ह्वाइट हाउस फर्किएपछि ट्रम्पको सम्पत्तिमा उछाल, क्रिप्टो व्यवसायबाट मात्रै १.४ अर्ब डलर आम्दानी

अमेरिकी इतिहासमा राष्ट्रपति ह्यारी ट्रुम्यानले सेनाको मासिक ११३ डलर पेन्सनबाहेक अन्य कुनै आम्दानीबिना ह्वाइट हाउस छोडेका थिए। ३३औँ अमेरिकी राष्ट्रपति ट्रुम्यानले पछि लेखेका थिए— “राष्ट्रपतिको गरिमा र ओहोदालाई व्यावसायिक लाभका लागि प्रयोग गर्नु गलत हो।”

त्यस्तै, जर्ज डब्ल्यु बुशले राष्ट्रपति पदको चुनाव लड्नुअघि आफ्नो लगानीलाई ‘ब्लाइन्ड ट्रस्ट’मा राखेका थिए। उनले पद छोड्ने अन्तिम साता सन् २००८ को आर्थिक मन्दीले आफ्नो व्यक्तिगत सम्पत्तिमा कस्तो असर पार्‍यो भन्ने कुराको आफूलाई पत्तोसमेत नभएको बताएका थिए।

तर, वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको मामलामा भने परिस्थिति पुरै फरक देखिएको छ। हालै सार्वजनिक भएको एक वित्तीय विवरण अनुसार, ट्रम्पले राष्ट्रपति पदमा फर्किएको पहिलो वर्षमै कम्तीमा २.२ अर्ब डलर (£१.७ अर्ब) आम्दानी गरेका छन्। इतिहासकारहरूका अनुसार यो आम्दानी अमेरिकी इतिहासमै अभूतपूर्व छ र यसले ह्वाइट हाउसमा रहँदा व्यक्तिगत वित्तीय स्वार्थको द्वन्द्वबाट टाढा रहने अमेरिकी राष्ट्रपतिहरूको दशकौँ पुरानो परम्परालाई ध्वस्त पारेको छ।

युनिभर्सिटी अफ भर्जिनियाको मिलर सेन्टरकी राष्ट्रपतीय इतिहासकार बारबरा पेरी भन्छिन्, “यसको कुनै ऐतिहासिक दृष्टान्त छैन। राष्ट्रपतिको इतिहासमा हामीले अहिलेसम्म देखेको भन्दा यो निकै बाहिरको कुरा हो।”

राष्ट्रपति ह्यारी ट्रुम्यान

सन् २०२५ मा ट्रम्पले गरेको यो ठुलो आम्दानीले उनी पुनः सत्तामा आउँदा कति धेरै आर्थिक लाभान्वित भए भन्ने कुरालाई छर्लङ्ग पारेको छ। उनका कतिपय व्यावसायिक गतिविधिहरूले सरकारी नीति निर्माण र राष्ट्रपति, उनको परिवार तथा निकट सल्लाहकारहरूको निजी व्यवसायबिचको सीमारेखालाई नै धमिलो बनाइदिएको आरोप लागेको छ।

क्रिप्टोकरेन्सी उद्योगबाट मात्रै १.४ अर्ब डलर

गत मङ्गलबार सार्वजनिक गरिएको अनिवार्य वित्तीय विवरण अनुसार ट्रम्पले क्रिप्टोकरेन्सी उद्योगबाट मात्रै १.४ अर्ब डलर कमाएका छन्। ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु हुनुभन्दा ठिक अघि सार्वजनिक गरेको मिम क्वाइनको पछाडि रहेको संस्था ‘सेलिब्रेसन कोइन्स’ बाट मात्रै ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त भएको उल्लेख गरेका छन्।

यसबाहेक, राष्ट्रपति ट्रम्पले ‘वर्ल्ड लिबर्टी फाइनान्स’ नामक क्रिप्टोकरेन्सी व्यवसायबाट ५० करोड डलरभन्दा बढी आम्दानी भएको विवरण बुझाएका छन्। यो कम्पनी ट्रम्पका छोराहरू डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्प तथा मध्यपूर्व र युक्रेनका लागि ट्रम्पका विशेष दूत स्टिभ विटकफका छोराहरू मिलेर स्थापना गरेका हुन्।

सन् २०२५ मा ट्रम्पको यो आम्दानी सन् २०२४ (उनी राष्ट्रपति हुनुभन्दा अघिल्लो वर्ष) को ६२ करोड २० लाख डलरको तुलनामा झन्डै चार गुणा बढी हो।

ह्वाइट हाउसद्वारा आरोप अस्वीकार

ह्वाइट हाउसले भने ट्रम्प र उनको परिवारले राष्ट्रपतिको पदको दुरुपयोग गरेर नाफा कमाएको कुरालाई ठाडो अस्वीकार गरेको छ। ह्वाइट हाउसकी उप-प्रेस सचिव अन्ना केलीले एक विज्ञप्ति जारी गर्दै भनिन्, “राष्ट्रपति वा उहाँको परिवारले कहिल्यै पनि स्वार्थको द्वन्द्व हुने कार्यमा संलग्नता जनाएका छैनन् र गर्ने पनि छैनन्।”

उनले थपिन्, “राष्ट्रपति ट्रम्प र उहाँको प्रशासनका हरेक कदम अमेरिकी जनताको सर्वोत्तम हितमा चालिएका छन्। यसको विपरीत प्रचार गर्ने तथाकथित ‘पत्रकारहरू’ले विगत एक दशकदेखि डेमोक्र्याट र स्थापित सञ्चारमाध्यमहरूले चलाउँदै आएको पुरानै, थकित र झुटो भाष्यलाई मात्र दोहोर्‍याइरहेका छन्।”

विगतका राष्ट्रपति र विवाद

विगतमा पनि अमेरिकी राष्ट्रपतिहरू वित्तीय घोटाला वा भ्रष्टाचारका प्रश्नहरूमा नतानिएका होइनन्। इतिहासकारहरू अमेरिकी गृहयुद्धपछिको कालखण्डलाई सम्झिन्छन्, जहाँ राष्ट्रपति युलिसिस ग्रान्टको पालामा ट्रेजरी विभागका अधिकारीहरू सुन बिक्री र भन्सार असुली जस्ता काण्डहरूमा मुछिएका थिए। त्यस्तै, सन् १९२० को दशकमा वारेन हार्डिङको राष्ट्रपतीय कार्यकालमा आन्तरिक मामिला मन्त्रीले तेल लिज सम्झौताको बदलामा घुस लिएका थिए, जसलाई ‘टिपोट डोम काण्ड’ भनिन्छ। तर, ती घटनाहरूमा राष्ट्रपतिहरू आफैँ प्रत्यक्ष रूपमा संलग्न थिएनन् वा पदमा रहँदा व्यक्तिगत रूपमा धनी बनेको आरोप उनीहरूमाथि लागेको थिएन।

आधुनिक युगमा, सन् १९३३ मा फ्र्याङ्कलिन डी. रुजवेल्टको कार्यकाल सुरु भएयता धेरै राष्ट्रपतिहरूका आफन्तले ह्वाइट हाउससँगको सम्बन्धको फाइदा उठाएर नाफा कमाउने प्रयास गरेका उदाहरण छन्। जस्तै, जिमी कार्टरका भाइले एउटा बियर ब्रान्डको प्रवर्द्धन गरेका थिए भने जो बाइडेन उप-राष्ट्रपति रहँदा उनका छोरा हन्टर बाइडेनले युक्रेनी ऊर्जा कम्पनीबाट रकम लिएका थिए।

तर इतिहासकारहरू भन्छन्, विगतका ती उदाहरणहरू ट्रम्प र उनको पारिवारिक व्यवसायले पुनः सत्तामा आएपछि कमाएको नाफाको अगाडि निकै फिका देखिन्छन्। इतिहासकार पेरी भन्छिन्, “ट्रम्प र उनको परिवार तथा अन्य पूर्व राष्ट्रपतिहरू बिचको मुख्य भिन्नता यही हो। पदमा रहँदा असीमित पैसा कमाउनु गैर कानुनी नहोला, तर यो अनैतिक हो। विगतका अधिकांश राष्ट्रपतिहरू यसो गर्न चाहँदैनथे।”

सन् २०१७ मा आफ्नो पहिलो कार्यकाल सुरु गर्नुअघि ट्रम्पले आफ्नो पारिवारिक व्यवसाय ‘ट्रम्प अर्गनाइजेसन’को नियन्त्रण आफ्ना वयस्क छोराहरूलाई सुम्पेका थिए। तर, सो कदमले विगतको स्थापित परम्परालाई तोडेको थियो, किनभने ट्रम्पले आफ्नो व्यवसायलाई परम्परागत ‘ब्लाइन्ड ट्रस्ट’मा राखेनन् वा आफ्नो रियल इस्टेट र अन्य लगानीबाट पूर्ण रूपमा अलग भएनन्। आफ्नो दोस्रो कार्यकाल अघि पनि उनले यस्तै कदम चालेका छन्।

क्रिप्टो टाइकुनलाई माफी र व्यावसायिक नीति

यद्यपि, ट्रम्पले ह्वाइट हाउसमा गरेका कतिपय निर्णयहरूले उनको आफ्नै व्यवसाय र प्रशासनका अन्य वरिष्ठ अधिकारीहरूसँग जोडिएका व्यवसायहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याएको देखिन्छ।

गत जुलाईमा, ट्रम्पले एक प्रकारको क्रिप्टोकरेन्सी’स्टेबलक्वाइन’लाई सहयोग पुर्‍याउने कानुनमा हस्ताक्षर गरे, जुन ‘वर्ल्ड लिबर्टी फाइनान्स’ले आफ्नो डिजिटल मुद्रा बजारमा ल्याएको ठिक चार महिनापछिको कुरा थियो। सोही कम्पनीबाट ट्रम्पले सन् २०२५ मा कम्तीमा ५० करोड डलर कमाएका हुन्।

त्यस्तै, गत अक्टोबरमा ट्रम्पले क्रिप्टोकरेन्सी एक्सचेन्ज ‘बाइनान्सका अरबपति संस्थापक चाङपेङ झाओलाई आममाफी दिए। विगतमा क्रिप्टो उद्योगलाई “आउन लागेको महाविपत्ति” भन्दै खारेज गरेका ट्रम्पले दोस्रो पटक ह्वाइट हाउस छिरेपछि यस उद्योगको खुलेरै प्रशंसा गर्न थालेका छन्।

क्रिप्टोकरेन्सी बाहेक ट्रम्पको पारिवारिक व्यवसायले अन्य क्षेत्रमा पनि फाइदा उठाएको छ। गत वर्ष ट्रम्पले काजकिस्तानका राष्ट्रपतिसँग अमेरिकी कम्पनीलाई त्यहाँको एउटा ठुलो खनिज परियोजनामा पहुँच दिने सम्झौता गरेका थिए। पछि, एरिक र डोनाल्ड ट्रम्प जुनियरले उक्त खानी परियोजनामा संलग्न कम्पनीको केही सेयर हिस्सा किने। वाणिज्य मन्त्री हावर्ड लुटनिकका छोराहरूद्वारा सञ्चालित लगानी कम्पनी ‘क्यान्टर फिट्जगेराल्ड’ (Cantor Fitzgerald) ले पनि सो सम्झौतामा काम गरेको थियो।

बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पदमा रहँदा भएको आफ्नो आम्दानीको जस सेयर बजारको वृद्धिलाई दिएका छन् र पारिवारिक व्यवसायमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। ट्रम्पले भने, “म मेरो व्यक्तिगत वित्तीय मामिलामा संलग्न हुन्नँ। मेरो पैसा सञ्चालन गर्ने कोषहरू छन्। राष्ट्रपति बन्नुअघि नै मैले धेरै पैसा कमाएको थिएँ, उनीहरूले नै मेरो पैसा लगानी गर्छन् र म उनीहरूसँग कुरा गर्दिनँ।”

तर, आचारसंहिता सम्बन्धी विज्ञहरू ट्रम्पको यो आम्दानी, विशेष गरी क्रिप्टोकरेन्सीबाट भएको कमाइ गम्भीर समस्या भएको तर्क गर्छन्। जर्ज डब्ल्यु बुशका पालाका पूर्व मुख्य ह्वाइट हाउस नीति सल्लाहकार रिचर्ड पेन्टर भन्छन्, “निश्चय नै यो स्वार्थको द्वन्द्व हो। आफ्ना राष्ट्रपतिले यसरी अर्बौँ रुपैयाँ कमाएको देख्नु अमेरिकी जनताका लागि निकै चिन्ताजनक परिस्थिति हो।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link