फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ १६’ को रोमाञ्चक भिडन्तमा मोरक्कोले उत्कृष्ट प्रदर्शन गर्दै सह–आयोजक राष्ट्र क्यानडालाई ३–० को फराकिलो गोल अन्तरले पराजित गरेको छ। यो सानदार जितसँगै मोरक्को जारी विश्वकपको क्वार्टरफाइनलमा पुग्ने पहिलो टोली बनेको छ। अर्कोतर्फ ६८ हजारभन्दा बढी घरेलु तथा तटस्थ समर्थकको बलियो साथ पाएको क्यानडाको विश्वकप यात्रा भने नकआउट चरणको पहिलो खेलमै समाप्त भएको छ।
खेलको सुरुवातमा क्यानडाले निकै आक्रामक र उच्च गतिको खेल प्रदर्शन गरेको थियो। पहिलो हाफमा क्यानडाले विश्व फुटबलको बलियो शक्ति मोरक्कोलाई निरन्तर दबाबमा राख्दै बल नियन्त्रणमा लियो र केही स्पष्ट गोल गर्ने अवसरहरू समेत सिर्जना गर्यो। क्यानडाका खेलाडीहरूले बलियो मिडफिल्ड प्रदर्शन गरे पनि अग्रपंक्तिमा फिनिसिङको कमजोरीका कारण गोल खाता खोल्न सकेनन्।
दोस्रो हाफमा भने मोरक्कोले आफ्नो रणनीतिक परिपक्वता देखाउँदै खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लियो। मोरक्कोका लागि मिडफिल्डर अजद्दीन उनाही नायक साबित भए। उनले खेलको ५० औँ मिनेटमा उत्कृष्ट गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाए। क्यानडाले बराबरी गोलका लागि प्रयास गरिरहँदा रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै ८२ औँ मिनेटमा उनाहीले व्यक्तिगत दोस्रो गोल गरेर मोरक्कोको जित निश्चित बनाए। खेलको अतिरिक्त समय (९०+८’ मिनेट) मा सुफियान रहिमीले अर्को गोल थप्दै मोरक्कोलाई ३–० को भव्य जित दिलाए। मोरक्कोको रक्षापंक्ति र काउन्टर–अट्याक खेल नै यस जितको मुख्य आधार बन्यो।
यस संस्करणको विश्वकप अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेका छन्। तीन आयोजक राष्ट्रमध्ये क्यानडा नकआउट चरणको सुरुवातमै बाहिरिने टोली बनेको छ। मोरक्कोले क्यानडालाई उसकै घरेलु महादेशीय क्षेत्रमा पराजित गर्दै लगातार दोस्रो विश्वकपमा आफ्नो ऐतिहासिक यात्रा जारी राखेको छ। सन् २०२२ को विश्वकपमा सेमिफाइनलसम्म पुगेर विश्वलाई चकित पारेको मोरक्कोले यस पटक पनि आफूलाई बलियो दाबेदारको रूपमा उभ्याएको छ।
क्यानडालाई प्रतियोगिताबाट बाहिर पठाउँदै क्वार्टरफाइनलमा सुरक्षित प्रवेश गरेको मोरक्कोले अब सेमिफाइनलको टिकटका लागि बलियो युरोपेली टोली फ्रान्स सँग सामना गर्नेछ। फ्रान्सले आफ्नो ‘राउन्ड अफ १६’ को खेलमा पाराग्वेलाई १–० ले पराजित गर्दै क्वार्टरफाइनल यात्रा तय गरिसकेको छ। विगतका विश्वकपका भिडन्तहरूका कारण फ्रान्स र मोरक्कोबिचको आगामी क्वार्टरफाइनल खेल निकै रोचक र कडा प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- टप एन्ड सिरिज: लय समात्ने र इतिहास रच्ने दाउमा नेपाल ‘ए’
- बाटो देखायो तालिमले, समृद्धि ल्यायो तरकारी खेतीले
- निगमले आज सोमबारदेखि खाना पकाउने ग्यासको बिक्री-वितरण नियमित बनाउने
- खराब मौसमका कारण रेसुङ्गा विमानस्थलको उडान प्रभावित
- आज नापञ्चमी पर्व मनाइँदै
- आज दुबै सङ्घीय सदनको बैठक बस्दै
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- कोशी प्रदेशमा ‘विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’ संवाद सम्पन्न
- सडक अपडेट: ३० वर्ष बित्दा पनि सहज भएन डुम्रे–बेँसी सहर–चामे सडक!
- हात्ती आतंक: हल्दिबारीमा तीन हात्ती बस्ती छिरेर क्षति, स्थानीयमा त्रास!
