नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित तिलकप्रसाद सापकोटा स्मृति अन्तर मावि जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि गैँडाकोटको अक्सफोर्ड कलेजले जितेको छ।
स्वर्गीय तिलकप्रसाद सापकोटाको स्मृतिमा गैँडाकोटस्थित कालिका संस्कृत विद्यापीठको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा २–१ गोल अन्तरले विजयी हुँदै अक्सफोर्डले उपाधि जितेको हो।
यही माघ १८ गतेदेखि गैँडाकोटमा आयोजित १६ विद्यालय सहभागी प्रतियोगिताअन्तर्गत माघ २६ गते भएको फाइनल खेलमा अक्सफोर्डले जनक नमूना माविलाई २–१ गोलले हराएको हो। प्रतियोगिताको सुरुआती समयमा अक्सफोर्डका राजीव तामाङले गोल गर्दै लिएको अग्रता दोस्रो हाफमा जनकका विकास सारुले गोल गरेपछि बराबरी भएको थियो। निर्धारित समयमा दुवै तर्फबाट १–१ गोल गरी खेल बराबरी पारेपछि प्रतियोगितामा अतिरिक्त समय थप गरिएको थियो।
थप गरिएको अतिरिक्त समयको सदुपयोग गर्दै अक्सफोर्डका रिजन कँडेलले गोल गरेर उपाधि रक्षा गर्न सफल भए। अक्सफोर्ड कलेजले उपाधिसँगै रु ६६ हजार छ सय ६६ जितेको छ। प्रतियोगिताको उपविजेतामा चित्त बुझाएको जनक नमूना माविले रु ३३ हजार तीन सय ३३ हात पारेको छ।
प्रतियोगिताको समापन समारोहमा मन्तव्य राख्दै पूर्वमन्त्री एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले स्व सापकोटाको व्यक्तित्वको चर्चा गर्दै उहाँको नाम लिँदा गर्वले छाती चौडा हुने बताउनुभयो। स्वर्गीय सापकोटाले व्यक्तिगत रुपमा प्राप्तीको आशा नगरी मुलुकको परिवर्तनका लागि जीवन नै समर्पित गर्नुभएको भन्दै राजनीति, सामाजिक र शैक्षिक क्षेत्रमा परिवर्तनका लागि ठूलो योगदान पुर्याउनुभएको लामिछानेले स्मरण गर्नुभयो।
प्रतियोगिताको समापनका अवसरमा स्व सापकोटाका सुपुत्र केशवप्रसाद सापकोटाले बुवाको स्मृति दिवस पारेर आयोजना गरिएको यस प्रतियोगितालाई वर्षेनी सञ्चालन गर्नका लागि सहकार्य गर्ने बताउनुभयो। हरेक वर्ष माघ १७ गते प्रतियोगिता उद्घाटन गर्ने गरी तिलकप्रसाद सापकोटा ट्रष्टले स्ववियुसँग सहकार्य गर्दै अगाडि बढ्ने उहाँको भनाइ थियो।
प्रतियोगिताको पहिलो पुरस्कार राशि रु ६६ हजार छ सय ६६ स्व सापकोटाको परिवारले प्रायोजन गरेको थियो। प्रतियोगितामा गैँडाकोट नगरपालिका उपप्रमुख शान्ति कोइराला, कालिका संस्कृत विद्यापीठका अध्यक्ष ओमप्रसाद सापकोटा, नेपाल विद्यार्थी सङ्घ नवलपुर जिल्ला कमिटी अध्यक्ष हरि सुवेदीसहितका व्यक्तिले स्व सापकोटाको व्यक्तित्वको चर्चा गर्नुभएको थियो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणबाट गाजाको जबलिया शिविरमा रहेका २८ जनाको मृत्यु
- पाँच सय किसान जो सागसब्जी फलाएर गर्छन् आकर्षक आम्दानी
- चल्ला कोरल्न राप्तीबाट ल्याइयो घडियालका २४७ अण्डा
- के छ स्टार्टअप नीतिमा?
- एकै विषयमा पटक–पटक आदेश गर्नुपर्ने अवस्था सुखद् होइनः प्रधानन्यायाधीश
- ढाकामा रमाउँदै रितु थापामगर
- ‘इकोली’ ले माछा मरेपछि आँधीमूलमा क्षमापूजा
- डढेलोका घटनाः चैतमा १४२४ र वैशाखमा ३२७०
- स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रमका लागि १३ मिलियन यूरो
- उच्च रक्तचाप रोग नभएर रोगको कारक