फिफा विश्वकप २०२६: फ्रान्स स्तब्ध, स्पेन फाइनलमा!

फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनल खेलमा युरोपेली महारथी स्पेनले उत्कृष्ट प्रदर्शन गर्दै अर्को बलियो टोली फ्रान्सलाई २-० गोल अन्तरले पराजित गरेको छ। टेक्ससको डल्लास स्टेडियममा भएको यस रोमाञ्चक र उच्च दबाबपूर्ण खेलमा जित निकाल्दै स्पेनले इतिहासमा दोस्रो पटक विश्वकपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ। यो हारसँगै फ्रान्सको लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने सपनामा पूर्णविराम लागेको छ।

खेलको सुरुवातदेखि नै दुवै टोलीले शारीरिक र रणनीतिक रूपमा आक्रामक खेल खेलेका थिए। तर स्पेनले खेलको पहिलो हाफमै पेनाल्टी मार्फत अग्रता लिन सफल भयो।

खेलको २१ औँ मिनेटमा आफ्नो १९ औँ जन्मदिन मनाएको भोलिपल्टै मैदान उत्रिएका स्पेनिस विङ्गर लामिन यमालले डिबक्स भित्र फ्रान्सका लेफ्ट-ब्याक लुकास डिग्नेभन्दा अगाडि बल नियन्त्रणमा लिएका थिए। सोही क्रममा डिग्नेले यमाललाई लडाएपछि स्पेनले पेनाल्टीको अवसर पायो। उक्त महत्त्वपूर्ण पेनाल्टीलाई स्पेनका माइकल ओयार्साबालले २२ औँ मिनेटमा फ्रान्सेली गोलरक्षक माइक माइनानलाई छक्काउँदै सहजै गोलमा परिणत गरे र स्पेनलाई १-० को सुरुवाती अग्रता दिलाए।

दोस्रो हाफमा फ्रान्सले खेलमा फर्कने प्रयास गरिरहँदा स्पेनले अर्को सानदार गोल थप्यो। ५८ औँ मिनेटमा स्पेनका डिफेन्डर पेड्रो पोरोले डानी ओल्मोसँग सानदार वान-टु पास खेल्दै उत्कृष्ट ढङ्गले बल फिर्ता लिए र बललाई पोस्टको तल्लो कुनामा प्रहार गर्दै गोल गरे। यो गोलसँगै स्पेनले खेलमा २-० को बलियो अग्रता बनायो।

यस खेलमा स्पेनले पूर्ण रूपमा खेललाई आफ्नो नियन्त्रणमा राखेको देखिन्थ्यो। स्पेनिस टोलीले अनुशासित डिफेन्स, सानदार बल पजेसन र उत्कृष्ट पासिङ गेम प्रदर्शन गर्‍यो। स्पेनका गोलरक्षक उनाई सिमोनले ‘स्वीपर-कीपर’ को रूपमा परिपक्व खेल खेले भने डिफेन्डर मार्क कुकुरेलाले फ्रान्सका मुख्य रणनीति मानिएका किलियन एम्बाप्पेलाई निष्क्रिय पारेका थिए।

अर्कोतर्फ, खेलको क्रममा फ्रान्सको प्रदर्शन निकै फितलो र सुस्त देखिएको थियो। फ्रान्सले खेलमा गरेका विभिन्न गल्तीहरू नै उसको हारको मुख्य कारण बन्न पुगे। पहिलो हाफमा फ्रान्सका डिफेन्डर लुकास डिग्नेले आफ्नै डिबक्स भित्र लामिन यमालमाथि गरेको अनावश्यक चुनौती फ्रान्सका लागि निकै महँगो साबित भयो, जसले गर्दा स्पेनले सुरुवाती पेनाल्टीको अवसर पायो। रक्षापंक्तिको यो कमजोरीसँगै फ्रान्सको फरवार्ड लाइन पनि पूर्ण रूपमा असफल रह्यो। फ्रान्सका कप्तान किलियन एम्बाप्पे र उसमान डेम्बेले जस्ता विश्व स्तरीय खेलाडीहरूले स्पेनको मजबुत डिफेन्सलाई तोड्न सकेनन्; खेलको अन्त्यतिर हतासिएका एम्बाप्पेले त ८६ औँ मिनेटमा पहेँलो कार्ड समेत व्यहोर्नु पर्‍यो।

यसका साथै, फ्रान्सले मिडफिल्डमा पनि आफ्नो नियन्त्रण गुमाएको देखियो। खेलको सुरुवाती समय अर्थात् ८ औँ मिनेटमै एड्रिएन राबियोटले पहेँलो कार्ड पाएपछि फ्रान्सेली मिडफिल्ड रक्षात्मक रूपमा कमजोर बन्यो, जसका कारण उनीहरूले स्पेनका रोड्री र फाबियन रुइजको जोडीलाई रोक्न सकेनन्। खेललाई आफ्नो पक्षमा पार्न फ्रान्सले दोस्रो हाफमा रेयान चेर्की र डेसिरे डोउलाई मैदान भित्र्याए पनि तिनीहरूले खेलको नतिजामा कुनै बदलाव ल्याउन सकेनन् र फ्रान्स पराजित हुन पुग्यो।

खेलपछि दुवै देशका प्रशिक्षकहरू

खेल समाप्त भएपछि आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका म्यानेजरहरूले आ-आफ्नो प्रतिक्रिया दिएका छन् ।

लुइस डे ला फुएन्टे (स्पेनका प्रशिक्षक): “हामीलाई हाम्रा खेलाडीहरूमाथि निकै गर्व छ। आज हामीले विश्वकै एक उत्कृष्ट टोलीको सामना गरेका थियौँ, तर तिनीहरूको अगाडि विश्वकै सबैभन्दा उत्कृष्ट टिम (स्पेन) उभिएको थियो। यो एउटा लामो प्रक्रिया हो र खेलाडीहरू सही समयमा आफ्नो खेलको शिखरमा पुगेका छन्। अब हामीसँग अन्तिम र सबैभन्दा कठिन पाइला बाँकी छ, हामी अझै सुधार गर्ने प्रयास गर्नेछौँ।”

डिदिएर देसच्याम्प्स (फ्रान्सका प्रशिक्षक): “हामी पक्कै पनि यो नतिजाबाट निकै निराश छौँ, खेलाडीहरूको मनोबल गिरेको छ। हामीमा फाइनल पुग्ने महत्त्वाकाङ्क्षाको कुनै कमी थिएन, तर आज हाम्रो प्रदर्शन मैदानमा सोचे अनुरूप हुन सकेन।” यसका साथै देसच्याम्प्सले खेलका एल साल्भाडोरका मुख्य रेफ्री इभान बार्टोनको केही निर्णयहरू प्रति असन्तुष्टि व्यक्त गर्दै रेफ्रीको स्तरमाथि समेत प्रश्न उठाएका थिए ।

यो ऐतिहासिक जितसँगै स्पेनले आगामी आइतबार न्यु योर्क न्यु जर्सी स्टेडियममा हुने फाइनल खेलमा अर्जेन्टिना र इङ्गल्यान्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फ्रान्सले भने अब आगामी शनिबार मियामीमा तेस्रो स्थानका लागि सान्त्वना खेल खेल्नु पर्नेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link