पेरिसको ऐतिहासिक ‘थिएटर डु च्याटलेट’मा गत सेप्टेम्बर २०२५ मा हातमा सुनौलो ट्रफी थपेर भावुक बनेका उस्मान डेम्बेले आफ्नो कुर्सीमा फर्किएर बस्न नपाउँदै आउने वर्षको पुरुष ब्यालोन डि’ओर पुरस्कारको चुनावी अभियान तीव्र गतिमा सुरु भइसकेको थियो।
खेलाडीका समर्थक र टोलीहरूले आफ्ना उम्मेदवारहरूलाई अघि सारे, सञ्चारमाध्यमहरू यसको चर्चा र प्रचारमा रमाउन थाले।
सन् २०२६ मा यो पुरस्कारको वास्तविक हकदार को हो? अझ यो त विश्वकपको वर्ष पनि हो, जहाँ बहस केवल कुन खेलाडीले आफ्नो देशलाई जित दिलाउन सक्छ भन्नेमा मात्र सीमित भएन, त्यो जितले उनीहरूलाई फुटबलको सबैभन्दा ठुलो व्यक्तिगत सम्मान दिलाउन कसरी मद्दत गर्छ भन्नेमा पनि केन्द्रित रह्यो।

उस्मान डेम्बेलेल २०२५ को ब्यालोन डि’ओर जितेका थिए र उनी यस वर्ष यो पुरस्कारको लागि सूचीकृत १० पीएसजी खेलाडीहरूमध्ये एक हुन्।
बिबिसी स्पोर्ट्सको ‘युरो लिग’ पोडकास्टमा युरोपेली फुटबल विज्ञ गुइलेम बालागुलेले भने – “ब्यालोन डि’ओरको चर्चा हरेक दिन भइरहेको छ। यो स्पष्ट रूपमा समाजको विद्यमान ढाँचाकै पछाडि हिँडिरहेको छ, जहाँ व्यक्तिलाई धेरै महत्त्व दिइन्छ। समूह वा टोलीले कसरी काम गर्छ भन्ने बुझ्न गाह्रो हुन्छ, तर कुनै एक खेलाडीले किन ड्रिबल गर्यो वा गरेन भन्ने कुरा बुझ्न मानिसहरूलाई निकै सजिलो हुन्छ।”
रेड-कार्पेट समारोह नजिकिँदै गर्दा चर्चाको केन्द्रमा आउने होडबाजी झनै बढ्दै गयो।
“केही क्लब र केही खेलाडीहरूले प्रयोग गर्ने पिआर मेसिन (प्रचार संयन्त्र) को शक्तिलाई तपाईँले कम आङ्कलन गर्न सक्नुहुन्न,” फ्रान्सेली फुटबल पत्रकार जुलियन लरेन्स थप्छन्।
म्यानेजर र खेल निर्देशकहरूले आफ्ना खेलाडीहरूको प्रशंसामा पुल बाँधे भने आफ्ना अन्य टोलीका सदस्यहरू तीस जनाको मनोनीत सूचीमा किन परेनन् भन्दै प्रश्न पनि उठाए।
बार्सिलोनाका निर्देशक डेकोले आफ्ना दुई खेलाडी राफिन्हा र पेद्री छुटेकोमा यसलाई “ठूलो काण्ड” को संज्ञा दिए, तर लामिन यमाललाई जितको मुख्य दाबेदारका रूपमा समर्थन गरे। उनले यामल बार्सिलोनाको खेलाडी भएकाले मात्र नभई “आफूलाई फुटबल मन पर्ने भएकाले” भनेको दाबी गरे।
स्टार खेलाडीहरू निरन्तर सञ्चारमाध्यममा छाइरहेका छन्। ब्यालोन डि’ओरको लागि लामिन यामल स्वयंले आफूले “कसैसँग केही माग्ने वा भीख माग्ने काम नगर्ने” बताएका छन्। यद्यपि गत वर्ष उनले “धेरै पुरस्कारहरू जित्ने” सपना देखेको बताएका थिए। तर उनले यो पुरस्कार केवल सर्वाधिक गोलकर्तालाई मात्र दिनु नहुने तर्क पनि गरेका छन्।
पेरिस सेन्ट-जर्मेन (पीएसजी) का म्यानेजर लुइस एनरिकले आफू “ब्यालोन डि’ओरको चर्चाबाट दिक्क भइसकेको” स्वीकार गरे। यद्यपि तीस जनाको सूचीमा पीएसजीका कीर्तिमानी दस जना खेलाडी मनोनीत भएकाले उनी सायद यो विवादबाट टाढै रहन चाहन्थे। अर्कोतर्फ उस्मान डेम्बेले र ख्विचा क्वाचाखेलियाले बिबिसी स्पोर्ट्ससँगको कुराकानीमा एक-अर्काको प्रशंसा गरे।
डेम्बेलेले ठट्टा गर्दै भने- “हामी यसलाई दुई भागमा काट्न सक्छौँ, इमानदारीपूर्वक भन्नुपर्दा, क्वाचाखेलिया यसको हकदार छन्, उनको यो सिजन असाधारण रह्यो।” यसमा क्वाचाखेलियाले जवाफ दिए- “निश्चय नै डेम्बेले नै यसका हकदार हुन्!”
जर्जियामा आफ्ना प्रिय र तीव्र गतिका खेलाडीको सम्मानमा ‘क्भारा डि’ओर’ अभियान नै चलाइयो।
जर्जियाका विङ्गर क्भाराले स्पष्ट पारे – “मलाई लाग्छ ठुला राष्ट्रहरूका लागि एउटा सानो देशका लागि यो पुरस्कार जित्नुको अर्थ के हुन्छ भनेर बुझ्न धेरै गाह्रो छ”।
रियाल म्याड्रिडका म्यानेजर जोसे मोरिन्होले ब्राजिलका पूर्व खेलाडी रोनाल्डोसँग तुलना गरेका केलियन एमबाप्पे भने पहिलो पटक यो पुरस्कार जित्ने आफ्नो प्रयासमा अरूभन्दा अलि बढी आक्रामक देखिए।
विश्वकपको इतिहासमै सर्वाधिक गोलकर्ता बनेका फ्रान्सेली स्टार केलियन एमबाप्पेले भने – “म सधैँ आफूलाई नै सर्वोत्कृष्ट ठान्छु, तर सबैको आफ्नै धारणा हुन्छ।निश्चय नै यो वर्ष मेरो लागि ब्यालोन डि’ओर जित्ने राम्रो अवसर हुन सक्छ—तर मतदान पत्रकारहरूले गर्छन्।”
वास्तवमा सन् २०१५ मा राष्ट्रिय टोलीका कप्तान र म्यानेजरहरूले पनि मतदान गर्ने छोटो व्यवस्था अन्त्य भएदेखि ‘फ्रान्स फुटबल’ र ‘ल’इक्विप’ ले तयार पारेको तीस खेलाडीको सूचीमा फिफा वरीयताको शीर्ष सय भित्र पर्ने देशका एक-एक जना पत्रकारले मतदान गर्दै आएका छन्।
अहिले मतदानको समय सीमा सकिसकेको छ। विजेताको चयन भइसकेको छ।
ह्यारी केनलगायत शीर्ष क्लब र खेलाडीहरूसँग काम गरिसकेका स्पोर्ट्स ब्रान्ड रणनीतिकार जेम्स किर्कह्यामका अनुसार यो सम्पूर्ण माहौल एउटा राजनीतिक चुनाव जस्तै बनेको छ।
किर्कह्याम भन्छन् – “तपाईँ बाहिर निस्कनुहुन्छ, भोट माग्नुहुन्छ, आफ्नो भोट सुरक्षित गर्नुहुन्छ र निश्चित देशहरूबाट निश्चित मतहरू आफ्नो पक्षमा पार्ने सुनिश्चित गर्नुहुन्छ, अनि यसो किन नगर्ने र?”
तर यो राजनीतिक शैलीको प्रचारप्रसार सबैलाई मन परेको छैन। बायर्न म्युनिखका खेलकुद बोर्ड सदस्य म्याक्स एबर्लले ह्यारी केन र माइकल ओलिसेको समर्थन गरे पनि सबैभन्दा उत्कृष्ट खेलाडीहरू “ती हुन् जसलाई कुनै चुनावी अभियान चलाउनु पर्दैन” भनेका छन्।
यसैबिच, सन् १९९१ का ब्यालोन डि’ओर विजेता तथा एमबाप्पेका देशवासी ज्यान-पियरे पापिनले फ्रान्सेली टिभीसँग भने- “म केलियनलाई धेरै मन पराउँछु, उनी कीर्तिमान तोड्ने खेलाडी हुन्। तर एउटा यस्तो विन्दु आउँछ जहाँ सबै कुरा केवल ‘म, म, म र म’ मा मात्र सीमित हुन्छ।”
एमबाप्पेले भने लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोको एकाधिकारलाई सङ्केत गर्दै एउटा चाखलाग्दो टिप्पणी गरे। यी दुईले सन् २००८ देखि २०२३ बिचको १५ वर्षको अवधिमा कुल १३ वटा ब्यालोन डि’ओर जितेका थिए।
एमबाप्पेले भने- “ब्यालोन डि’ओर प्रतिको मेरो धारणा मेसी र रोनाल्डोको युगबाट बनेको हो। तपाईँ यो पुरस्कार साधारण खेलाडीहरूलाई दिनुहुन्न, तपाईँ यो ती खेलाडीहरूलाई दिनुहुन्छ जो अरूभन्दा फरक छन्।”
एसी मिलानका काका मेसी र रोनाल्डोको यो रस्साकस्सी सुरु हनु अघिका अन्तिम विजेता थिए। ती ब्राजिलियन खेलाडीले सन् २००७ मा यी दुई युवा जोडीलाई पछि पार्दै यो ट्रफी उचालेका थिए।
त्यो यस्तो समय थियो जब भर्खरै फेसबुक र ट्विटर जस्ता सामाजिक सञ्जालहरू सर्वसाधारणका लागि खुला गरिएका थिए। नोकियाले मोबाइल फोनको बजारमा एकाधिकार जमाएको थियो र मानिसहरू राती बाहिर निस्कँदा डिजिटल क्यामेरा बोक्ने गर्थे।
सन् २०२३ मा मेसीले आठौँ पटक यो पुरस्कार जित्दासम्म संसार पूर्ण रूपमा बदलिसकेको थियो।
रुड गुलिटदेखि मार्को भान बास्टेनको लगातार तीन जित, जर्ज वेह, आन्द्रेई शेभचेन्को र काकासम्म गरी आफ्नो क्लबका सात वटा ब्यालोन डि’ओर जितको साक्षी बनेका एसी मिलानका पूर्व कार्यकारी प्रमुख एवं खेल निर्देशक एरिएडो ब्राइडा भन्छन्- “आज हरेक कुरा प्रकाशको गतिमा अघि बढ्छ।”
निर्देशक ब्राइडा भन्छन्- “प्रशंसकहरू अहिले क्लबको साटो व्यक्ति अर्थात् खेलाडीहरूलाई पछ्याउँछन्। यो एउटा व्यापक रूपमा फैलिएको प्रणाली हो, जुन हामी राजनीतिमा पनि देख्छौँ।पहिलेका दिनहरूमा, मानिस मिलानको समर्थक हुन्थ्यो र मिलानको खेल हेर्न जान्थ्यो। आज, सबै कुरा प्रत्यक्ष प्रसारण हुन्छ र च्याम्पियन्स लिगमार्फत मानिसहरूले तुरुन्तै सबै ठुला स्टारहरूलाई हेर्न पाउँछन्।”
ब्राइडा गाडी भन्छन् – “मैले भन्नै पर्छ, यसले मलाई अलि पुराना दिनहरूको याद दिलाउँछ, किनकि अहिले घटनाहरू निकै तुरुन्तै घट्छन्। पहिलेको त्यो पर्खाइ र उत्सुकताको भावना अहिले हराइसकेको छ।”
के समर्थकहरू अहिले क्लबभन्दा प्रसिद्ध खेलाडीहरूप्रति बढी केन्द्रित देखिन्छन्?
मेसी र रोनाल्डोको उत्कृष्ट प्रदर्शन र उनीहरूको कट्टर अनलाइन समर्थक वर्गले गर्दा पनि प्रशंसक, मिडिया र उनीहरू जस्तै बन्ने सपना देख्ने खेलाडीहरूमा व्यक्तिगत कीर्तिमानहरूमाथि बढी जोड दिने प्रवृत्ति बढेको छ।
स्पोर्ट्स ब्रान्ड रणनीतिकार जेम्स किर्कह्याम भन्छन् – “तपाईँ तर्क गर्न सक्नुहुन्छ कि अहिले हामी झन् चाखलाग्दो समयमा छौँ, किनकि करिब १५ वर्षसम्म यो केवल ‘मेसी विरुद्ध रोनाल्डो’ मात्रै थियो। तर अहिले यो प्रतिस्पर्धा धेरै खुला भएको महसुस हुन्छ। यो अब एउटा फरक खेल बनेको छ।”
किर्कह्यामको अनुसार सामाजिक सञ्जालको हल्ला अत्यधिक, निरन्तर र बहकाउने खालको छ—हरेक प्रशंसकमा असीम भोक छ, हरेक विषयमा प्रतिक्रिया दिइन्छ, तर मिडियाका साना-साना माध्यमहरूमा पनि यसको प्रभाव देखिन्छ।
अहिले भिडियो क्लिपहरू भाइरल हुन्छन्—एउटा उत्कृष्ट गोल, जादुई सीप, वा लोभलाग्दो ड्रिबल—तर त्यससँगै धारणाहरू पनि भाइरल हुन्छन्।
किर्कह्याम थप्छन् – “अहिले खेल प्रसारणका क्रममा भनिएको एउटा शब्द पनि एक्स (ट्विटर) मा छाउँछ, जसलाई भिडियो सामग्री प्रस्तोताहरू र पूर्व खेलाडीहरूले रिल्स, सट्स वा स्टोरीहरूमा प्रतिक्रिया दिन्छन्। र त्यो पुनः रेडियो र टिभी स्क्रिनसम्म पुग्छ।
किर्कह्याम अनुसार यो एउटा सिङ्गो पारिस्थितिकै प्रणाली (इकोसिस्टम) हो। जसरी यसलाई विभिन्न माध्यमहरूमा फैलाइन्छ, त्यसले नै नयाँ कथ्य (न्यारेटिभ) हरूको निर्माण गर्छ।
किर्कह्याम अगाडी भन्छन् – “कसैले पनि केही गल्ती गरिरहेको छैन, केवल आफ्ना दर्शकलाई मन पर्ने कुरा सिर्जना गरिरहेको छ। तर सामूहिक रूपमा हेर्दा यो एउटा ठूलो मेसिन हो, जसले कुनै खेलाडीको पक्षमा वा विपक्षमा अत्यधिक प्रचार उत्पन्न गर्छ।”
सन् २०१५ मा मेसीले ब्यालोन डि’ओर जित्दा बार्सिलोनामा रहेका ब्राइडा पनि यसमा सहमत छन्- “आजका दिनमा मिडियाको उपस्थिति र प्रचार अति नै महत्त्वपूर्ण छ। सामाजिक सञ्जालको आगमनसँगै मेरो पालाको तुलनामा संसार पूर्ण रूपमा परिवर्तन भएको छ।
ब्राइडा भन्छन्- “विश्वव्यापी रूपमै ठूलो परिवर्तन आएको छ र आज हामी एउटा सानो ‘ग्लोबल भिजेली’ (विश्वव्यापी गाउँ) मा बसिरहेका छौँ। किनभने इन्टरनेटको माध्यमबाट तपाईँ वास्तविक समयमै जुनसुकै ठाउँमा पुग्न सक्नुहुन्छ।”
खेलाडी र क्लबहरूमा यसले पार्ने प्रभाव
माइकल ओवेनको अनुसार सन् २००१ मा जब लिभरपुलका म्यानेजर जेरार्ड हुलियरले उनलाई ब्यालोन डि’ओर जितेको खबर दिन फोन गरेका थिए।त्यति बेला २२ वर्षीय ओवेनलाई ब्यालोन डि’ओर भनेको के हो भन्ने सम्म थाहा थिएन।
ओवेनले ती तस्बिरहरू सञ्चारमाध्यममा सार्वजनिक हुनुभन्दा दुई हप्ताअघि नै लिभरपुलको मेलवुड तालिम केन्द्रमा फोटो सुट गराएका थिए। त्यसपछि डर्बी काउन्टीविरुद्धको खेलअघि जनफिल्डको मैदानमा उनलाई आधिकारिक रूपमा ट्रफी प्रदान गरिएको थियो।
सन् १९६८ मा म्यानचेस्टर युनाइटेडका जर्ज बेस्टले जितेपछि इङ्ग्लिस क्लबबाट खेल्दै गर्दा यो पुरस्कार जित्ने उनी पहिलो खेलाडी थिए। त्यो बिचको अवधिमा इटालियन, स्पेनिस र जर्मन टोलीका खेलाडीहरूको बाहुल्य रहेको थियो।
सन् १९९५ मा जब जर्ज वेह यो पुरस्कार जित्ने पहिलो र अहिलेसम्मकै एक मात्र अफ्रिकी खेलाडी बने, सन् १९५६ मा स्थापना भएदेखि त्यस बेला सम्म केवल युरोपेली खेलाडीहरू मात्र यसका लागि योग्य मानिन्थे।
सन् २००७ मा मात्र यो पुरस्कार सही अर्थमा विश्वव्यापी बन्यो, जहाँ युरोपेली टोलीको प्रतिनिधित्व गर्ने मात्र नभई जुनसुकै क्लबका खेलाडीहरू पर्न सक्ने बनाइयो। सन् २०११ देखि मात्र यसलाई एउटा भव्य समारोहका रूपमा आयोजना गर्न थालियो र सन् २०१८ मा मात्र महिला ब्यालोन डि’ओरको सुरुआत भयो।
एसी मिलानका ब्राइडा भन्छन् – “ब्यालोन डि’ओर जित्नुको अत्यन्तै सकारात्मक प्रभाव हुन्छ। हामीले एसी मिलानमा काकालाई करिब ७५ लाख युरोमा किनेका थियौँ र ६ करोड ७० लाख युरोमा [रियाल म्याड्रिडलाई] बेच्यौँ।”
ब्रा इडाका अनुसार सन् २००७ मा काकाले ब्यालोन डि’ओर जितेपछि सन् २००८ मा म्यानचेस्टर सिटीले उहाँका लागि १० करोड ५० लाख युरोको लिखित प्रस्ताव पठाएको थियो। त्यो कुनै मौखिक कुरा मात्र कुरा थिएन, त्यो एउटा आधिकारिक लिखित प्रस्ताव थियो।
ब्राइडा अगाडी थप्छन् – “हामी सायद त्यति बेला केही व्यावसायिक विकासको प्रारम्भिक चरणमै थियौँ होला। तर अहिले यसको व्यापक प्रभाव छ। त्यति बेला पनि काकाको मूल्य पाँच गुणा बढेको थियो र ब्यालोन डि’ओरको जितले उनलाई विश्वव्यापी चर्चा र प्रसिद्धि दिलाएको थियो।”
विगत २५ वर्षमा यो पुरस्कार जित्ने पहिलो इङ्ग्लिस खेलाडी र इतिहासकै पाँचौँ खेलाडी बन्ने आशा राखेका ‘थ्री लायन्स’का कप्तान ह्यारी केनका लागि यसको प्रतिष्ठा विशाल छ। अझ विशेष गरी, स्ट्यान्ली म्याथ्युजले पहिलो ट्रफी जितेको ७०औँ वार्षिकोत्सवको अवसर पारेर लन्डनमा यो समारोह आयोजना भइरहेकाले पनि यसको महत्त्व बढेको छ।
आफ्ना सम्भावनाहरूबारे संयमित रहँदै केनले गत बुधबार भनेका थिए- “यदि यसो भयो भने यो एक ठूलो उपलब्धि हुनेछ”।
केनले हालैका दिनहरूमा धेरै अन्तर्वार्ताहरू दिएका छन्। तर बायर्नको आधिकारिक सामाजिक सञ्जालमा रिटाएर्ड अङ्ग्रेजी डिफेन्डर रियो फर्डिनान्ड जस्ता अन्य पात्रहरूले नै उनको दाबीलाई अघि सारेका छन् “ब्यालोन डि’ओर!”
आखिर केन सन् १९८१ मा कार्ल-हाइन्ज रुमेनिगेले लगातार दोस्रो पटक जितेपछि बार्नका लागि यो ट्रफी भित्र्याउने पहिलो खेलाडी बन्ने होडमा छन्। तीस वर्षअघि बोरुसिया डर्टमण्डका म्याथियास सामरले जितेयता यो पुरस्कार बुन्डेसलिगामा फर्कन सकेको छैन।
बायर्नले रोबर्ट लेवान्डोस्कीको घटनालाई पनि बिर्सेको छैन, जसलाई सन् २०२० मा विजेताका स्वरूपमा व्यापक रूपमा हेरिएको थियो। उनले जर्मन टोलीलाई च्याम्पियन्स लिगसहित छ वटै उपाधि दिलाउन अतुलनीय गोल गरेका थिए, तर कोभिड-१९ महामारीका कारण समारोह नै रद्द गरियो।
त्यसको अर्को सिजन मेसीभन्दा पछि पर्दै दोस्रो स्थानमा रहेका पोल्यान्डका स्ट्राइकर लेवान्डोस्कीले गत वर्ष बिबिसी स्पोर्ट्ससँग कुरा गर्दै यो पुरस्कार “आंशिक रूपमा फुटबल र आंशिक रूपमा राजनीति” बनेको र फिफाको ‘द बेस्ट’ पुरस्कारको तुलनामा “बढी व्यावसायिक” भएको बताएका थिए।
ब्यालोन डि’ओरमा उपेक्षामा पर्नुले गहिरो चोट पुर्याउन सक्छ। सन् २०१३ मा रोनाल्डोसँग पराजित हुँदा फ्रान्सका फ्रान्क रिबेरीले आफूमाथि “डकैती भएको जस्तो” महसुस भएको बताएका थिए। त्यस्तै सन् २०२४ मा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रिले भिनिसियस जुनियरलाई पछाडि पार्दै ट्रफी जित्ने खबर पाएपछि रियाल म्याड्रिडले समारोह नै बहिष्कार गरेको थियो।
ग्लोबका अन्तर्राष्ट्रिय फुटबल पत्रकार काइके एन्ड्राडे भन्छन् – “ब्राजिलमा पनि यसको चर्चा निकै ठूलो हुन्छ। सन् २०२४ मा जब भिनिसियसले ब्यालोन डि’ओर जितेनन्, यहाँ निकै ठूलो विरोध र खैलाबैला भएको थियो।”
यो एउटा व्यक्तिगत पुरस्कार भए पनि जित्नु क्लबहरूका लागि पनि उत्तिकै ठूलो कुरा हो।
एसी मिलनका ब्राइडा स्पष्ट पर्दै भन्छन् – “यसको अर्थ क्लबका लागि लोकप्रियता, दृश्यता र वित्तीय आम्दानीका हिसाबले अतुलनीय प्रभाव पर्नु हो। आज सामाजिक सञ्जाल र फलोअर्सको वृद्धि —जसले व्यावसायिक पक्षहरूलाई आकार दिन्छ’ त्यसले गर्दा यो अझ बढी सत्य साबित भएको छ।”
एक निष्कर्ष निकाल्दै स्पोर्ट्स ब्रान्ड रणनीतिकार किर्कह्याम भन्छन्- “यो एउटा विश्वव्यापी विषय हो। यसको अर्थ बढी दर्शक र बढी ध्यान खिच्नु हो। र त्यसको सीधा अर्थ थप पैसा हो।”
(एलेक्स बायसाउथ बिबिसी स्पोर्ट्सका वरिष्ठ पत्रकार हुन्। )
श्रोत:बिबिसी
श्रोत: आइएनएस-स्वतन्त्र समाचार


