युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘ए’ का दुई रोमाञ्चक भिडन्तमा इटलीले टर्कीमाथि ४–१ को फराकिलो जित दर्ता गर्दा फ्रान्सले बेल्जियमलाई १–० ले पराजित गरेको छ।
टर्की विरुद्ध इटाली: इटालीको फराकिलो जित
टर्कीको टिमसा एरेनामा सम्पन्न खेलमा पाहुना टोली इटालीले घरेलु टोली टर्कीलाई ४–१ गोल अन्तरले पराजित गर्दै शानदार पुनरागमन गरेको छ। अघिल्लो खेलमा बेल्जियमसँग पराजित भएको इटालीले खेलको सुरुवातदेखि नै घरेलु टोलीमाथि दबाब बनाएको थियो।
इटालीले खेलको नवौँ मिनेटमै आलेसान्द्रो बास्तोनीको गोलमार्फत अग्रता लिएको थियो। कर्नरबाट प्राप्त बललाई टर्कीका रक्षकहरूले क्लियर गर्न नसक्दा बास्तोनीले उत्कृष्ट फिनिसिङ गरे। त्यसपछि २२ औँ मिनेटमा दाविदे फ्रातेसीले पियो एस्पोसिटोको पासमा गोल गर्दै इटालीको अग्रता दोब्बर बनाए। खेलको २७ औँ मिनेटमा माइकल कायोदेले तेस्रो गोल गरेपछि पहिलो हाफमै इटाली ३–० ले अगाडि रह्यो।
दोस्रो हाफको सुरुवातमै टर्कीले केही सुधारिएको प्रदर्शन गर्यो। ४७ औँ मिनेटमा बारिस आल्पर यिल्माजले गोल गर्दै घरेलु समर्थकलाई खुसी पार्ने प्रयास गरे। तर त्यसको तीन मिनेटमै (५० औँ मिनेटमा) इटालीका युवा स्ट्राइकर पियो एस्पोसिटोले गोल गर्दै इटालीको ४–१ को जित पक्का गरे। यो जितसँगै इटालीले समूहमा आफ्नो स्थिति मजबुत बनाएको छ।
बेल्जियम विरुद्ध फ्रान्स: ओलिसेको अन्तिम मिनेटको गोलमा फ्रान्स विजयी
किङ बाउडोन स्टेडियममा भएको अर्को प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले घरेलु टोली बेल्जियमलाई १–० ले पराजित गरेको छ।
खेलभरि नै बल पोजिसनमा पकड जमाएको फ्रान्सले गोलका थुप्रै अवसर सिर्जना गरेको थियो। पहिलो हाफमा डेजिरे डोएको प्रहार बारमा ठोक्किएर फर्किएको थियो भने दोस्रो हाफको सुरुवातमा लुकाई दा कुन्हाको प्रहार पोस्टमा लागेको थियो।
बेल्जियमले पनि काउन्टर अट्याकमार्फत फ्रान्सको रक्षापङ्क्तिलाई व्यस्त राखेको भए पनि गोल गर्न सकेन। खेल बराबरीतिर धकेलिइरहेका बेला ७७ औँ मिनेटमा मैदान प्रवेश गरेका सब्सिच्युट खेलाडी माइकल ओलिसे खेलको हिरो बने। ८८ औँ मिनेटमा ओलिसेले आफ्नै हाफबाट बल अगाडि बढाउँदै डि-बक्सको किनारबाट उत्कृष्ट गोल गर्दै फ्रान्सलाई १–० को रोमाञ्चक जित दिलाए।
यस जितसँगै फ्रान्सले नेसन्स लिगको नयाँ सिजनमा लगातार दोस्रो जित दर्ता गर्दै समूहको शीर्ष स्थान कब्जा गरेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आजको विनिमय दर निर्धारित
- इच्छाकामना अस्पताललाई ट्रमा सेन्टरका रूपमा विस्तार गर्न माग
- दसैँको रौनक: पहेँलपुर बन्यो आँबुखैरेनी
- नवरात्रको दोस्रो दिन: ब्रह्मचारिणी देवीको आराधना
- नेपाली काँग्रेस: उपसभापति र महामन्त्रीको मतपरिणाम सार्वजनिक
- आजका लागि विदेशी मुद्राको विनिमय दर
- गोरखामा बूढीगण्डकीको बाढी: ३५ घर बगे, चार गाउँमा व्यापक क्षति
- बडादसैँ सुरु: आज घरघरमा घटस्थापना, जमरा राखिँदै
- १० खेलाडीमा सीमित रियाल मड्रिडको भियारियालमाथि रोमाञ्चक जित
- आजका लागि विदेशी मुद्राको विनिमय दर

