बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै एक वर्ष लाग्ने भएको छ। नेपालको तेस्रो जलविद्युत् आयोजना विसं २०८१ असोजको बाढीपहिरोले क्षति पुगेपछि विद्युत उत्पादन बन्द भएको छ।
कुल दुई दशमलव चार मेगावाट क्षमताको सो आयोजनाको विद्युत् गृहमा बाढी पस्दा टर्वाइन, प्यानल सर्किट, ब्रेकर प्यानल, एभिआर प्रणालीलगायत महत्त्वपूर्ण उपकरण डुबानमा परेका थिए।
यस्तै, रोशी खोलाले धार परिवर्तन गरेर बाँधमा क्षति पुर्याएको छ। विपद्का कारण रु सात करोड बराबरको क्षति भएको जनाइएको छ। बाढीले विद्युतीय उपकरण प्रयोग गर्न नमिल्ने अवस्थामा पुर्याएको केन्द्रका प्रमुख शिवराज तिमिल्सिनाले जानकारी दिए।
यस्तै, बाँधबाट विद्युत्गृहसम्म पानी लैजाने ‘क्यानल’ मा समेत क्षति पुगेको थियो। तिमिल्सिनाका अनुसार हालसम्म विद्युत् गृहभित्र थुप्रिएको माटो र लेदो हटाउने काम पूरा भएको छ। नयाँ उपकरण खरिदका लागि नेपाल विद्युत् प्राधिकरणसँग बजेट माग गरिएको छ।
हाल केन्द्रमा ‘सिभिल’तर्फको पुनर्निर्माण तीव्र गतिमा भइरहेको छ। विद्युत्गृह वरपरको पहिरो नियन्त्रणका जैविक इन्जिनियरिङलगायत काम सम्पन्न हुने चरणमा छ। निर्माण व्यवसायीले निर्धारित समयमै काम सम्पन्न गरे बढीमा एक वर्षभित्र विद्युत् उत्पादन हुने बताइएको छ।
तत्कालीन सोभियत सङ्घको सहयोगमा २०१७ सालमा निर्माण सुरु भएको सो आयोजनालाई प्राधिकरणले अध्ययन केन्द्र बनाउने निर्णय गरिसकेको छ। रु २७ करोड लागतमा निर्माण सम्पन्न भएको आयोजनाको उद्घाटन विसं २०२२ मा भएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- पूर्वाधार छ, बजेट छैन: ५० शय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय जनशक्ति अभावमा साघुरियो
- भोजपुरको ‘फलाम ढुङ्गा’: प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्त्व, तर ओझेलमा
- म्याग्दीको धवलागिरि गाउँपालिकाको उदाहरणीय कदम: पोखरामै एकीकृत सेवा शिविर
- म्याग्दीमा साइबर अपराधको ग्राफ उकालो: अनलाइन ठगीबाट कसरी बच्ने?
- राष्ट्रिय सभाको बैठक आज बस्दै
- आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर
- मनसुन अपडेट: पहिरो र बाढीको जोखिम, उच्च सतर्कता अपनाउन अपिल
- भेडेटारको ‘स्काइवाक’ नयाँ पर्यटकीय रोजाइ
- खेतीको क्षेत्रफल बढे पनि म्याग्दीमा घट्यो आलुको उत्पादकत्व
- आज राष्ट्रिय सभाको बैठक बस्दै