फेरि जोडिँदै पोखरा र नेपालगञ्ज: भदौ ३१ देखि उडान सञ्चालनमा आउने

लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही भदौको अन्तिम सातादेखि पुनः सञ्चालन हुने भएको छ।

निजी क्षेत्रको सेवा प्रदायक बुद्ध एयरले यही भदौ ३१ गतेदेखि नेपालगञ्ज पोखरा उडान पुनः सञ्चालन गर्न लागेको जनाएको छ। बुद्ध एयर नेपालगञ्जका प्रमुख विनीतविक्रम शाहले यात्रुको माग बढेकाले उडान पुनः सञ्चालन गर्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार भारतको उत्तर प्रदेशलाई पोखरासँग सिधा जोड्ने यो उडानका लागि यात्रुको माग बढ्दै गएको छ। गत जेठ ५ गतेदेखि उडान स्थगित गरिएको थियो। भारतबाट आउने धार्मिक पर्यटकको सङ्ख्या घट्नु र इन्धन खर्च बढी भएकाले उडान रोकिएको शाहले बताए। पछिल्लो समय धार्मिक पर्यटकको सङ्ख्या बढ्नाका साथै उडानको माग बढेकाले सेवा पुनः सञ्चालन गर्न लागिएको उहाँले जानकारी दिए।

तालिकाअनुसार आइतबार, बुधबार र शुक्रबार उडान हुनेछ। त्यसका लागि बुकिङ खुला गरिएको बुद्ध एयरले जनाएको छ। नेपालगञ्ज–पोखरा उडान पुनः सञ्चालन हुने भएपछि बाँकेका पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटन प्रवर्द्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पश्चिम नेपालसँगै भारतका नागरिकलाई पोखरासँग सिधा जोड्ने भएकाले यो उडान पर्यटन व्यवसायीका लागि महत्त्वपूर्ण रहेको बताए।

उनका अनुसार हवाई सेवा सञ्चालन भएपछि पोखरालगायतका क्षेत्रबाट बागेश्वरी मन्दिर तथा भारतको अयोध्यासहितका धार्मिक स्थलमा पुग्न सहज हुनेछ। साथै बाँके, बर्दिया, दाङ, सुर्खेतलगायत पश्चिम नेपालका नागरिकलाई पोखरा तथा मुस्ताङ पुग्न पनि सहज हुने उनले बताए।स्थानीय पर्यटन व्यवसायीको लामो प्रयासपछि २०७८ साल साउन १७ गतेदेखि सातामा तीन दिन नेपालगञ्ज–पोखरा उडान सुरु गरिएको थियो।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link