इच्छाकामनाका ३४ परिवारले पाए लालपुर्जा

इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई शुक्रबार जग्गा धनी प्रमाण पत्र (लालपूर्जा) वितरण गरिएको छ। भूमि समस्या समाधान समितिका अध्यक्ष बलभद्र बाँस्तोलाले लालपूर्जा वितरण गरेका हुन्।

सो अवसरमा उनले सबै तिरबाट सहयोग मिलेमा यसै कार्यकालमा सबै सुकुमबासीले जग्गा धनिपत्र पाउने बताए। उनले ५०० दिनभित्र लालपूर्जा वितरण गरी सक्ने बताए। यसका लागि स्थानीय तह, जिल्लास्थित भूमि समस्या समाधान समिति, निवेदक सबैको साथ र सहयोग चाहिने बताए। सुकुमबासीका लागि लालपूर्जा वितरण गरिएको यो दोस्रो जिल्ला भएको उनको भनाइ थियो।

कार्यक्रममा भूमि समस्या समाधान समिति चितवनका अध्यक्ष रहनु भएका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सबै पालिकासँग समन्वय गरेर प्रक्रिया पुगेकालाई तत्काल लालपूर्जा वितरण गरिने र प्रक्रिया नपुगेकाको प्रक्रिया पुरा गर्न लाग्ने बताए। सबै पालिकामा नाप नक्सा, दर्ता, प्रमाणीकरणलगायतका काम भइरहेको उनले बताए। जिल्लामा ४२ हजार जनाको निवेदन परेको उनको भनाइ थियो।

गाउँपालिकाका अध्यक्ष दानवहादुर गुरुङ्ले आज जग्गा धनी प्रमाण पत्र पाउनेमा चार घर भूमिहिन दलित र ३० घर भूमिहिन सुकुमबासी रहेको बताउनुभयो। सोही टोलका ३८ घरको लालपूर्जा तयार भएकोमा फोटो टाँस्नुपर्ने जग्गा धनी बाहिर भएकाले उनीहरू आएपछि लालपूर्जा वितरण गरिने बताए। गाउँपालिकामा अझै ८० घर भूमिहिन दलित, ७७१ घर भूमिहिन सुकुमबासी र दुई हजार ९३० अव्यवस्थित बसोबासी रहेका छन्।

सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण प्रसाद अधिकारीसहित इच्छाकामनाका सात वटै वडाका वडा अध्यक्षको उपस्थिति रहेको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link