदै आएको किसानको अनुभव छ। एक पटक बिरुवा रोपिसकेपछि लामो समयसम्म उत्पादन दिन सक्ने भएकाले यो खेती दीर्घकालीन आम्दानीको भरपर्दो माध्यम बन्दै गएको छ।
वडाध्यक्ष कुमार थापाका अनुसार रुद्राक्ष खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यस क्षेत्रलाई ‘रुद्राक्ष पकेट क्षेत्र’ का रूपमा विकास गर्ने योजना बनाइएको छ। “अन्य बालीको तुलनामा रुद्राक्षबाट किसानले राम्रो आम्दानी लिइरहेका छन्”, वडाध्यक्ष थापाले भने, “त्यसैले यसको विस्तार र प्रवर्द्धनका लागि आवश्यक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने तयारीमा छौँ।”
उनका अनुसार वडाले आगामी दिनमा रुद्राक्षका बिरुवा वितरण, प्राविधिक तालिम, बजार व्यवस्थापन र ब्रान्डिङमासमेत ध्यान दिने योजना बनाएको छ। रुद्राक्ष खेतीसँगै यहाँका किसान अन्य फलफूल तथा तरकारी खेती पनि सँगसँगै गर्दै आएका छन्। तर पछिल्लो समय रुद्राक्षले स्थायी आम्दानी दिन थालेपछि धेरै किसानले यसलाई प्राथमिकता दिन थालेका छन्।
स्थानीय स्तरमा रोजगारी सिर्जना, आर्थिक अवस्था सुधार तथा कृषिमा आत्मनिर्भरता बढाउने दिशामा रुद्राक्ष खेतीले महत्त्वपूर्ण भूमिका खेलेको देखिन्छ। मैदाने क्षेत्रको यो अभ्यास अन्य सुक्खा ग्रस्त तथा पहाडी क्षेत्रका लागि नमुना बन्न सक्ने स्थानीय किसानको भनाइ छ।
वडाले सिँचाइका लागि दुई वटा पोखरी निर्माण गरिदिएपछि मैदाने गाउँका अधिकांश किसानले रुद्राक्षको खेती गर्दै आएका छन्। सडक पहुँच विस्तारका कारण रुद्राक्षको खरिद बिक्रीमा सहजता भएको किसानको भनाइ छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- विकासको मूल प्रवाहबाट टाढा डडेलधुराको पलगडी गाउँको कथा
- सबैले वन बढेको देख्छन्, तर वनको छेउमा बस्नेको पीडा कसैले देख्दैनन्
- तीन जिल्लाको सङ्गमस्थलमा रहेको विश्वकै ठूलो शालिग्राम शिला डुबानमा
- एआईको आगामी ठुलो क्रान्ति: सिलिकन भ्यालीबाट होइन, उदीयमान बजारबाट हुने सङ्केत
- खाद्य लेबलिङ विवाद: युरोपेली सङ्घको पारदर्शितामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा मुद्दा
- कोसीमा जलस्तर बढेपछि ब्यारेजका ५६ मध्ये २० वटा ढोका खुल्ला
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- मौसम अपडेट: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?
- सैन्य क्षेत्रमा एआईको होडबाजी र बढ्दो वैश्विक चुनौती: प्रतिबन्ध र नियमनका लागि कडा प्रयास
- इलाममा ड्रागन फ्रुटको ‘क्रेज’: बगानमै आउँछन् व्यापारी