अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानद्वारा प्रस्तुत सात दिनभित्र व्यापारिक जहाजका लागि होर्मुज जलमार्ग खोल्ने प्रस्तावलाई अस्वीकार गरेका छन्।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरान युद्धमा नराम्रोसँग पराजित भइरहेकाले तत्काल जलमार्ग खोल्ने सम्झौता गर्न चाहेको दाबी गरे। उनले भने, “उनीहरू सम्झौता गर्न चाहन्छन् र मलाई पनि सम्झौता गर्न मन पर्छ, तर यो सम्झौता हामीलाई स्वीकार्य छैन।” ट्रम्पले अमेरिकाको उक्त जलक्षेत्रमा पूर्ण नियन्त्रण रहेको र भारी मात्रामा तेल ओसारपसार भइरहेको दाबीसमेत गरे।
इरानी विदेशमन्त्री अब्बास अराघचीले टेलिग्राममार्फत ट्रम्पको टिप्पणीप्रति प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपतिबाट विरोधाभासपूर्ण अभिव्यक्तिहरू आइरहने बताएका छन्। उनले इरानले मध्यस्थकर्ताहरूमार्फत आउने आधिकारिक र अन्तिम जवाफको पर्खाइमा रहेको र त्यसपछि मात्र आवश्यक निर्णय लिने स्पष्ट पारे।
जुन महिनाको समझदारी पत्र र इरानी अडान
यसअघि संयुक्त राष्ट्रसङ्घको महासभाका क्रममा न्युयोर्कमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै विदेशमन्त्री अराघचीले आवश्यक सर्तहरू पूरा भएमा सात दिनभित्र जलमार्ग पुनः सञ्चालन गर्न सकिने बताएका थिए। ती सर्तहरू गत जुन महिनामा दुई देशबिच हस्ताक्षर भएको समझदारी पत्रमै उल्लेख रहेको उनको भनाइ थियो।
इरानका राष्ट्रपति मसुद पेजेस्कियानले पनि पूर्व सम्झौता (समझदारी पत्र) का आधारमा अघि बढ्न अमेरिका तयार भए परिस्थिति पुरानै अवस्थामा फर्कन सक्ने बताएका छन्। उक्त १४ बुँदे समझदारी पत्रमा युद्ध विराम गर्ने, इरानले परमाणु हतियार कहिल्यै नबनाउने, अमेरिकी नाकाबन्दी र प्रतिबन्धहरू हटाउने तथा सबै मोर्चामा सैन्य कारबाही रोक्ने विषयहरू समावेश थिए।
तर, पूर्व अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सदस्य कर्स्टन फोन्टेनरोजका अनुसार अमेरिकामा उक्त समझदारी पत्रलाई ‘खराब सम्झौता’का रूपमा हेरिएकाले त्यसलाई पुनः ब्युँताउने सम्भावना न्यून रहेको छ।
ऊर्जा सङ्कट र थपिँदो तनाव
गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको युद्धका कारण विश्वको करिब पाँचौँ भाग ग्याँस र तेल ओसारपसार हुने यो महत्त्वपूर्ण जलमार्ग प्राय बन्द छ। इरानले अनधिकृत रूपमा प्रवेश गर्न खोज्ने जहाजहरूमाथि आक्रमण गर्दै आएको छ भने अमेरिकाले पनि इरानी बन्दरगाहहरूमा नाकाबन्दी र सैन्य कारबाही जारी राखेको छ।
यसैबिच, यमनका हुथी विद्रोहले पनि लाल सागर क्षेत्रमा साउदी अरबका तेल संयन्त्रहरूमाथिको आक्रमणलाई तीव्र बनाएका छन्। हुथीहरूले हालै रणनीति हिसाबले महत्त्वपूर्ण बब अल मण्डब जलमार्ग नजिकैको मोखा बन्दरगाह कब्जा गरेका छन्। साउदी नेतृत्वको गठबन्धनले हुथीहरूले प्रहार गरेका क्षेप्यास्त्रहरू विफल पारेको जनाएको छ भने साउदी अरबले अमेरिकासँग सैन्य सहयोगको याचना गरेको समाचारहरू बाहिरिएका छन्।
आउँदो नोभेम्बरमा हुने अमेरिकी कङ्ग्रेसको चुनाव नजिकिँदै गर्दा इन्धनको मूल्यमा आएको तीव्र उतारचढावले ट्रम्प प्रशासनमाथि युद्ध अन्त्य गर्ने दबाब बढाएको छ। यद्यपि, वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्प इरानको नियतप्रति शङ्कास्पद छन् र नोभेम्बरको चुनावपछि इरानमाथि पुनः बम बारी अभियान सुरु गर्न सकिने सङ्केत आफ्ना सहयोगीहरूलाई दिएका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
एजेन्सी का अन्य पोस्टहरु:
- साउदी अरबको रियाद विमानस्थलमा लगातार दोस्रो दिन पनि हुथी विद्रोहीको आक्रमण: एक जनाको मृत्यु, ११ जना घाइते
- जापोरिझियामा ग्लाइड बम आक्रमण: ४ बालबालिकासहित कम्तीमा २० जनाको मृत्यु
- ट्रम्पद्वारा रुसी डिजेल आयात गर्ने सम्झौताको घोषणा
- रुसी आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु, युक्रेनभर दिनप्रतिदिन खतरनाक बन्दै आक्रमण
- अमेरीकी जेलमा रहेका मादुरोमाथि थप मुद्दा चलाउने तयारी
- फिनल्यान्डमा गुगललाई झट्का: दुई डेटा सेन्टरको निर्माण रोक्न सरकारी आदेश
- रुसमा प्लेग अनुसन्धानकर्ताको मृत्युपछि अमेरिकाद्वारा ‘सूक्ष्म अनुगमन’
- सुरक्षा घटनापछि बेलायतको सैन्य बेसबाट अमेरिकाले फिर्ता बोलायो सबै बमवर्षक विमान
- युक्रेनको राजधानी किभमा रुसको अर्को ठुलो प्रहार: दोस्रो प्रमुख पुलमाथि पनि हमला, यातायात अस्तव्यस्त
- फ्रान्समा शिक्षा क्षेत्रको सुधार माग्दै चर्कियो विद्यार्थी आन्दोलन: दङ्गा नियन्त्रक प्रहरी र प्रदर्शनकारीबिच देशव्यापी झडप