गर्मी छल्न रिगतालमा पर्यटकको भीड

हिजोआज दैनिकजसो रिगताल परिसरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। बागलुङको तल्लो क्षेत्रमा निकै गर्मी छ। जसका कारण समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको रिगताल क्षेत्रमा सितल छ। यहाँ पुस माघ महिनाको जस्तो चिसो सिरेटो चिलिनै रहन्छ। गर्मी छल्न आन्तरिक पर्यटक दिनहुँ यहाँ पुग्छन्।

उच्च पहाडी हावापानी, शान्त वातावरण र प्राकृतिक सुन्दरताको रसास्वादन गर्न आउने पर्यटकका कारण रिग क्षेत्रमा चहपहल बढेको हो। बर्खा याममा फूलेका भुइँफूल र अहिया पालुवाले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्ने गरेको छ। बागलुङको निसीखोला गाउँपालिका–६ मा पर्ने रिग ताल एक दशक अगाडिसम्म ओझेलमा थियो। तर पछिल्लो समय प्रचारप्रसार हुँदा पर्यटक आकर्षणको केन्द्र बनेको हो।

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको नजिकै पर्ने रिग क्षेत्रमा प्रकृतिसँगै गोठाले जनजीवन, हजारौँ सङ्ख्याका बस्तुभाउ र वन्यजन्तुसँग रमाउन आउनेको संख्या बढी छ। बागलुङ, रोल्पा र पूर्वी रुकुम जिल्लाको सङ्गम स्थल पातीहाल्नेदेखि १५ मिनेटको पैदल यात्रामा पुग्न सकिने रिगतालसम्म सडक पनि पुगेको छ। जसले पर्यटकलाई सवारी साधानमै तालसम्म पुग्न सहज बनाएको छ।

पछिल्लो सात वर्षमा रिग ताल क्षेत्रमा आउने पर्यटकको सङ्ख्या ह्वातै बढेको निसीखोला गाउँपालिका–६ का पूर्णबहादुर घर्ती मगरले बताए। पहिले गोठालाले चरन क्षेत्रका रूपमा प्रयोग गर्दै आएको रिगतालमा अहिले दैनिक पर्यटक आउने गरेका छन्। असारको पहिलो सातादेखि नै दैनिक एक सयभन्दा बढी पर्यटक रिग क्षेत्रमा आउने गरेको घर्ती मगरले सुनाए।

उनले भने, “सडकको विकासले गोठाला बस्ने ठाउँमा पर्यटक आउन थाले, पहिले त निसी, भल्कोट गाउँका गोठालाहरू भेडाबाख्रा, गाईभैँसी लिएर बर्खा भरि बस्ने ठाउँ हो, तर अहिले रिग डाँडाभरी मान्छेहरूको भिड लाग्छ, ठाउँ पनि राम्रो छ।”

अरू बेलाभन्दा बिदाको दिन ५०० बढी पर्यटक रिग तालमा आउने गरेका घर्तीले जानकारी दिए। पर्यटकले गोठमै आएर दूध, दही र घ्यूसमेत खरिद गर्दा आम्दानी राम्रो हुने गरेको बताए। पर्यटकले प्लास्टिकका बोटल, बियरका सिसा र अन्य प्लास्टिकजन्य फोहोर जथाभाबी गर्ने गरेको उनले गुनासो गरे।

खासगरी बुटवल, दाङ, नेपालगन्ज, चितवन, भैरहवा लगायतका ठाउँबाट पर्यटकहरू गर्मी छल्न यति बेला रिगताल आउने गरेका छन्। नेपालगन्जबाट घुम्न आएका रितेश ताम्राकारले तराईमा निकै गर्मी बढेको हुँदा एक साता सितल खोज्दै पहाड उक्लिएको बताए। पहाड आएको समयमा चौरीखर्क, ढोरपाटन, निसेलढो र रिगतलामा घुमेको उनले सुनाए।

“तराईमा निकै गर्मी बढेको छ, यहाँको जस्तो सितल हावा पाउन त निकै गाह्रो पर्छ, यहाँको हावापानी धेरै राम्रो रहेछ, एकै छिन बस्यो भने जाडोले काप्ने अवस्था आउँछ,” उनले भने, “गर्मी महिनाभरि यतै बसौँ जस्तो लाग्यो।”

भैरहवाका प्रवेश पौडेलले पहाड घर गुल्मी आएको बेला साथीहरूसँग रिगताल घुम्न आएको बताए। भैरहवामा अत्यधिक गर्मी बढेको सुनाउँदै उनले रिगताल आएपछि यहाँको प्रकृति र हावापानीसँग रमाउँदै आनन्द आएको बताए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link