नेपालमा बाढी पहिरो पीडितको सहयोगार्थ एएस रोमा र डब्लुएफपीबिच सहकार्य

इटालीको प्रसिद्ध फुटबल क्लब एएस रोमा र संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले नेपालका बाढी पहिरो प्रभावित समुदायको सहयोगका लागि सहकार्यको घोषणा गरेका छन्। नेपालमा हालै गएको बाढी पहिरोका कारण उत्पन्न आपत्कालीन अवस्थाप्रति विश्वको ध्यान आकर्षण गर्न र राहत कोष जुटाउन रोमाले डब्लुएफपीसँग हात मिलाएको हो।

यस पहलमार्फत सेप्टेम्बर १० (भदौ २५) मा हुने युरोपियन च्याम्पियनसिपअन्तर्गत फेनरबाहचेविरुद्धको खेलमा एएस रोमाका खेलाडीहरूले अगाडिपट्टि विश्व खाद्य कार्यक्रमको लोगो अङ्कित जर्सी लगाएर मैदानमा ओर्लिनेछन्। यस कार्यका लागि क्लबले मुख्य प्रायोजक ‘युरोबेट डट लाइभ’ लाई पनि धन्यवाद ज्ञापन गरेको छ।

नेपालमा भीषण बाढी र पहिरोले धेरै बस्तीहरू प्रभावित भएका छन् भने कैयौँ समुदाय सम्पर्कविहीन बनेका छन्।  संस्थाले प्रभावित र दुर्गम क्षेत्रमा खाद्य सामग्री तथा अन्य सहयोग पुर्‍याउँदै आएको छ।

मैदानको खेल सकिएपछि पनि रोमाको यो सहयोग निरन्तर रहनेछ। उक्त खेलमा खेलाडीहरूले लगाएका जर्सीहरू लिलामीमा राखिनेछ र त्यसबाट सङ्कलन भएको रकम डब्लुएफपीमार्फत प्रत्यक्ष रूपमा नेपालका बाढीपीडितको राहतमा खर्च गरिनेछ।

साथै, क्लबले आफ्ना समर्थकहरूलाई डब्लुएफपीको ‘सेयर द मिल’ (ShareTheMeal) एपमार्फत एएस रोमा: एकजुट नेपालका लागि (AS Roma: Together for Nepal) अभियानमा जोडिएर सहयोग गर्न अपिल गरेको छ। फुटबलको पहुँच र लोकप्रियतालाई विपद्मा परेका मानिसहरूको सहयोगमा बदल्ने उद्देश्यका साथ यो पहल सुरु गरिएको रोमाले जनाएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link