संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को एसिया प्यासिफिक क्षेत्रका ३५ देशका आवासीय प्रतिनिधिहरू नेपाल आउने हुनु भएको छ।अर्थमन्त्री वर्षमान पुनको सचिवालयले दिएको जानकारीअनुसार उहाँहरू यही वैशाख १७ गते काठमाडौँ आइपुग्नु हुनेछ। युएनडिपीका तर्फबाट नेपालका लागि आवासीय प्रतिनिधि आयशानी मेडागाङ्गोडा लाबेले आज अर्थमन्त्री वर्षमान पुनसँगको शिष्टाचार भेटमा उक्त भ्रमणबारे जानकारी गराउनुभएको छ।
युएनडिपीको एसिया प्रशान्त क्षेत्रको बैठकका लागि उहाँहरू काठमाडौँ आउन लाग्नुभएको हो। बैठकका लागि संयुक्त राष्ट्रसङ्घकी सहायक महासचिव एवं युएनडिपीकी एसिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक कन्नी विग्नाराजा पनि नेपाल आउनु हुनेछ। त्यस क्रममा विग्नाराजाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थमन्त्री वर्षमान पुन र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेतलगायतसँग शिष्टाचार भेट गर्नुहुने जनाइएको छ।
यस्तै, विग्नाराजासहितको टोलीले सोलुखुम्बु क्षेत्रको भ्रमणमा गर्नेछ। त्यहाँ इम्जा ताल निरीक्षण गर्ने कार्यक्रम छ। युएनडिपीले इम्जामा हिमताल फुट्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै उक्त जोखिम घटाएको थियो। तालभन्दा तल्लो भेगमा रहेका बस्तीको सुरक्षाका लागि युएनडिपीले तालभित्र जमेको हिउँ बाहिर निकालेर तालको गहिराइ बढाएको थियो। यस्तै, युएनडिपीले दोलखाको उत्तरी क्षेत्रस्थित रोल्वालिङ उपत्यकामा रहेको नेपालको सबैभन्दा ठूलो हिमताल च्छोरोल्पाको फुट्न सक्ने जोखिम पनि घटाएको थियो। आगामी दिनमा त्यस्तै जोखिममा रहेकामध्ये सुनकोशी बेसिनका तीन र गण्डकी बेसिनका एक तालको जोखिम घटाउने योजना रहेको लाबेले बताउनुभयो।
भेटमा लाबेले युएनडिपीले नेपालको गरिबी निवारण तथा स्वास्थ्य क्षेत्रमा गरिरहेको कामबारे स्मरण गर्नुहुँदै ‘ग्लोबल ग्रिन क्लाइमेट फन्ड’को कार्यक्रम नेपालमा लागू गर्न लागेको जानकारी दिनुभयो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- खानै नहुने मात्रामा विषादीको अवशेष तरकारीमा फेला
- तीन सय वर्ष पुरानो गाउँ ‘कुञ्छाल’ पर्यटकको पर्खाइमा
- चित्रकलाबाट मुन्दुम पदमार्गको प्रवर्द्धन
- हरेक वर्ष सारस चराको संख्या घट्दै
- मेची भन्सारद्वारा दश महिनामा करिब तेह्र अर्ब राजस्व संकलन
- रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
- धार्मिक पर्यटकीय गन्तव्य बन्दै मालिका मन्दिर
- पाँचवटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- भूमेपूजापछि ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा
- गएको चार वर्ष : नेपालमा चट्याङबाट २३७ को मृत्यु, ९०८ जना घाइते
