अमेरीकी जेलमा रहेका मादुरोमाथि थप मुद्दा चलाउने तयारी

अमेरिकी सङ्घीय अभियोजकहरूले भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी चिलिया फ्लोरेस विरुद्ध थप मुद्दा दर्ता गर्ने तयारी गरेका छन्।

अमेरिकी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीको अनुसार, भेनेजुएलाका कारागारमा बन्दी बनाइएका अमेरिकी नागरिकहरूमाथि यातना दिएको घटनामा संलग्न रहेको आरोपमा उनीहरूमाथि थप मुद्दा चलाउन लागिएको हो।

गत जनवरी ३ (२०२६) मा अमेरिकी फौजले भेनेजुएलाको राजधानी काराकासस्थित निवासबाटै मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको थियो। उनीहरूलाई सोही रात न्युयोर्क पुर्‍याएर हतियार तथा लागूपदार्थ ओसारपसार सम्बन्धी मुद्दा चलाइएको छ। यद्यपि, मादुरो र फ्लोरेसङे ती आरोपहरू अस्वीकार गर्दै आएका छन्।

मादुरो सरकारका पालामा गैर कानुनी रूपमा बन्दी बनाइएका एक दर्जनभन्दा बढी अमेरिकीहरूलाई यातना दिएको घटनामा अन्य व्यक्तिहरूमाथि पनि मुद्दा दर्ता हुनसक्ने जनाइएको छ। तर, मादुरोका अधिवक्ता बेरी पोल्याकले भने आफूलाई नयाँ थपिएका मुद्दाहरूबारे कुनै औपचारिक जानकारी नदिइएको CBS लाई बताएका छन्।

लागूपदार्थ तस्करी र अवैध हतियारको मुद्दा सामना गरिरहेकी फ्लोरेसलाई धरौटीसम्बन्धी सुनुवाइका लागि न्युयोर्कस्थित सङ्घीय अदालतमा उपस्थित गराइँदै छ। मादुरो र फ्लोरेस दुवैको मुद्दाको सुनुवाइ भने सन् २०२७ को जुन महिनाबाट सुरु हुने तय भएको छ।

यसअघि सन् २०२० मा डोनाल्ड ट्रम्पको पहिलो कार्यकालका क्रममा मादुरोसहित १४ जना विरुद्ध लागूऔषध-आतंकवाद, कोकिन आयात र अवैध हातहतियार सम्बन्धी मुद्दा दर्ता गरिएको थियो। अमेरिकी अधिकारीहरूले मादुरो, उनकी पत्नी र छोराले आतङ्ककारी घोषित कार्टेलहरूसँग मिलेर अमेरिकामा ठुलो मात्रामा कोकिन भित्र्याएको आरोप लगाएका छन्।

अर्कोतर्फ, मादुरोले भने यी सबै आरोपहरू भेनेजुएलाको धनी तेल भण्डारमा कब्जा जमाउने अमेरिकी “साम्राज्यवादी” योजनाको हिस्सा भएको दाबी गर्दै आएका छन्। उनका वकिलहरूले उनी एक सार्वभौमसत्ता सम्पन्न देशको राष्ट्रप्रमुख भएकाले उनीमाथि मुद्दा चलाउन नमिल्ने र अमेरिकी फौजले बलपूर्वक पक्राउ गर्नु गैर कानुनी भएको भन्दै मुद्दा खारेजीको माग अदालतसमक्ष गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

एजेन्सी का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link