एसियाली खेलकुद: अफगानिस्तानलाई ५ विकेटले हराउँदै नेपालको सानदार जित

एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटको समूह चरणको खेलमा नेपालले अफगानिस्तानमाथि ५ विकेटको शानदार जित निकालेको छ। जितका लागि पाएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउँदै १६ बल बाँकी छँदै पूरा गर्‍यो।

टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन मात्र बनाउन सक्यो। अफगानिस्तानका लागि फैसला खान र नजिबुल्लाह जादरानले समान ३०-३० रन जोडे भने नङ्गेयालिया खरोटेले १७ रनको योगदान दिए।

नेपालका लागि बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। अलराउन्डर कुशल भुर्तेलले घातक बलिङ गर्दै ४ ओभरमा २१ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। अर्का स्पिनर ललित राजवंशीले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र १३ रन दिएर ३ विकेट हात पारे।

१०३ रनको मध्यम लक्ष्य पछ्याएको नेपालको सुरुवात भने सहज रहेन। टोलीले पावरप्लेमै केही प्रारम्भिक विकेट गुमाएपछि दबाबमा परेको थियो।

तर, मध्य क्रममा सन्दीप जोरा र कप्तान रोहित पौडेलले सम्हालिएर ब्याटिङ गर्दै नेपालको जितको आधार तय गरे। सन्दीप जोराले ३५ बलमा ३४ रन बनाए भने कप्तान रोहित पौडेलले ३२ बलमा अविजित ३३ रनको योगदान दिए। यस्तै दीपेन्द्र सिंह ऐरीले १५ रन जोडे।

अफगानिस्तानका बलरहरू फरिदुन दाउदजाई, अरब गुल र अब्दुल्लाह अहमदजाईले समान १-१ विकेट लिए तापनि नेपाललाई जित निकाल्नबाट रोक्न सकेनन्।

यस जितसँगै नेपालले प्रतियोगितामा २ अङ्क जोड्दै सुखद सुरुवात गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link