कुल वस्तु निर्यात २३ प्रतिशतले घटेर एक खर्ब ४३ अर्ब पुग्यो

चालू आर्थिक वर्षको एघार महिनामा कुल वस्तु निर्यातमा २२.७ प्रतिशतले कमी आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल वस्तु निर्यातमा २२.७ प्रतिशतले कमी आई एक खर्ब ४३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५३.३ प्रतिशतले वृद्धि भएको थियो ।

गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३२.२ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १०६.७ प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ । यस्तै वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, अलैंची, ऊनी गलैंचा, तयारी पोसाकलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैकले जनाएको छ ।

यसैगरी एघार महिनामा कुल वस्तु आयातमा १६ प्रतिशतले कमी आई १४ खर्ब ८० अर्ब ९८ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७.५ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४.८ प्रतिशत, १७.१ प्रतिशत र १८.५ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, कागज, अन्य स्टेसनरी सामानलगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम.एस.विलेट, औषधी, कच्चा भटमासको तेल, अन्य मेशिनरी तथा पार्टस्लगायतका वस्तुको आयात घटेको छ ।

यसैगरी निर्याततर्पm भैरहवा, सुक्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.२ प्रतिशतले कमी आई १३ खर्ब ३७ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २५ प्रतिशतले बढेको थियो । यसैगरी समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.५ प्रतिशत रहेको थियो ।

साथै भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब ३८ अर्ब ४७ करोडबराबरको वस्तु आयात भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात दुई खर्ब ८८ करोड बराबरको भएको थियो ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
कुल वस्तु निर्यात २३ प्रतिशतले घटेर एक खर्ब ४३ अर्ब पुग्यो
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link