रैथाने स्वाद र मौलिकताको नयाँ गन्तव्य: दर्मीजा

म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजामा नयाँ ‘होमस्टे’ सञ्चालनमा आएको छ। दर्मीजाका स्थानीय बासिन्दा विप्रसाद पुनले वैदेशिक रोजगारीको विकल्प र सहरको बसाइ छाडेर जन्मथलो फर्किएर व्यावसायिक रूपमा होमस्टे सञ्चालन गरेका हुन्। पुर्खाले बनाएको पुरानो शैलीको मौलिक घरलाई मर्मत सम्भार गरेर पुनले सञ्चालनमा ल्याएको यस घरबासलाई ‘दर्मीजा होमस्टे’ नामकरण गरिएको छ।

लामो समय बाहिरी परिवेशमा बिताएका पुनले भने, ‘करिब एक दशक रोजगारीका लागि इराक र व्यवसाय गरेर काठमाडौँमा बिताएँ। विदेश र बजारमा आर्जेको व्यावसायिक ज्ञान, सीप र पुँजी परिचालन गरेर ग्रामीण क्षेत्रमा कृषिमा आधारित पर्यटन विकासका लागि होमस्टे सञ्चालन गरेको हुँ।’

होमस्टे सञ्चालनका लागि उनले विसं २०१९ मा आफ्ना हजुरबुबाले दर्मीजामा बनाएको घरलाई पुरानै मौलिक स्वरूपमा मर्मत गरेका छन्। हाल यस होमस्टेका चार वटा कोठामा दैनिक १० जनासम्म पाहुना बास बस्न सक्छन्। घर र कोठाभित्र परम्परागत मौलिक घरायसी सामग्री, पुराना भाँडाकुँडा र परम्परागत कृषि औजारहरू सजाएर राखिएको छ।

काठको ठेकी, मुडुस, तामाका भाँडा, घैँटो, हलो, जुवा, स्याखु, हरडुब्लो, लाफु, डोका र डाली जस्ता ऐतिहासिक सामग्री सजाइएको यस घरका झ्याल, ढोका र भित्री भाग पनि निकै आकर्षक छन्। यहाँ आउने आन्तरिक पर्यटक प्रदीप मगरले पुराना मौलिक घरमा बसेको वास्तविक र जीवन्त अनुभव गर्न पाइने बताए।

पृष्ठभूमिमा धौलागिरि हिमालको सुन्दर दृश्य देखिने दर्मीजा गाउँमा मगर समुदायको बाहुल्य बसोबास रहेको छ। यहाँको मुख्य आकर्षण नै प्रकृति, संस्कृति र मौलिक ग्रामीण जीवनशैलीमा रमाउन पाउनु हो। पर्यटकहरूले घरबासको कोठाबाटै दर्मीजा गाउँ र धौलागिरि हिमालको प्रत्यक्ष अवलोकन गर्न सक्छन्।

स्थानीयस्तरमै उत्पादित खाद्यान्न, तरकारी तथा पशुजन्य वस्तुहरू नै यस होमस्टेका मुख्य परिकार हुन्। पाहुनाहरूले कोदो वा फापरको ढिँडो, स्थानीय रातो च्याउ, रैथाने कुखुरा र खसीबोकाको मासु, ताजा सागसब्जीका साथै गाउँघरमा पालेका गाईभैँसीको शुद्ध दूध, दही र मोहीको स्वाद लिन पाउँछन्। यहाँ खान र बस्नका लागि दैनिक प्रतिव्यक्ति एक हजार ५० रुपैयाँ शुल्क तोकिएको छ।

दर्मीजा गाउँको फेदी र राहुघाट नदीको किनारमा रहेको प्राकृतिक तातोपानी कुण्डमा स्नान गरेर पर्यटकहरूले आफ्नो थकान मेटाउन सक्छन्। साथै स्थानीय जागा छहरा पनि दर्मीजाको प्रमुख आकर्षणका रूपमा रहेको छ। दर्मीजामा आउने पर्यटकको बसाइ लम्ब्याउनका लागि दुई घण्टाको पैदल यात्रापछि पुगिने नागींडाँडालाई सहायक गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण भइरहेको रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले जानकारी दिए।

वडाध्यक्ष गर्बुजाका अनुसार यस होमस्टेले ओझेलमा परेको दर्मीजा गाउँमा पर्यटकको चहलपहल बढाउन मद्दत गरेको छ। बेनी बजारदेखि २४ किलोमिटर उत्तरतर्फ रहेको दर्मीजा पुग्न कच्ची सडकमा सवारी साधनमार्फत डेढ घण्टाको यात्रा गर्नुपर्छ। दर्मीजादेखि चिमखोला हुँदै सोवाङ धुरी, धौलागिरि आइसफल, आधार शिविर र कालीबराह ताल भएर मुस्ताङ जान सकिन्छ। सडक निर्माणका कारण विस्थापित बनेको चल्तीको बेनी–जोमसोम पदमार्गको वैकल्पिक रूपमा धौलागिरि आइसफल हुँदै मुस्ताङ जोड्ने नयाँ पदमार्गमा पूर्वाधार बनाउने काम भइरहेको छ। हाल वार्षिक दुईदेखि तीन समूहका पर्यटक दर्मीजा हुँदै धौलागिरि आइसफल भएर मुस्ताङ जाने गरेका छन्।

पुनले होमस्टेका साथै परिसरमै फलफूल बगैँचा पनि स्थापना गरेका छन्, जहाँ किबी, सुन्तला र कागतीका बोटहरू लगाइएका छन्। पुनको परिवारका अन्य सदस्यहरू काठमाडौँमै व्यवसाय गरेर बसेका भए पनि उनले गाउँमै फर्किएर होमस्टे र कृषि फार्ममार्फत दुई जनालाई नियमित रोजगारीसमेत दिएका छन्। अधिकांश मानिसहरू सेवा, सुविधा र रोजगारीको खोजीमा गाउँबाट सहर र सहरबाट विदेश पलायन भइरहेको वर्तमान अवस्थामा विप्रसादले गाउँमै बसेर पनि सम्भावना र अवसरहरू सिर्जना गर्न सकिन्छ भन्ने सकारात्मक सन्देश दिएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link