चाडपर्वको रौनक: धरानमा खसीबोकाको चम्किँदो व्यापार

चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसी बोकाको कारोबार बढेको छ। कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसी बोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन्।

बजारमा दैनिक रूपमा उपभोग्य वस्तुका साथै खसी बोकाको किनबेच हुने गरेको छ। बिहीबार र शुक्रबार दुई दिन विशेष रूपमा खसी बोकाको बजार लाग्ने छ।

धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसी बोकाको व्यापार गर्दै आएका छन्। उनले घरमै खसी बोका पाल्नुभएको छ। यस्तै, धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गरेर ल्याइएका खसी बोका पनि बिक्री गर्ने गरेको उनले जानकारी दिए।

“व्यापार हो, कहिले नाफा हुन्छ, कहिले घाटा। यही व्यवसायबाट घर खर्च पुगेको छ। यहाँको खसी बजारको व्यवस्थापन राम्रो भएकाले व्यापार गर्न सहज भएको छ”, उनले भने।

मोरङको कानेपोखरीका व्यवसायी चन्द्र खड्का प्रत्येक साता खसी बोका खरिद गर्न धरान आउने गर्छन्। उनले एक पटकमा १०० देखि १५० वटासम्म खसी बोका खरिदबिक्री गर्दै आएका छन्। उनले उक्त व्यवसाय थालेको २३ वर्ष भइसकेको बताए।

खड्काले धरानबाट खरिद गरेका खसी बोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायत सहरमा बिक्री गर्ने गरेको बताए।

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सातामा तीन हजारभन्दा बढी खसी बोका बिक्री हुने गरेका छन्। दसैँ, तिहारजस्ता चाडपर्वको समयमा भने हप्तामा १० हजार बढी खसी बोका बिक्री हुने गरेको उनले जानकारी दिए।

आर्थिक वर्ष २०८२–८३ मा कृषि उपज बजारबाट एक लाख ६० हजार खसी बोका बिक्री हुँदा करिब रु तीन अर्बको कारोबार भएको अध्यक्ष भट्टराईले उल्लेख गरे। गत वर्षको चाडपर्वमा मात्रै रु. ४६ करोड बराबरको कारोबार भएको थियो। यस वर्ष कारोबार थप वृद्धि हुनसक्ने उनको भनाइ छ।

भट्टराईका अनुसार बजारमा अघिल्ला वर्षहरूको तुलनामा यस वर्ष खसी बोकाको कारोबार १५ प्रतिशतले वृद्धि भइसकेको छ। बजारमा पहाडी जिल्लाका साथै इटहरी, मोरङको कानेपोखरी र बेलबारीलगायत तराईका किसान तथा व्यापारी खसी बोका खरिदबिक्रीका लागि आउने गरेका छन्।

कोशी प्रदेशकै व्यवस्थित खसी बजारका रूपमा रहेको धरान कृषि उपज बजारले पहाडी जिल्लाका किसानलाई बजार उपलब्ध गराउनुका साथै स्थानीय व्यापार र रोजगारीमा योगदान पुर्‍याएको अध्यक्ष भट्टराईले बताए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link