फेसबुक र इन्स्टाग्रामको ‘लत बसाल्ने डिजाइन’ डिजिटल सेवा ऐन विपरीत: युरोपेली आयोग

युरोपेली आयोगले सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुकको ‘लत बसाल्ने डिजाइन’का कारण यसको माउ कम्पनी ‘मेटा’ ले डिजिटल सेवा ऐनको उल्लङ्घन गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ । आयोगले विशेष गरी यी प्लेटफर्महरूमा रहेका ‘इन्फिनिट स्क्रोल’, ‘अटोप्ले’, ‘पुस नोटिफिकेसन’ र अत्यधिक व्यक्तिगत रुचिअनुसार सामग्री देखाउने ‘रिकमेन्डर सिस्टम’ माथि केन्द्रित रहेर अनुसन्धान गरिरहेको छ ।

जोखिम मूल्याङ्कनमा मेटाको लापरबाही

आयोगको अनुसन्धानअनुसार मेटाले आफ्ना प्लेटफर्महरूको लत लगाउने डिजाइनले प्रयोगकर्ताहरू, विशेष गरी नाबालिग तथा संवेदनशील वयस्कहरूको शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने जोखिमको पर्याप्त मूल्याङ्कन गर्न सकेको छैन ।

अत्यधिक व्यक्तिगत सिफारिस, अटोप्ले र इन्फिनिट स्क्रोलजस्ता विशेषताहरूले प्रयोगकर्तालाई लगातार नयाँ सामग्री देखाएर अल्झाइराख्छन् । यसले मस्तिष्कलाई ‘अटोपाइलट मोड’ मा पुर्‍याई अस्वस्थ बानी र जबरजस्ती स्क्रोल गरिरहने समस्या निम्त्याउँछ ।  नाबालिगहरूले रातिको समयमा इन्स्टाग्राम वा फेसबुकमा बिताउने समय र ‘रिल्स’ तथा ‘स्टोरिज’ जस्ता संरचनाहरूले उनीहरूमा पार्ने नकारात्मक प्रभावबारे उपलब्ध तथ्यहरूलाई मेटाले बेवास्ता गरेको आयोगको ठहर छ ।

जोखिम न्यूनीकरणका उपायहरू असफल

अनुसन्धानका प्रमाणहरूले मेटाद्वारा हालै अपनाइएका जोखिम न्यूनीकरणका उपायहरू निष्प्रभावी भएको देखाएका छन् । किशोर-किशोरीहरूका लागि स्वतः सक्रिय हुने भनिएका ‘टाइम म्यानेजमेन्ट’ औजारहरूलाई सजिलै बन्द गर्न सकिन्छ, जसले गर्दा प्रयोगको समयमा तात्त्विक कमी आएको देखिँदैन ।  साथै मेटाका अभिभावकीय नियन्त्रण प्रणालीहरू त्यति बेला मात्र प्रभावकारी हुन्छन्, जब अभिभावकहरूसँग प्राविधिक ज्ञान हुन्छ र उनीहरूले यसका लागि पर्याप्त समय दिन्छन् । यसले गर्दा यो प्रणाली व्यावहारिक रूपमा असफल देखिएको छ ।  ‘सेफ्टी सेन्टर’ मार्फत मानसिक स्वास्थ्यसम्बन्धी सुझाव वा लिङ्कहरू उपलब्ध गराएर मात्र फेसबुक र इन्स्टाग्रामको लत लाग्ने जोखिम कम नहुने आयोगको बुझाइ छ ।

आयोगको माग र संरचनात्मक परिवर्तनका सुझावहरू

युरोपेली आयोगले मेटालाई आफ्ना लोकप्रिय प्लेटफर्महरू फेसबुक र इन्स्टाग्राममा तत्काल संरचनात्मक सुधार गर्न निर्देशन दिएको छ । आयोगका अनुसार प्रयोगकर्तालाई अल्झाइराख्ने ‘अटोप्ले’ र ‘इन्फिनिट स्क्रोल’ जस्ता लत लगाउने डिजिटल विशेषताहरूलाई सुरुमै निष्क्रिय (डिसेबल्ड बाई डिफल्ट) राख्नुपर्ने हुन्छ, ताकि प्रयोगकर्ताले चाहेमा मात्र यसलाई अन गर्न सकुन् । यसका साथै, सामाजिक सञ्जालको अत्यधिक प्रयोगलाई नियन्त्रण गर्न प्लेटफर्महरूमा प्रभावकारी ‘स्क्रिन टाइम ब्रेक’ को व्यवस्था गरिनुपर्ने आयोगको माग छ । प्रयोगकर्तालाई टिकाइराख्ने (एङ्गेजमेन्ट-ओरिएन्टेड) दाउपेच बुनेर बनाइएको विद्यमान सामग्री सिफारिस प्रणाली (रिकमेन्डर सिस्टम) लाई पूरै परिवर्तन गरी मानसिक र शारीरिक रूपमा स्वास्थ्यमैत्री बनाउन समेत आयोगले म्यान्डेट जारी गरेको छ ।

६ प्रतिशतसम्म जरिबाना हुनसक्ने, मेटालाई प्रतिरक्षाको मौका

यस प्रारम्भिक निष्कर्षले अनुसन्धानको अन्तिम परिणामलाई भने पूर्वनिर्धारित गर्दैन । मेटाले अब आफ्नो प्रतिरक्षाको अधिकार प्रयोग गर्न पाउनेछ । कम्पनीले आयोगको अनुसन्धान फाइलहरू अध्ययन गरी लिखित जवाफ पेस गर्न सक्नेछ । यदि आयोगको यो निष्कर्ष अन्तिम रूपमा पुष्टि भएमा, मेटामाथि कडा कारबाही हुन सक्नेछ । नियम उल्लङ्घनको प्रकृति, गम्भीरता र अवधिका आधारमा मेटालाई उसको विश्वव्यापी वार्षिक कारोबारको ६ प्रतिशतसम्म जरिबाना हुन सक्नेछ ।

युरोपेली आयोगले १६ मे २०२४ मा मेटाले डिजिटल सेवा ऐन पालना गरे-नगरेको विषयमा औपचारिक अनुसन्धान सुरु गरेको थियो । आयोगले मेटाका आन्तरिक प्रतिवेदनहरू, वैज्ञानिक अनुसन्धानहरू र व्यावहारिक लतका विज्ञहरूसँगको अन्तर्वार्तापछि यो निर्णय लिएको हो । यसबाहेक, १३ वर्षमुनिका बालबालिकालगायतको उमेर प्रमाणीकरण र प्रयोगकर्तालाई एउटै प्रकृतिको सामग्रीमा फसाउने ‘र्‍याबिट होल’ जस्ता अन्य गम्भीर विषयमा पनि आयोगले छुट्टै अनुसन्धान गरिरहेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link