नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काका अनुसार प्रतियोगिता सुरु हुन करिब तीन साता बाँकी रहँदा मैदानमा आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापनका कामलाई तीव्रता दिइएको हो।
प्रतियोगिताको हरेक संस्करण बृहत् बन्दै गएकाले दर्शक, खेलाडी, सञ्चारकर्मी तथा विशिष्ट पाहुनालाई विगतभन्दा राम्रो अनुभव दिने गरी तयारी भइरहेको उनले बताए।
“तयारीको अन्तिम चरणमा छौँ। प्रतियोगितालाई राम्रोसँग सम्पन्न गर्नुपर्ने अपेक्षा धेरै छ। प्रतियोगिता जति ठुलो हुँदै गयो, त्यति नै हाम्रो जिम्मेवारी पनि बढेको छ”, सचिव खड्काले रासससँग भने, “दसैँसम्म सबै काम सकेर तेस्रो संस्करणका लागि पूर्ण रूपमा तयार हुने हाम्रो योजना छ।”
गत संस्करणमा देखिएका व्यवस्थापनसम्बन्धी समस्या सुधार गर्दै यस पटक मैदानमा केही नयाँ संरचना थपिने भएका छन्। एनपिएलका खेलमा दर्शकको चाप अत्यधिक हुने भएकाले उपलब्ध स्थानको अधिकतम उपयोग गर्दै दर्शक क्षमता बढाउने प्रयास गरिएको सचिव खड्काले जानकारी दिए। मैदान परिसरमा थप दर्शक अटाउन मिल्ने स्थान पहिचान गरी आवश्यक संरचनात्मक परिवर्तन भइरहेको उनको भनाइ छ।
यसैगरी, मैदान प्रवेश गर्ने बाटो तथा गेट व्यवस्थापनमा सम्बन्धित मन्त्रालयसँग समन्वय गरी सुधारको पहल भइरहेको सचिव खड्काले बताए। टिकट लिएर मैदान पुग्ने दर्शकलाई प्रवेशदेखि खेल हेरेर फर्किँदासम्म सहज वातावरण मिलाउने गरी व्यवस्थापनमा विशेष ध्यान दिइएको क्यानले जनाएको छ।
गत संस्करणमा दर्शकले शौचालय तथा आवतजावतका क्रममा धुलोलगायतका समस्या भोग्नु परेको थियो। यस पटक त्यस्ता समस्या दोहोरिन नदिन क्यानले पहल गरेको सचिव खड्काले बताए।
दसैँ लगत्तै एनपिएल
दसैँ–तिहारको बीचमा एनपिएल आयोजना हुँदा दर्शकको उपस्थिति प्रभावित हुन सक्ने आकलन भए पनि नेपाल क्रिकेट सङ्घ (क्यान) भने यसप्रति धेरै चिन्तित छैन। क्यानका सचिव खड्का नेपाली क्रिकेटको ‘फ्यान बेस’ बलियो भएकाले चाडपर्वको समय भए पनि दर्शकको उत्साहमा कमी नआउने विश्वास व्यक्त गर्छन्।
उनका अनुसार एनपिएलको मिति तय गर्दा अन्तर्राष्ट्रिय क्रिकेट र अन्य फ्रेन्चाइज लिगको तालिका तथा विदेशी खेलाडीको उपलब्धतालाई मुख्य आधार बनाइएको हो। यी सबै पक्षलाई हेर्दा यस वर्षका लागि दसैँ–तिहारको बिचको समय नै प्रतियोगिता आयोजना गर्नु उपयुक्त देखिएको उनको भनाइ छ।
तेस्रो संस्करणमा सहभागी टोलीले अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडीलाई अनुबन्ध गर्ने क्रम तीव्र पारेका छन्। विदेशी खेलाडीको उपस्थितिले यस पटक एनपिएलप्रति दर्शकको आकर्षण थप बढ्ने क्यानको अपेक्षा छ। टेलिभिजनमा हेर्दै आएका चर्चित खेलाडीलाई आफ्नै मैदानमा प्रत्यक्ष हेर्न पाउने अवसरले दर्शकलाई मैदानसम्म तान्ने सचिव खड्काको विश्वास छ।
“यसपालि ठुलाभन्दा ठुला खेलाडी हरेक टोलीले ल्याइरहेका छन्। टिभीमा हेरिरहेका खेलाडीलाई अब कीर्तिपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै प्रत्यक्ष देख्न सक्ने अवस्था बनेको छ”, उनले भने। एनपिएलको तेस्रो संस्करण आगामी कात्तिक नौदेखि मङ्सिर ५ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मकै र कोदो जोगाउन मुस्किल परेपछि भोजपुरका किसानले अपनाए अदुवा खेतीको विकल्प
- एनपिएलले जन्माएका नयाँ स्टार: ‘गोल्डेन क्याप’को दौडमा राहुल यादव, ब्याटिङमा लोकेश बमको दबदबा
- एनपीएल २०२६: आज चितवन र कर्णाली तथा काठमाण्डु र पोखरा भिड्दै
- छठको रौनक: आज अस्ताउँदो सूर्यको आराधना गरिँदै
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- जङ्गली हात्तीको आतंक रोक्न बाहुनडाँगीमा नयाँ विद्युतीय तारबारको माग
- एनपिएलको २०२६: २६औँ खेलमा आज विराटनगर र लुम्बिनी भिड्दै
- एनपिएल २०२६: हिजोको खेलमा सुदूरपश्चिम र चितवनको जित
- आज विश्व मधुमेह दिवस: स्वस्थ जीवनशैली र नियमित परीक्षणमा जोड
- आजको लागि विदेशी मुद्राको विनिमय दर