भोटेकोशी बाढी: शिक्षण अस्पतालमा २४४ शव, ३८ घाइते डिस्चार्ज

रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर ज्यान गुमाएकामध्ये २४४ जनाको जनाको शव त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएको छ।

अस्पतालका फरेन्सिक ल्याब प्रमुख डा गोपाल चौधरीले बाढीमा परेर ज्यान गएकामध्ये २४४ शव शिक्षण अस्पतालमा ल्याइएको जानकारी दिए।

अस्पतालमा ल्याइएका २४४ शवमध्ये १६१ शवको अस्थायी व्यवस्थापन गरिएको छ। यस्तै, २४ शवको पहिचान भएकाले परिवार तथा आफन्तलाई जिम्मा लगाइसकिएको डा चौधरीले बताए।

यस्तै, हाल ५९ शवहरु अस्पतालमै रहेका छन्। केही शवहरुको पोस्टमार्टम गर्न बाँकी रहेकाले पोस्टमार्टमपछि उक्त शवको व्यवस्थापन गरिने अस्पतालले जनाएको छ।

ट्रमा सेन्टरबाट ३८ बाढीघाइते डिस्चार्ज

रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकामा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका ५० जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो। उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म ३८ जनालाई डिस्चार्ज गरिएको हो।

राष्ट्रिय ट्रमा सेन्टरमा अहिले १२ घाइतेको उपचार भइरहेको छ। अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुको साधारण श्ययाम राखेर उपचार भइरहेको छ।

भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ।

सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जनाएको छ। अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्था तथा उपचारबारे जानकारी लिइरहेका छन्।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ। उद्धार गरिएका घाइतेको उपचारसँगै पीडित तथा बेपत्ता व्यक्तिका आफन्तसँग समन्वय र आवश्यक सहयोगका लागि सम्बन्धित निकायले पहल गरिरहेको प्रहरीले जनाएको छ।

बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ भने सम्पर्कविहीन व्यक्तिको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link