“आमा, म त खरानीबाट उठेर आएँ”

आमा, म बाँचेर आएँ। तपाईं किन रुनुभएको ? यता हेर्नुस् त आमा, म त फर्केर आएको छु।’ घर फर्किएपछि निरज भण्डारीले भावुक आमालाई यसरी सम्झाए। छोरा आँखै अगाडि छोरालाई देख्दा पनि आमा प्रेमकुमारी ढकालका आँसु थामिएनन्। उनी केहीबेर घुक्कघुक्क गर्दै रोइरहिन्। घरमा सन्नाटा छाएको थियो। छोरा फर्किएको खुसीभन्दा मनमा त्रास बढेको थियो।

“आमा, म त फर्केर आएँ, खरानीबाट उठेर आएँ…”

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले भदौ २३ र २४ गतेको ‘जेन्जी’ आन्दोलनको घटना क्रमलाई समेटेर लेखेको यो गीतको भावसँग गोरखा सिरानचोक गाउँपालिकाका निरजको कथा पनि मिल्छ। निरज बसका सहचालकका रूपमा काम गर्दै आएका थिए।

भदौ १० गते बिहान करिब ४ः३० बजे उनी पालुङटार नगरपालिका–५ बाट ३६ यात्रु बोकेको पृथ्वी यातायातको ग२ख ११५२ नम्बरको बसमा रसुवाको गोसाइँकुण्ड यात्राका लागि निस्किए।

कहिले लोकगीत, कहिले आधुनिक त कहिले तीज गीत घन्काउँदै गाडी अगाडि बढिरहेको थियो। के थाहा यात्रुहरूलाई गाडीले गोसाइँकुण्ड नपुर्‍याउँदै मृत्युको मुखमा पुर्‍याउँदैछ। यात्रासँगै यात्रुको जीवन र मृत्युबीचको दूरी नजिक धकेलिरहेको थियो। बिहान बाढीले छोराले चलाउने गाडी नै बगायो रे भन्ने खबर आयो। त्यसपछि घरमा रुवाबासी नै चल्यो, परिवारले निरजको खबर पाउन सकेन।

दिन बितिसक्न लाग्यो। छोराले फोन गर्छ कि भन्दै पटकपटक फोन हेर्दै बसेकी आमा प्रेमकुमारीको मुटुमा चिसो पस्न थाल्यो। छोरालाई पनि त्यही भेलले बगायो झैँ लाग्न थाल्यो। छोरा आउने आशा र डर मिश्रित आमाको मन छट्पटाउन थाल्यो। निरजको मोबाइल पनि गाडीसँगै भेलले बगाएको रहेछ।

एकाएक समाचार आउन थाल्योः पालुङटारबाट आज बिहान गोसाइँकुण्डका लागि छुटेको गाडीमा सवार सहचालकसहित छ जनाले हामफालेर ज्यान जोगाए। खबर सुनेपछि पनि प्रेमकुमारीलाई छोराको आवाज नसुनेसम्म छोरा जिवित रहेको भन्ने निश्चित लागेन। साँझपख मात्रै निरजले कसैको फोन मागेर बुबालाई फोन गरेका थिए। “छोराले फोन गरेपछि बल्ल लामो स्वास फेरेँ। कहिले छोरो आउला र देखौँला ? जस्तो भयो। छोरा घर फर्केपछि खुसीले आँसु नै रोकिएन”, रुन्चे स्वरमा उनी भन्छिन्। भोटेकोशीको बाढीले धेरै परिवारका सपना बगायो। कसैलाई आफन्तविहीन बनायो, कसैको घरबार खोस्यो। तर निरजजस्ता केहीका लागि त्यो विनाशको बीचबाट घर फर्किनु पुनर्जन्म जस्तै बन्यो।

बाढीलाई समान्य ठानियो

गल्छीमा नास्ता खाएर गाडी नुवाकोटतर्फ अघि बढ्यो। गल्छीमा नै हुँदा रसुवाबाट बाढी आएको छ रे भन्ने गाइँगुइँ कुरा सुनिएको थियो तर त्यस्तो महाविपत्ति होला भनेर कसैले पत्ताएनन्। यात्रुहरू आ–आफ्नै कुराकानीमा थिए। बाहिर घाम लागिरहेको थियो। त्रिशूली नदी पनि सधैँ झैँ आफ्नै गतिमा सुस्तरी बगिरहेको देखिन्थ्यो।

नुवाकोटको भैँसे भन्ने स्थानमा पुगेपछि कसैले अचानक भन्यो, “बाढी आइरहेको छ, भागौँभागौँ।” तर त्यो आवाजलाई कसैले गम्भीरतापूर्वक लिएनन्। “यस्तो घाम लागिरहेको छ, कसरी बाढी आउँछ ?” गाडीभित्र यात्रुबीच कुरा चल्यो। केही क्षणअघिसम्म सामान्य देखिएको वातावरण एकाएक बदलियो। गड्याङगुडुङको आवाज सुनियो। त्यो आवाज सामान्य थिएन। मानौँ कुनै ठूलो प्रलय आउनुअघि प्रकृतिले दिएको अन्तिम सङ्केत थियो।

‘गाडी रोक, गाडी रोक !’ अचानक चर्को आवाज आयो।

ढोका नजिकै बसेका सहचालक निरजले माथिबाट माटो, ढुङ्गा र लेदो मिसिएको ठूलो बाढीको छाल आउँदै गरेको देखे। उनले चालक सागर देवकोटालाई गाडी रोक्न भने। तर गाडी पार गरिहालिन्छ भन्ने सोचेर चालकले रोक्न नमानेको बताउँछन् निरज।

त्यसपछि केही सेकेन्डमै सबैथोक बदलियो। “धुलोसहितको ठूलो बाढीको छाल देखेँ। दृश्य नै अर्कै थियो”, निरज सम्झिन्छन्, “चालकलाई मैले ‘भागौँ, बाढी आइसक्यो दाइ’ भनेँ। कटिहालिन्छ भनेर होला, ड्राइभर दाइले गाडी रोक्नै मान्नुभएन। म त ढोकाबाट हामफालेर माथितिर दौडेँ।”

त्यहाँबाट तल फर्केर हेर्दा उनले देखेको दृश्य अहिले पनि आँखाबाट हटेको छैन। गाडी थिएन। गाडी सँगैसँगै भएका यात्रु बगाए। दैनिकजसो गााडीमा सँगै हिँड्ने चालकलाई निरजले हेरे। देखेनन्। केही क्षणअघि मानिसको चहलपहल रहेको सडक र वरपरको भूभाग हेर्दाहेर्दै बगरमा परिणत भइसकेको थियो। भेलसँगै बगिसकेको गाडीलाई निरज चाहेर पनि केही गर्नसक्ने अवस्थामा थिएन, न त्यहाँ अरू कसैले सहयोग गर्नसक्ने अवस्था थियो। “आफू बाँचेको खुसीभन्दा पनि आफूलाई माया गर्ने सागर दाइलगायत आफूसँगै आएका ३० जनाभन्दा बढी यात्रुलाई बाढीले बगाएको सम्झँदा धेरै दुःख लाग्छ”, निरज भन्छन्।

अझै बाँकी छ मानसिक सन्त्रास

अहिले निरज घरमा आमा बासँग सुरक्षित छन्। र पनि अहिलेसम्म उनलाई मानसिक रूपमा सन्त्रास बाँकी नै छ। “त्यो घटनापछि बाबु राम्रोसँग बोलेको पनि छैन। हाँसेको पनि छैन। निरास देखिन्छ। खाना पनि रुचेन भन्छ”, सानिमा गङ्गा ढकाल भन्छिन्, “सबैभन्दा बाबुलाई चालकले माया गर्थे। उनलाई गुमाउनुपर्दा धेरै चिन्तित बनेको हुनसक्छ। अहिले पनि एकान्तमा बसेर टोलाइरहन्छन्।” त्यो दृश्यले अझै झस्काइरहेको छ। निरजलाई सबै कुरा सपना जस्तै बनाएको छ।

बाढीले निरजको स्मृतिमा एउटा यस्तो दिन छाडेर गयो, जसलाई सम्झना साथ अहिले पनि उनको मन काँप्छ। यात्रुहरूसँगै बिताएका केही क्षण, बाटोमा भएका कुराकानी र बाढी आउनुअघिको त्यो सामान्य वातावरण अहिले निरजको सम्झनामा बारम्बार दोहोरिन्छ। अहिले पनि त्यो दिनसँगै यात्रा गरेका अरू कति त फर्किएलान् भन्ने आशा लाग्छ तर दिन बित्दै जाँदा आशाको दियो पनि मधुरो बन्दै गएको बताउँछन् उनी।

निराजलाई जस्तै अहिले आफन्त गुमाएका तथा हराइरहेका आफ्ना आफन्तका सम्झानाले सताइरहेको छ। उक्त गाडीमा सवार बद्री देवकोटा पनि हामफालेर बाँच्न सफल भए। रविन्द्र देवकोटाले पनि बाढीको भयावह दृश्य देखेपछि गाडीबाट हामफालेर ज्यान जोगाए। बचेर आउने अन्य रविन्द्र देवकोटा, तुलराम देवकोटा, बाबुराम देवकोटा, पार्वती न्यौपानेका लागि पनि उक्त घटना सम्झँदा अझै मन तर्सिरहेको छ। उनीहरुले पनि बाहिरको दृश्य देखेपछि गाडीबाट हामफालेर ज्यान जोगाएका थिए।

पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले सम्पर्कविहीन तीर्थयात्रीको सकुशल उद्धारका लागि पालुङटार नगरपालिका निरन्तर रूपमा सम्बन्धित निकायसँग समन्वय र सहकार्यमा रहेको जानकारी दिए। “सबै तीर्थयात्रीको यथाशक्य सकुशल उद्धारका लागि पालुङटार नगरपालिका सम्पूर्ण प्रयासमा प्रतिबद्ध छ”, उनी भन्छन्।

गाउँ नै शोकमा

एउटै गाउँबाट यात्रा गरेका मानिस एकैपटक बेपत्ता भएपछि पालुङटार–५ नै शोकमा डुबेको छ। सबैका घरका आँगन सुनसान छन्। आफन्तको खोजीमा रहेका परिवारका आँखामा आशा र पीडा सँगसँगै देखिन्छ। कसैको घरमा प्रियजन फर्केर आउने प्रतीक्षा छ, कसैको घरमा सनाखतको खबरले सन्नाटा छाएको छ।

हिजोसम्म गाउँमा सुनिने हाँसो, कुराकानी र चहलपहलको ठाउँ अहिले फरक छ। बेपत्ता आफन्तको पर्खाइमा छन् कति। कति खोजमा व्यस्त छन्। अहिलेसम्म पनि सास पाइएको छैन। घाइते भएर कतै अड्किएको भए पनि कतिको त साता दिनसम्म उद्धार नहुँदा मृत्यु भइसक्यो कि भन्ने चिन्ता छ। सास नपाएपछि अव लास पाए पनि हुने भनेर कुर्दैछन् आफन्त।

भोटेकोशी बाढीका कारण आफ्नै ठाउँका तीर्थ यात्रु सवार बगाएदेखि नै गाउँ नै शोकमा रहेको बताउँछन्, पालुङटार नगरपालिका–५ का वडाध्यक्ष दीपक पाण्डे। “उक्त गाडीमा ३६ जना यात्रु सवार थिए। तीमध्ये छ जना सकुशल सम्पर्कमा आएका छन् भने ३० जना अझै बेपत्ता छन्”, पाण्डे भन्छन्, “तीमध्ये कमला देवकोटा, केदार पण्डित, सुजता कौडाल, तारा रानाभाट र सुमी कुमालको सनाखत भइसकेको छ।” बाढीले नदी किनार मात्रै बगाएन, यस गाउँको खुसी पनि सँगै बगाएर लगेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link