दाङमा आमाको नामबाट २२ जनाले पाए नागरिकता

जिल्ला प्रशासन कार्यालय दाङले गत आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ७९ जनालाई नयाँ नागरिकता प्रदान गरेको छ।

कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार सो अवधिमा १८ हजार नौ जनाले वंशजका आधारमा, २२ जनाले आमाका नामबाट नागरिकता लिएका छन्। यस्तै, १४ जनाले गैरआवासीय नेपाली नागरिकता, ३४ जनाले वैवाहिक अङ्गीकृत नागरिकता र १० जनाले अङ्गीकृत नागरिकता प्राप्त गरेका छन्।

प्रमुख जिल्ला अधिकारी निश्चल राज पाण्डेका अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट छ हजार ६७०, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट सात हजार १५५ र इलाका प्रशासन कार्यालय लमहीबाट चार हजार २५४ जनालाई नयाँ नागरिकता प्रदान गरिएको हो।

कार्यालयले एक वर्षको अवधिमा १४ हजार ७३७ वटा नागरिकताको प्रतिलिपिसमेत जारी गरेको छ। घोराहीबाट पाँच हजार १७९, तुलसीपुरबाट सात हजार २६७ र लमहीबाट दुई हजार ७९१ वटा प्रतिलिपि वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले जानकारी दिइन्।

त्यसैगरी, ४१९ नाबालक परिचयपत्र वितरण गरिएको छ भने १७ हजार २२२ वटा राहदानी जारी गरिएको कार्यालयले जनाएको छ। राहदानीमध्ये जिल्ला प्रशासन कार्यालय घोराहीबाट सात हजार ५७९, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट पाँच हजार ६२७ र इलाका प्रशासन कार्यालय लमहीबाट चार हजार १६ वटा वितरण गरिएको छ।

गत आर्थिक वर्षमा ७१ हजार ४७० जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ भने पाँच हजार ८५५ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको कार्यालयले जनाएको छ।

राष्ट्रिय परिचयपत्र दर्तामध्ये जिल्ला प्रशासन कार्यालयबाट ३३ हजार ५०२, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट २६ हजार ६० र इलाका प्रशासन कार्यालय लमहीबाट ११ हजार ९०८ जनाको विवरण दर्ता गरिएको छ।

कार्यालयका अनुसार सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्र वितरणलाई निरन्तरता दिएको उल्लेख गरिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link