वीरगन्जमा बढ्यो ‘लू’ को जोखिम, विद्यालय चार दिन बन्द

वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो गर्मी र अत्यधिक तापक्रम (लू) लाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, “प्रस्तुत विषयमा बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै असार ११ गतेदेखि चार दिन वर्षे बिदाबाट कट्टा हुने गरी महानगरअन्तर्गतका बाल विकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने ब्यहोरा निर्देशानुसार सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।” पछिल्लो दिनमा तराई–मधेसका जिल्लाहरूमा तापक्रम निरन्तर बढ्दै गएपछि जनजीवन प्रभावित बन्दै गएको छ ।

प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सर्वपक्षीय समन्वयात्मक बैठक सम्पन्न

मुस्लिम समुदायको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण बनाउने उद्देश्यसहित बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सर्वपक्षीय समन्वयात्मक बैठक बसेको छ । दाहा पर्वलाई मर्यादित तथा धार्मिक सद्भाव कायम राख्दै सम्पन्न गराउने उद्देश्यले बसेको सर्वपक्षीय समन्वयात्मक बैठकले अनुशासित र सौहार्द्रपूर्ण वातावरणमा पर्व मनाउन सबैका लागि नौ बुँदे आचारसंहिता जारी गरेको हो ।

आचारसंहितामा भनिएको छ, “र्‍याली तथा शोभायात्रा प्रशासनले तोकेको रुट, मिति र समयानुसार मात्र सञ्चालन गर्नुपर्ने हुन्छ । कुनै पनि प्रकारका हातहतियार तथा अशान्ति फैलाउने खालका उच्च ध्वनियुक्त उपकरण प्रयोग गर्न पाइने छैन । साथै अन्य धार्मिक समुदायको भावना र सामाजिक सद्भावमा असर पर्ने गतिविधि गर्न निषेध गरिएको छ ।”

त्यसैगरी, आचारसंहितामा प्रत्येक र्‍याली वा झाँकीका जिम्मेवार व्यक्तिले आफ्नो विवरण कम्तीमा एक दिनअघि प्रशासनमा बुझाउनुपर्ने, धार्मिक तथा सामाजिक सहिष्णुतामा असर पर्ने सामग्रीको प्रयोग गर्न नपाइने तथा सामाजिक सञ्जालमार्फत भ्रम, वैमनस्यता वा उत्तेजना फैलाउने सामग्री प्रचारप्रसार नगर्न पनि आग्रह गरिएको छ । पर्व अवधिभर सुरक्षा व्यवस्थापन तथा समन्वयलाई प्रभावकारी बनाउन मुस्लिम समुदायका तर्फबाट महबुब अली (शेरु आलम) र हिन्दु समुदायका तर्फबाट रञ्जीत शाहलाई सुरक्षा निकायसँग प्रत्यक्ष समन्वय गर्ने जिम्मेवारी तोकिएको छ ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले आधिकारिक पत्र प्राप्त भएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर मोहरम पर्वको अन्तिम रुट तथा विस्तृत सुरक्षा योजना तय गरिने जानकारी दिए ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link