सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले बालबालिकाको गोपनीयता उल्लङ्घन गरेकोसम्बन्धी मुद्दा सल्टाउन अमेरिकी सरकारलाई ४०० मिलियन अमेरिकी डलर बुझाउन सहमति जनाएको छ। बालबालिकाको अनलाइन गोपनीयता सुरक्षा ऐन उल्लङ्घन मुद्दामा भएको यो अहिलेसम्मकै ठुलो जरिवाना सम्झौतामध्ये एक हो।
अमेरिकी न्याय मन्त्रालयले सन् २०२४ मा पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा टिकटक र यसको माउ कम्पनी बाइटडान्स विरुद्ध मुद्दा दायर गरेको थियो। टिकटकले १३ वर्षभन्दा कम उमेरका लाखौँ बालबालिकाको अभिभावकीय अनुमतिविना नै व्यक्तिगत विवरण तथा ‘डाटा’ सङ्कलन गरेको आरोप मन्त्रालयको थियो।
सम्झौता अनुसार टिकटक र बाइटडान्सले तत्काल ३०० मिलियन डलर अमेरिकी न्याय मन्त्रालयलाई बुझाउने छन्। बाँकी १०० मिलियन डलर भने सङ्घीय व्यापार आयोगसँगको अघिल्लो सहमति खारेज भएपछि भुक्तानी गरिने जनाइएको छ।
सहकारी सहायक एटर्नी जनरल ब्रिट शुमेटले यो निर्णयसँगै बालबालिका र अभिभावकहरू पहिलेभन्दा बढी सुरक्षित भएको बताएका छन्। अदालतमा मुद्दा दायर भएयता टिकटकले आफ्नो स्वामित्व संरचना, गोपनीयता नीति र साना प्रयोगकर्ताका लागि प्लेटफर्म नियन्त्रणमा व्यापक परिवर्तन गरिसकेको छ।
यसअघि पनि बालबालिकाको गोपनीयता मिचेको आरोपमा गुगलको युट्युबले सन् २०१९ मा १७० मिलियन डलर र एपिक गेम्सले सन् २०२२ मा २७५ मिलियन डलर क्षतिपूर्ति तिरिसकेका छन्। हाल फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी ‘मेटा’ ले पनि अमेरिकी २९ राज्यका महान्यायाधिवक्ताहरूले दायर गरेको यस्तै प्रकृतिको मुद्दाको सामना गरिरहेको छ।
टिकटकमाथि अमेरिकी प्रयोगकर्ताको विवरण सुरक्षित नगरेको भन्दै लामो समयदेखि राजनीतिक दबाब रहँदै आएको थियो। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा भएको स्वामित्व हस्तान्तरण पछि हाल टिकटकको अमेरिकी सञ्चालनमा ८१ प्रतिशत सेयर अमेरिकी लगानीकर्ताहरूको छ भने बाइटडान्ससँग १९ प्रतिशत मात्र स्वामित्व बाँकी छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- अमेरिका–हुथी द्वन्द्व र ट्याङ्कर आक्रमणपछि कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुग्यो
- ठुला प्रविधि कम्पनीहरूलाई नियन्त्रण गर्न अदालतलाई धौ-धौ !
- तुकाराम मुण्डे: सामाजिक सञ्जालमा भाइरल बनेका भारतको महाराष्ट्रका खाद्य सुरक्षा अधिकारी
- प्रतीकात्मकताले भरिएको शान्ति वार्ता: रुस र युक्रेनबिचका आधारभूत मतभेद अझै कायम
- रुस-युक्रेन युद्ध: शान्ति वार्ताका लागि अमेरिकी टोलीले भेट्यो पुटिनलाई
- रसिया-युक्रेन युद्ध रोक्ने अमेरिकी प्रयास: ट्रम्पका दूत कुश्नर र विटकाफ मस्को र किभ भ्रमण गर्दै
- इरान युद्धमा सहयोग नगरेको भन्दै फकल्यान्ड टापु विवादमा बेलायतलाई साथ नदिने ट्रम्पको सङ्केत
- जर्मनीको लाइपजिगमा ‘विस्फोटक ड्रोन’ आक्रमणको प्रयासपछि रुसविरुद्ध कडा कदम चाल्न युरोपेली सङ्घ र नेटो प्रतिबद्ध
- अमेरिकाद्वारा इरानमा बमबारी, जवाफमा मध्यपूर्वका अमेरिकी सैन्य अखडामा क्षेप्यास्त्र प्रहार
- रसियाद्वारा तीव्र गतिको जेट-ड्रोन प्रहार: किभमा घण्टौँसम्म हवाई आक्रमणको चेतावनी, ३८ को मृत्यु