मेटामाथि ५६ करोड ७० लाख डलरको थप जरिवाना: बालबालिकाको सुरक्षासम्बन्धी अहिलेसम्मकै ठुलो फैसला

सामाजिक सञ्जाल कम्पनी मेटालाई बालबालिकाका लागि आफ्ना प्लेटफर्महरू जोखिमपूर्ण रहेकोबारे सर्वसाधारणलाई सचेत गराउन असफल भएको ठहर गर्दै अमेरिकाको न्यु मेक्सिकोस्थित अदालतले ५६ करोड ७० लाख अमेरिकी डलर (करिब ७६ अर्ब ६५ करोड नेपाली रुपैयाँ) थप जरिवाना तिर्न आदेश दिएको छ।

बालबालिकाको सुरक्षासम्बन्धी मुद्दामा कुनै पनि सामाजिक सञ्जाल कम्पनीमाथि भएको यो अहिलेसम्मकै ठुलो कानुनी कारबाही हो। न्यु मेक्सिकोका न्यायाधीश ब्रायन बिड्सचिडले सामाजिक सञ्जालको दिग्गज कम्पनी मेटालाई वायु प्रदूषणजस्तै ‘सार्वजनिक उपद्रव’को संज्ञा दिँदै सो रकम भविष्यमा हुने क्षति न्यूनीकरण गर्ने कोषमा जम्मा गर्न आदेश दिएका छन्।

यसअघि पनि अदालतले मेटालाई ३७ करोड ५० लाख डलर जरिवाना तिराउने फैसला गरिसकेको छ। पछिल्लो फैसलासँगै यस मुद्दामा मेटाले तिर्नुपर्ने कुल जरिवाना रकम ९४ करोड २० लाख डलर (करिब १ खर्ब २७ अर्ब नेपाली रुपैयाँ) पुगेको छ।

न्यायाधीश बिड्सचिडले मेटालाई एउटा कारखानासँग तुलना गर्दै विज्ञापन र सामग्रीलाई त्यसको उत्पादन तथा ‘बालबालिकामाथि हुने मनोवैज्ञानिक क्षति र यौन शोषणलाई घटाउनुपर्ने प्रदूषण’को रूपमा व्याख्या गरेका छन्।

अदालतको आदेश र कोषको प्रयोग

न्यायाधीश बिड्सचिडका अनुसार मेटाले स्थापना गर्नुपर्ने कोषको रकम सो कम्पनीका प्लेटफर्महरूले पुर्‍याएको क्षति सम्बोधन गर्न प्रयोग गरिनेछ। जसअन्तर्गत कुल रकममध्ये ४२ करोड डलरको ठुलो हिस्सा मेटाका प्लेटफर्मले बालबालिकामा पुर्‍याइसकेको क्षतिको उपचार तथा व्यवहारिक स्वास्थ्य कार्यक्रमका लागि खर्च गरिनेछ भने बाँकी रकम शिक्षक तथा स्वास्थ्यकर्मीहरूलाई सामाजिक सञ्जालले बालबालिकामा पार्ने प्रभाव र त्यसको रोकथामबारे तालिम तथा सचेतना फैलाउन प्रयोग गरिनेछ।

बालबालिका सुरक्षाका लागि नयाँ कडाइ

अदालतले भारी जरिवानाका साथै मेटालाई बालबालिकाको सुरक्षाका लागि आफ्ना प्लेटफर्महरूमा केही बाध्यकारी नियमहरू तुरुन्त लागू गर्न आदेश दिएको छ। नयाँ व्यवस्थाअनुसार अब १८ वर्षमुनिका प्रयोगकर्ताको एकाउन्ट कुनै पनि वयस्कलाई सिफारिस (रिफर) गर्न पाइने छैन भने कुनै पनि वयस्कले नाबालिग प्रयोगकर्तालाई सोझै सन्देश वा मेसेज पठाउन पाउने छैनन्।

त्यसै गरी, नाबालिग प्रयोगकर्ताहरूले कुनै पनि अश्लील सामग्री (न्युडिटी) पठाउन वा प्राप्त गर्न नसक्ने प्रविधिको विकास गर्न र बाल यौन शोषणमा संलग्न हुने वयस्क प्रयोगकर्ताहरूका लागि ‘वान-स्ट्राइक पोलिसी’ अर्थात् एक पटक गल्ती गर्नासाथ स्थायी प्रतिबन्ध लगाउने कडा नियम लागू गर्न भनिएको छ।

यसै गरी, बालबालिकालाई डिजिटल कुलत र मानसिक तनावबाट जोगाउन १८ वर्षमुनिका प्रयोगकर्ताका लागि ‘लाइक’ को सङ्ख्या हटाउनुका साथै उनीहरूका लागि इन्स्टाग्राम र फेसबुक दुवै मिलाएर महिनामा बढीमा ९० घण्टा (दैनिक करिब ३ घण्टा) को अनिवार्य प्रयोग सीमा तोकिएको छ। साथै, उनीहरूको पढाइ र निद्रामा बाधा नपुगोस् भन्ने उद्देश्यले राति १०:०० बजेदेखि बिहान ७:०० बजेसम्म र विद्यालय समय (बिहान ८:०० देखि दिउँसो ३:०० बजेसम्म) ‘पुस नोटिफिकेशन’ पठाउन पूर्ण रूपमा प्रतिबन्ध लगाउने आदेशसमेत अदालतले दिएको छ।

मेटाको प्रतिक्रिया: फैसलाप्रति असहमति र अपिलको तयारी

इन्स्टाग्राम, फेसबुक, ह्वाट्सएप र थ्रेड्सको माउ कम्पनी मेटाका प्रवक्ताले फैसलाप्रति असहमति जनाउँदै माथिल्लो अदालतमा अपिल गर्ने बताएका छन्।

“हामी हाम्रा प्लेटफर्महरूमा मानिसहरूलाई सुरक्षित राख्न कडा मिहिनेत गर्छौँ र खराब तत्त्वहरूलाई हटाउने चुनौतीहरूबारे पारदर्शी छौँ। अनलाइनमा किशोर किशोरीहरूको सुरक्षा गर्ने हाम्रो रेकर्डमा हामी विश्वस्त छौँ,” मेटाका प्रवक्ताले भने।

मुद्दाको पृष्ठभूमि

न्यु मेक्सिको राज्यका न्यायाधिवक्ताहरूले सन् २०२३ मा मेटाविरुद्ध मुद्दा दायर गरेका थिए। मेटाका प्लेटफर्महरूले बालबालिकालाई यौनजन्य सामग्री र यौन सिकारीहरूको पहुँचमा पुर्‍याएर जोखिममा पारेको दाबी मुद्दामा गरिएको थियो।

पहिलो चरणको सुनुवाइमा मेटाको सिफारिस अल्गोरिदमले साना प्रयोगकर्ताहरूलाई हानिकारक सामग्री र व्यक्तिहरूतर्फ ‘मोड्ने’ गरेको पाइएपछि कम्पनीले न्यु मेक्सिकोको ‘अनुचित व्यापार अभ्यास ऐन’ उल्लङ्घन गरेको ठहर गरिएको थियो।

मेटाले हाल अमेरिकाभर यस्तै प्रकारका हजारौँ मुद्दाहरूको सामना गरिरहेको छ। आगामी साता क्यालिफोर्नियामा बालबालिकाको गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा करिब तीन दर्जन अमेरिकी राज्यहरूले मेनाविरुद्ध हालेको अर्को ठुलो मुद्दाको सुनुवाइ सुरु हुँदैछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link