प्रिमियर लिग: ब्राइटनसँग ३-० ले स्तब्ध बन्यो आर्सनल, जितको यात्रामा लाग्यो पूर्णविराम

इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति सम्पन्न खेलमा शीर्ष स्थानको आर्सनल ब्राइटन एन्ड होभ अल्वियोनसँग ३-० को भारी अन्तरले पराजित भएको छ। ब्राइटनको घरेलु मैदान अमेरिकन एक्सप्रेस स्टेडियममा भएको खेलमा घरेलु टोलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आर्सनललाई स्तब्ध बनाएको हो।

क्लब स्थापनाको १२५औँ वार्षिकोत्सव मनाइरहेको ब्राइटनका लागि खेलको सुरुवातदेखि नै घरेलु दर्शकको बलियो समर्थन रहेको थियो। पहिलो हाफमै दुई गोलको अग्रता लिएको ब्राइटनले दोस्रो हाफमा थप एक गोल गर्दै जित सुनिश्चित गर्‍यो।

ब्राइटनका कप्तान पास्कल ग्रसले ३१औँ डि-बक्स बाहिरबाट हानेको उत्कृष्ट प्रहार आर्सनलका गोलकिपर डेभिड रायालाई छक्क्याउँदै पोलमा ठोक्किएर जाली चुमेको थियो।

हाफको अन्तिम मिनेटमा काउन्टर एट्याकमा डिएगो गोमेजको पासलाई सदुपयोग गर्दै १८ वर्षीय युवा स्ट्राइकर चारालम्पोस कोस्टौलासले २५ यार्ड टाढाबाट सुन्दर गोल गर्दै ब्राइटनको अग्रता दोब्बर बनाए।

दोस्रो हाफको सुरुवातमै पास्कल ग्रसको कर्नर प्रहारमा पहिलो पटक प्रिमियर लिगमा सुरुवाती ११ मा परेका चेमा आन्द्रेसले उत्कृष्ट हेडरमार्फत गोल गर्दै ब्राइटनलाई ३-० को स्थितिमा पुर्‍याए।

प्रिमियर लिगको नयाँ सिजनमा लगातार चार खेल जितेर उत्कृष्ट सुरुवात गरेको आर्सनलले यो खेलमा भने सोचेजस्तो प्रदर्शन गर्न सकेन। मुख्य डिफेन्डर विलियम सालिबा ढाडको चोटका कारण टोलीबाहिर रहँदा आर्सनलको रक्षापङ्क्ति कमजोर देखिएको थियो।

दोस्रो हाफमा मुख्य प्रशिक्षक मिकेल अर्टेटाले भिक्टर ग्योकेरेस र एबेरेची एजेजस्ता खेलाडीलाई मैदान प्रवेश गराएका थिए। ग्योकेरेसको सुन्दर पासमा काई हाभर्ट्जले गोलकिपर बार्ट भेरब्रुगेनसँगको वान-अन-वानको स्थितिमा गोल गर्ने सुनौलो मौका गुमाए।

यस नतिजासँगै आर्सनलको सिजनको पहिलो पराजय दर्ता भएको छ भने ब्राइटनले महत्त्वपूर्ण ३ अङ्क जोड्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link