आधुनिक युरोपेली इतिहासकै एक ठुलो तोडफोडको घटना मानिएको ‘नर्ड स्ट्रिम’ ग्याँस पाइपलाइन विस्फोटको चार वर्षपछि एक युक्रेनी नागरिकमाथि जर्मनीमा औपचारिक अदालती प्रक्रिया सुरु भएको छ। जर्मन अभियोजकहरूले ती युक्रेनी पूर्वसैन्य अधिकारीमाथि रुसी ग्याँस रोक्ने उद्देश्यले पाइपलाइन ध्वस्त पार्ने षड्यन्त्र र युद्ध अपराधमा संलग्न भएको आरोप लगाएका छन्।
जर्मन अभियोजन पक्षले सर्ही केका रूपमा पहिचान गरिएका व्यक्तिमाथि युक्रेनी सैन्य टोलीसँग मिलेर सन् २०२२ को सेप्टेम्बरमा बाल्टिक सागरमा नर्ड स्ट्रिम १ र २ पाइपलाइनमा विस्फोट गराएको दाबी गरेको छ। उनीमाथि सर्वसाधारणसँग सम्बन्धित नागरिक संरचनामा सैन्य आक्रमण गरी युद्ध अपराध गरेको गम्भीर अभियोग लगाइएको छ।
सन् २०२२ सेप्टेम्बर २६ मा डेनमार्कको बोर्नहोम टापुनजिकै समुद्रमुनि शृङ्खलाबद्ध विस्फोट गराई चारमध्ये तीन वटा ग्याँस पाइपलाइनहरू क्षतिग्रस्त बनाइएका थिए। आक्रमणपछि स्विडेन, डेनमार्क र जर्मनीले अनुसन्धान सुरु गरेका थिए। पछि स्विडेन र डेनमार्कले अनुसन्धान बन्द गरेपछि जर्मन अनुसन्धानकर्ताहरूले अनुसन्धान अघि बढाएका हुन्।
जर्मन अभियोजकहरूका अनुसार संदिग्धहरूले ‘एन्ड्रोमेडा’ नामक रोस्टोक बन्दरगाहबाट भाडामा लिएको याट (बोट) प्रयोग गरी समुद्रमुनि विस्फोटक पदार्थ राखेका थिए। उक्त डुङ्गामा गहिरो पानीमा डुबुल्की मार्ने डाइभरहरू प्रयोग गरिएको र त्यहाँ सैन्य स्तरको विस्फोटक पदार्थको अवशेष फेला परेको अनुसन्धान टोलीको दाबी छ।
अभियुक्त सर्ही के. लाई सन् २०२५ को अगस्टमा इटालीको रिमिनी सहर नजिकैको एक होटेलबाट युरोपेली पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको थियो। इटालीको सर्वोच्च अदालतले सुपुर्दगी स्वीकृत गरेपछि गत वर्षको अन्त्यतिर उनलाई जर्मनी हस्तान्तरण गरिएको हो। उनले आफूमाथि लगाइएका सबै आरोपहरूको खण्डन गर्दै आएका छन्।
यस्तै, अर्का सन्दिग्ध भ्लोदिमिर झुराभ्लोभलाई भने पोल्यान्डको अदालतले रिहा गर्न आदेश दिएको थियो। पोल्यान्डका न्यायाधीशले उक्त आक्रमणलाई गैर कानुनी नभई युक्रेनको राष्ट्रिय सुरक्षाका दृष्टिले तर्कसङ्गत कदम भएको ठहर गरेका थिए। तर, उनी पछि क्रोएसियामा पक्राउ परेका छन् र त्यहाँको अदालतले पनि जर्मनी सुपुर्दगीको अनुमति दिइसकेको छ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नर्ड स्ट्रिम विस्फोटमा युक्रेनको कुनै संलग्नता नरहेको दोहोर्याउँदै आएका छन्। उता, युक्रेनी संसद्को परराष्ट्र मामिला समितिका सभापति ओलेक्सान्डर मेरेझकोले नर्ड स्ट्रिम २ लाई रुसले युद्धको तयारीका लागि हतियारका रूपमा प्रयोग गरेको टिप्पणी गरेका छन्।
यद्यपि, जर्मन विश्लेषकहरूका अनुसार बर्लिन सरकारले यस मुद्दालाई राजनीतिक रूप नदिई न्यायिक प्रक्रियाबाटै समाधान गर्ने नीति लिएको छ। रुससँगको युद्धमा जर्मनी युक्रेनको प्रमुख सहयोगी रहँदै आएकाले यस मुद्दाले दुई देशबिचको राजनीतिक सम्बन्धमा कस्तो प्रभाव पार्छ भन्ने कुरालाई चासोका साथ हेरिएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मकै र कोदो जोगाउन मुस्किल परेपछि भोजपुरका किसानले अपनाए अदुवा खेतीको विकल्प
- एनपिएलले जन्माएका नयाँ स्टार: ‘गोल्डेन क्याप’को दौडमा राहुल यादव, ब्याटिङमा लोकेश बमको दबदबा
- एनपीएल २०२६: आज चितवन र कर्णाली तथा काठमाण्डु र पोखरा भिड्दै
- छठको रौनक: आज अस्ताउँदो सूर्यको आराधना गरिँदै
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- जङ्गली हात्तीको आतंक रोक्न बाहुनडाँगीमा नयाँ विद्युतीय तारबारको माग
- एनपिएलको २०२६: २६औँ खेलमा आज विराटनगर र लुम्बिनी भिड्दै
- एनपिएल २०२६: हिजोको खेलमा सुदूरपश्चिम र चितवनको जित
- आज विश्व मधुमेह दिवस: स्वस्थ जीवनशैली र नियमित परीक्षणमा जोड
- आजको लागि विदेशी मुद्राको विनिमय दर