कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको सेतीखोला जलविद्युत् आयोजनाले बिजुली उत्पादन सुरु गरेको छ।
सेती खोला हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित सो आयोजना विसं २०७८ मङ्सिरमा सुरु भएको हो। नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेपछि उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको प्रवर्द्धक कम्पनी निर्देशक दीपक बरालले जानकारी दिए।
उनका अनुसार प्रारम्भिक रूपमा १५ दिन आयोजना परीक्षण अवधिमा रहनेछ। त्यसपछि नियमित व्यावसायिक उत्पादन सुरु हुनेछ। सो अवधिमा उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको प्रणालीमा प्रवाह गरिनेछ भने आयोजना र उपकरणको प्राविधिक परीक्षण गरिने छ।
आयोजनाले गत मङ्सिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको थियो। तर प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा सम्पन्न गर्न विलम्ब भएको बताइन्छ। प्रसारण लाइनका लागि निर्माण गरिएका पाँच टावरमध्ये तीन वटा वन क्षेत्रमा परेकाले आवश्यक स्वीकृतिका लागि समय लागेको निर्देशक बरालको भनाइ छ।
सेती खोला जलविद्युत् आयोजनाको बाँध पोखरा–३३ को तिकलाङमा निर्माण गरिएको छ। त्यहाँबाट तीन हजार १०६ मिटर लामो सुरुङ मार्ग हुँदै पानी तल्लो पुँडीटारस्थित विद्युत्गृहमा पुर्याइएको छ। यहाँ ११/११ मेगावाट क्षमताका दुई वटा ‘टर्वाइन’ जडान गरिएका छन्।
आयोजनामा रु पाँच अर्ब पाँच करोड लगानी भएको छ। आयोजना व्यावसायिक रूपमा सञ्चालनमा आएपछि आगामी आर्थिक वर्षभित्रै सर्वसाधारणका लागि प्राथमिक शेयर निष्कासन गर्ने तयारी गरिएको छ।
सेती नदीमा पछिल्लो समय विभिन्न क्षमताका जलविद्युत् आयोजना निर्माणका क्रममा छन्। गत वर्षदेखि भिजन लुम्बिनी ऊर्जा कम्पनीले प्रवर्द्धन गरेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन गरिसकेको छ। हाल आधा दर्जन आयोजना निर्माणको प्रारम्भिक चरणमा र केही निर्माणाधीन छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वाधार छ, बजेट छैन: ५० शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय जनशक्ति अभावमा साघुरियो
- भोजपुरको ‘फलाम ढुङ्गा’: प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्व, तर ओझेलमा
- म्याग्दीको धवलागिरि गाउँपालिकाको उदाहरणीय कदम: पोखरामै एकीकृत सेवा शिविर
- म्याग्दीमा साइबर अपराधको ग्राफ उकालो: अनलाइन ठगीबाट कसरी बच्ने?
- राष्ट्रिय सभाको बैठक आज बस्दै
- आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
- मनसुन अपडेट: पहिरो र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन अपिल
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै