वर्षाका कारण एनपीएल प्रभावित: लुम्बिनी-चितवनको खेल रद्द, ५ ओभरको खेलमा विराटनगर विजयी

नेपाल प्रिमियर लिग अन्तर्गत हिजो शनिबार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा तय भएका खेलहरू वर्षा र भिजेको आउटफिल्डका कारण प्रभावित बनेका छन्। पहिलो खेल निरन्तरको वर्षाका कारण रद्द भयो भने दोस्रो खेल ओभर घटाएर ५ ओभरमा सीमित गरिएको थियो।

पहिलो खेल रद्द

शनिबार दिउँसो १२:३० बजे लुम्बिनी लायन्स र चितवन राइनाेसबिच तय भएको पहिलो खेल रद्द गरिएको हो। विगत तीन दिनदेखि परेको निरन्तरको वर्षाका कारण त्रिवि क्रिकेट मैदानको आउट फिल्ड पूर्ण रूपमा पानीले जलमग्न बनेको थियो। खेल मैदान खेलका लागि अनुपयुक्त र खेलाडीको सुरक्षाका हिसाबले जोखिमपूर्ण रहेकाले टस समेत हुन नसकी खेल रद्द गर्ने निर्णय गरिएको आयोजकले जनाएको छ। खेल रद्द भएसँगै दुवै टोली लुम्बिनी लायन्स र चितवन राइनाेसले १-१ अङ्क बाँडेका छन्।

दोस्रो खेल छोटो

साँझ विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिचको दोस्रो खेल वर्षा र भिजेको आउटफिल्डका कारण निर्धारित समयभन्दा झन्डै चार घण्टा ढिला गरी सुरु भएको थियो। मैदान सुकाउने प्रयास गरिए पनि पूरै २० ओभरको खेल गराउन समय अभाव भएकाले म्याच रेफ्री र टोलीहरूबिचको सहमतिमा खेललाई प्रतिओभर ५-५ ओभरमा झारिएको थियो।

यद्यपि, सुरुमा आउट फिल्ड भिजेको, खेलाडी सुरक्षा र बाउन्ड्रीको दुरी घटाएको विषयमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी तथा टोलीले असन्तुष्टि जनाउँदै मैदानबाट बाहिरिएका थिए। पछि नेपाल क्रिकेट सङ्घ (क्यान)का सचिव पारस खड्का, म्याच अफिसियल र टोली व्यवस्थापनबिच लामो छलफलपछि सहमति जुटेपछि राति ९:०० बजे टस भएर ५ ओभरको रोमाञ्चक खेल सुरु गरिएको थियो।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले ५ ओभरमा २ विकेट गुमाउँदै १०५ रनको विशाल योगफल खडा गर्‍यो। विराटनगरका लागि सेहान जयसूर्याले ११ बलमा ३९ रन र लोकेश बमले १० बलमा अविजित २९ रन बनाए भने आन्द्रे रसेलले १० बलमा २९ रनको योगदान दिए।

१०६ रनको कठिन लक्ष्य पछ्याएको सुदूरपश्चिम रोयल्सले ५ ओभरमा ३ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले २८ रन बनाए पनि टोलीलाई जिताउन सकेनन्। यससँगै विराटनगर किंग्सले ३५ रनको जित दर्ता गर्दै जारी प्रतियोगितामा आफ्नो पहिलो २ अङ्क जोड्न सफल भएको छ।

आजको खेल

एनपीएल अन्तर्गत आज साँझ ५:०० बजे ९ औँ खेलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स बीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली मैदान उत्रिएर जित दर्ता गर्ने लक्ष्यमा रहनेछन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link