गाउँमा बजार र शीतभण्डार नहुँदा बाजुराका किसान मारमा: तीन दिन लगाएर धनगढी ल्याइयो स्याउ

हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको विषादीरहित अर्ग्यानिक स्याउ बिक्रीका लागि बिहीबार कैलालीको धनगढी आइपुगेको छ।

गाउँका किसानले उत्पादन गरेको स्याउ स्थानीय बजारमा खपत नभएपछि बजारीकरणका लागि धनगढी ल्याइएको स्वामीकार्तिक खापर गाउँपालिकाका–१ का स्याउ किसान दानबहादुर रावलले बताए।

किसान रावलले लामो समयदेखि रुपाली कृषि फार्म नामक कृषि फार्म दर्ता गरी स्याउ खेती गर्दै आउनुभएको छ। “व्यावसायिक रूपमा स्याउ खेती गर्दै आउनुभएका रावलले स्याउको उत्पादन बढे पनि बजारको अभावमा किसान पीडामा छन्”, उनले भने, “यहाँका धेरै किसानले स्याउ खेती गरेका छन्, किसानका बगैँचामा स्याउ राम्रो फलेको छ, तर बिक्री नहुने भएपछि लगानी र मिहिनेत खेर जाने अवस्था देखिएपछि धनगढी ल्याएको हुँ।”

उनले आफू लगायत सात जना किसानको बगैँचामा उत्पादन भएको स्याउ सङ्कलन गरेर धनगढी ल्याएको बताए। किसानले उत्पादन गरेको स्याउ सुरक्षित राख्ने ठाउँ नहुँदा बारीमै कुहिने तथा सस्तोमा बिक्री गर्नुपर्ने अवस्था रहेको उनले दुःखेसो पोखे।

गाउँमा उत्पादन भएको स्याउको बजारको सुनिश्चितता, सङ्कलन केन्द्र, उचित मूल्य र शीतभण्डारको व्यवस्था भएको भए स्थानीय किसानको अर्थोपार्जनसँगै ठुलो राहत मिल्ने किसान रावलको भनाइ छ।

रावलले गाउँमा बिक्री गर्न असहज भएपछि कालीकोट, दैलेख, सुर्खेत हुँदै तीन दिन लगाएर करिब आठ टन रेड, रोयल र गोल्डेन जातका स्याउ धनगढी ल्याउनुभएको हो। स्याउको मूल्य प्रतिकिलोग्राम रु १२० रहेको छ।

रासायनिक विषादीको प्रयोग नगरी उत्पादन गरिएको यो स्याउ बजारमा उपलब्ध अन्य जातको स्याउभन्दा रसिलो, सस्तो र स्वादिष्ट रहेको पाइएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link