अस्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा नेपालले दोस्रोपटक सहभागिता जनाउने तयारी गरिरहेको छ। यसपटक नेपाल क्रिकेट सङ्घ (क्यान) ले सिनियर टोलीको सट्टा ‘ए’ टिमलाई अस्ट्रेलिया पठाउन लागेको हो।
टप एन्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ। अनिलकुमार साहको कप्तानीमा रहेको टोली सन्तुलित रहेकाले उत्कृष्ट नतिजा निकाल्नेमा प्रशिक्षक र खेलाडी आशावादी छन्।
‘नेपाली क्रिकेटको स्ट्रेन्थ बढाउन ए टिम महत्त्वपूर्ण’
नेपाल ‘ए’ टोलीका मुख्य प्रशिक्षक राजु बस्न्यातले खेलाडीले राम्रो तयारी गरेकाले अस्ट्रेलियामा सकारात्मक नतिजा निकाल्ने सम्भावना बलियो रहेको प्रतिक्रिया दिए। त्यहाँको पिचसँग घुलमिल हुन चुनौती रहे पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा उनी विश्वस्त छन् ।
“पछिल्लो १०–१२ दिनदेखि हामी नियमित अभ्यास गरिरहेका थियौँ। तयारी र टिम राम्रो छ। टोलीमा अनुभवी र युवा खेलाडीको राम्रो सहभागिता छ। अस्ट्रेलियामा रहँदा टी–२० र ५० ओभरको क्रिकेटमा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ। त्यहाँको अवस्थालाई आत्मसात् गर्दै नेपाल ‘ए’ टिमका खेलाडीले उत्कृष्ट खेल्नेमा म आशावादी छु,” मुख्य प्रशिक्षक बस्न्यातले टोलीको बिदाइ कार्यक्रममा भने।
उनले नेपाली क्रिकेटलाई बलियो बनाउन ‘ए’ टिमको अवधारणा महत्त्वपूर्ण रहेको उल्लेख गरे। “दीर्घकालका लागि नेपाल ‘ए’ टिमको अवधारणा एकदमै राम्रो छ। पछिल्ला दिनमा हेर्ने हो भने ‘ए’ टिमबाट नयाँ खेलाडी पनि सिनियर टिममा गइरहेका छन्। यस्तै, सिनियर टोलीका खेलाडी लयमा फर्किनका लागि ‘ए’ टिममा आउने जुन अभ्यास भइरहेको छ, त्यसले नेपाली क्रिकेटको स्ट्रेन्थ बढाउन ‘ए’ टिम महत्त्वपूर्ण छ,” मुख्य प्रशिक्षक बस्न्यातले भने।
‘राम्रो तयारीका साथ अस्ट्रेलिया जाँदै छौँ’
नेपाल ‘ए’ टोलीका कप्तान साहले फरक–फरक तरिकाले अभ्यास गरेकाले टप एन्ड टी–२० सिरिजमा आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने बताए। अस्ट्रेलियाको महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउन पाउँदा उत्साहित रहेको उनले प्रतिक्रिया दिए।
“हामीले पछिल्लो ८–१० दिनदेखि मुख्य प्रशिक्षकको निगरानीमा निरन्तर अभ्यास गरिरहेका थियौँ। त्यहाँको कन्डिसनअनुसार कसरी खेल्ने भन्नेबारे योजनाबद्ध प्रशिक्षण गर्यौँ। नेपाल ‘ए’ टोलीका लागि अस्ट्रेलिया भ्रमण महत्त्वपूर्ण छ,” कप्तान साहले भने, “कम समयमा पनि क्यानले क्याम्पको आयोजना गरेर सहयोग गर्यो। टप एन्ड टी–२० सिरिजजस्तो प्रतियोगितामा सहभागिता जनाउने अवसर जुराएको छ, त्यसका लागि क्यानलाई धन्यवाद। हामी यो प्रतियोगितामा पाएको मौकालाई सदुपयोग गर्न उत्साहित छौँ।”
नतिजामा सुधार गर्ने मौका
नेपालले दोस्रोपटक टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन लागेको हो। गत संस्करणमा नेपालको सिनियर पुरुष टिमले यो प्रतियोगिता खेलेको थियो। उक्त संस्करणमा नेपालले लिग चरणका छ खेलमध्ये दुईमा जित र चार खेलमा पराजय व्यहोरेको थियो। यसपालि त्यो नतिजामा सुधार गरेर उपाधि जित्ने नेपाल ‘ए’ टोलीको योजना छ।
उक्त सिरिजमा नेपालले पहिलो खेल २१ अगस्टमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ। त्यस्तै, २२ अगस्टमा बङ्गलादेश हाई पर्फर्मेन्स, २४ अगस्टमा होबार्ट हरिकेन्स, २६ अगस्टमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, २७ अगस्टमा हैदराबाद किङ्समेन एकेडेमी तथा २९ अगस्टमा भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने तालिका छ।
टप एन्ड टी–२० सिरिजपछि नेपाल ‘ए’ ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने क्यानले जनाएको छ। नेपालको सिनियर टोली एसिसी प्रिमियर लिगमा व्यस्त हुने भएकाले क्यानले ‘ए’ टोलीलाई अस्ट्रेलिया पठाउन लागेको हो।
अस्ट्रेलिया जाने नेपाली ‘ए’ टोलीमा अनिलकुमार साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, रिजन ढकाल र युवराज खत्री छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- च्याम्पियनसिप लिग: पहिलो चरणका खेलहरूमा बार्सिलोना र पिएसजीको सानदार जित, आर्सनल र लिभरपुलको पनि विजयी सुरुआत
- दुर्गमको प्रसूति व्यथा: न सडक, न चेतना
- नेपालमा बाढी पहिरो पीडितको सहयोगार्थ एएस रोमा र डब्लुएफपीबिच सहकार्य
- आज संसद्का दुवै सदनको बैठक बस्दै
- हतुवागढीका किसान अदुवा खेतीतर्फ आकर्षित
- मौसम अपडेट: पाँच प्रदेशमा भारी वर्षाको जोखिम
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- महिला अधिकार आन्दोलनकी ‘दीपशिखा’ ग्लोरिया स्टाइनम: ९२ वर्षको ऐतिहासिक यात्रा र अझै अधुरा कार्यभारहरू
- युइएफए च्याम्पियन्स लिग: घरेलु मैदानमा रियल म्याड्रिडको विजयी सुरुवात, इन्टर मिलान २-१ ले पराजित
- राप्ती प्रादेशिक अस्पतालमा शय्याको हाहाकार