जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा श्रीलंकासँगको खेल वर्षाका कारण रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।
नागोयास्थित कोरोगी स्पोर्टस पार्कको मैदानमा आज तय भएको नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण सुरु हुन सकेन। लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्द गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। योसँगै सेमिफाइनल पुग्ने नेपालको सपना यसपालि पनि अधुरै रहेको छ।
प्रतियोगिताको नियमअनुसार खेल सञ्चालन हुन नसकेको अवस्थामा ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरियतामा माथिल्लो स्थानमा रहेको टोलीलाई विजेता मान्दै अघिल्लो चरणमा प्रवेश गराउने प्रावधान छ। सोही प्रावधानअनुसार श्रीलंका सेमिफाइनलमा प्रवेश गर्दा नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। हालको ट्वान्टी–२० विश्व वरियतामा श्रीलंका नवौँ तथा नेपाल १४औँ स्थानमा छन्।
नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण शनिबार नेपाल र जापानबीचको समूह चरणको खेलसमेत प्रभावित भएको थियो।
समूह चरणको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो। समूह चरणको अन्तिम खेलमा जापानसँग अंक बाँड्नु परेपछि नेपाल समूहबाट अघि बढेको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- दसैँको तेस्रो दिन: चन्द्रघण्टा देवीको ध्यान र उपासना
- आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
- आजको विनिमय दर निर्धारित
- इच्छाकामना अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न माग
- दसैँको रौनक: पहेँलपुर बन्यो आँबुखैरेनी
- नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको आराधना
- नेपाली काँग्रेस: उपसभापति र महामन्त्रीको मतपरिणाम सार्वजनिक
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- गोरखामा बूढीगण्डकीको बाढी: ३५ घर बगे, चार गाउँमा व्यापक क्षति
- बडादसैँ सुरु: आज घरघरमा घटस्थापना, जमरा राखिँदै