सुन्दरीजलस्थित वाग्मतीको मुहान क्षेत्रबाटै सफाइ सुरु गरिएको छ। गुह्येश्वरीमाथिको वाग्मतीमा सफाइ गर्दै आएका अभियानकर्मीको समूहले जेठ २६ गते मुहान क्षेत्रका फोहर टिपेर अभियान सुरु गरेका हुन्।
वाग्मतीको मुहान सफा नभए तल्लो भागमा जति सफाइ गरे पनि फोहर बढिरहने भएकाले यस क्षेत्रको सफाइ गरिएको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिनुभयो। वाग्मती सफाइमात्र नभई वाग्मती बचाउ अभियान नै सुरु गर्नुपर्ने भन्दै उहाँले एक दशकअघिदेखि निरन्तर सफाइ भइरहेको बताउनुभयो।
एक दशकअघिदेखिको अभियानले चेतना जगाए पनि फोहर आफैँले व्यवस्थापन गर्न अघि नसर्दा नदी फोहर हुने क्रम भने यथावत् रहेको अभियानकर्मीको भनाइ छ। गुह्येश्वरीमाथिको वाग्मती सफाइको जेठ २६ गते पाँच सय ३८औँ हप्ता हो। अभियानले जेठ २६ गतेदेखि प्रत्येक हप्ताको शनिबार वाग्मती बचाउ अभियानका नाममा सफाइ जारी राख्न लागेको अभियानकर्मी भगवान् पुडासैनीले जानकारी दिनुभयो।
यसैगरी ‘राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ वाग्मती सफाइ महाअभियानको पाँच सय ७८औँ हप्ताको सफाइ तीनकुनेस्थित वाग्मतीमा गरिएको छ। सफाइबाट नकुहिने साढे एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो। व्यवस्थापन गरिएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको छ। सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेललगायत अभियानकर्मीको सक्रियता रहेको थियो।
विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान सुरु भएको हो। सफाइ महाअभियान सुरु भएको एक दशक पूरा हुँदा पनि वाग्मतीमा धेरै परिवर्तन आउन सकेको छैन। वाग्मतीमा काम गर्न स्थापित भएका संस्थालगायत सरोकार भएका निकायले काम नगरेसम्म स्वयंसेवी अभियानले मात्र केही हुन नसक्ने विश्लेषण हुन थालेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
