भोटेकोशी बाढी: ५५ खानेपानी आयोजना प्रभावित, ६४ करोडको क्षतिको अनुमान

रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन्। बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब रु. ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ। ती आयोजनामा मात्रै रु. चार करोड ११ लाख ५० हजार बराबरको क्षति भएको विभागले जनाएको छ।

विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीका कारण धादिङका २०, गोरखाका पाँच तथा रसुवाका आठ वटा आयोजनामा क्षति भएको छ। बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ।

बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ। प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको महानिर्देशक श्रेष्ठले बताए।

विशेषगरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ। उक्त जेनेरेटरमार्फत दैनिक करिब पाँच लाख लिटर खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ।

त्यस्तै, एक एचपी क्षमताका सात वटा पम्प सञ्चालनमा ल्याएर बट्टार क्षेत्रका करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सञ्चालन गरिएको छ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)सँगको समन्वयमा भदौ १२ गतेदेखि चार वटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा खानेपानी वितरण भइरहेको महानिर्देशक श्रेष्ठको भनाइ छ।

बाढी प्रभावित त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा खानेपानी सेवा विस्तार गर्न आवश्यक सामग्रीसमेत व्यवस्थापन गरिएको विभागले जनाएको छ। सेवा विस्तारका लागि दुई एचपी र एक एचपी क्षमताका गरी कुल १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्याङ्की तथा करिब ४१।१ किलोमिटर एचडीपीइ पाइप तयारी अवस्थामा राखिएको छ।

विभागका अनुसार उक्त सामग्री प्रभावित क्षेत्रमा ढुवानी तथा जडान गरी खानेपानी सेवा विस्तार गर्ने तयारी भइरहेको छ। बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुन:स्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको छ।

बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहतसँगै दीर्घकालीन पुन:स्थापनाको कामलाई समेत अघि बढाइएको विभागले जनाएको छ। क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुन:स्थापनाका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link