ला लिगा: एमबाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको फराकिलो जित, रियल सोसिएदाद ४–१ ले पराजित

स्पेनिस ला लिगाको आफ्नो दोस्रो खेलमा रियल म्याड्रिडले उत्कृष्ट प्रदर्शन गर्दै रियल सोसिएदादमाथि ४–१ गोल अन्तरको फराकिलो जित दर्ता गरेको छ। स्टार स्ट्राइकर किलियन एमबाप्पेको सानदार ह्याट्रिकको मद्दतमा म्याड्रिडले घरेलु मैदान तथा समर्थकमाझ सहज जित निकालेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्त्यतिर दुवै टोलीबाट गोल भएको थियो। खेलको ४० औँ मिनेटमा किलियन एमबाप्पेले गोल गर्दै रियल म्याड्रिडलाई सुरुआती अग्रता दिलाएका थिए। तर, म्याड्रिडको त्यो अग्रता धेरै समय टिक्न सकेन। पहिलो हाफ सकिनै लाग्दा ४४ औँ मिनेटमा रियल सोसिएदादका लुका सुचिचले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

दोस्रो हाफमा भने रियल म्याड्रिडले पूर्ण रूपमा दबाब बनाएर खेल्यो। ६० औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनः २–१ को अग्रता दिलाए। त्यसको आठ मिनेटपछि अर्थात् ६८ औँ मिनेटमा विनिसियस जुनियरले गोल गर्दै म्याड्रिडको अग्रता ३–१ मा पुर्‍याए।

सोसिएदादको रक्षा पङ्क्तिलाई निरन्तर दबाबमा राखेको म्याड्रिडका लागि ८० औँ मिनेटमा एमबाप्पेले व्यक्तिगत तेस्रो गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे र टोलीको ४–१ को जित निश्चित गरे।

यस जितसँगै रियल म्याड्रिडले नयाँ सिजनको ला लिगामा आफ्नो बलियो उपस्थिति कायमै राखेको छ। एमबाप्पे र विनिसियसको उत्कृष्ट समन्वयले सोसिएदादका डिफेन्डरहरूलाई खेलभरि असहज बनाएको थियो। सोसिएदादले पहिलो हाफमा बराबरी गोल फर्काएर कमब्याकको सङ्केत गरे पनि दोस्रो हाफमा म्याड्रिडको आक्रामक रणनीतिअघि टिक्न सकेन।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link