दिक्तेल बजारमा राष्ट्रिय बाँस सम्मेलनको तयारी

खोटाङ, २६ जेठः खोटाङको दिक्तेल बजारमा आगामी कात्तिकमा हुने राष्ट्रिय बाँस सम्मेलन तयारीका लागि पूर्वमन्त्री गणेश साहको संयोजकत्वमा समिति गठन गरिएको छ।  काठमाडौँमा जेठ २६ गते आयोजित सरोकार भएकाहरूको भेलाबाट पूर्व वन, वातावरण तथा प्रविधिमन्त्री साहको संयोजकत्वमा समिति गठन गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभयो।

भेलाले बाँस उद्योग सञ्चालन र पर्यावरण संरक्षण गरी स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले आगामी कात्तिक २, ३ र ४ गते दिक्तेल बजारमा सम्मेलन गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो। “दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थानीय आयोजक रहने सम्मेलनमा बाँस सोधकर्ता, उद्यमी, व्यवसायी तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहने छ। पूर्वमन्त्री साहले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ/संस्थासँग समन्वय गर्नुहुन्छ”, भट्टराईले भन्नभयो।  बाँसको क्षेत्रमा काम गर्दै आउनुभएका राष्ट्रिय बाँस अनुसन्धान तथा प्रवर्द्धन केन्द्रका अध्यक्ष केपी भट्टराईले सम्मेलनका लागि सहजीकरण गरिरहनुभएको छ।

जेठ २६ गतेको छलफलमा नेपालमा बाँसको अवस्था, महत्व, उपयोगिता र प्रवर्द्धनमा सरकारले खेल्नुपर्ने भूमिकाको विषयमा विज्ञहरूले आ–आफ्नो धारणा राख्नुभएको थियो। भेलामा पूर्वमन्त्री कल्याणी साह, काठमाडौँ विश्वविद्यालयका बाँसविज्ञ डा विष्णुमाया केसी, काठमाडौँ वन विज्ञान क्याम्पसका उपप्राध्यापक ड हिमलाल श्रेष्ठ, बाँस अनुसन्धानविज्ञ सन्तोष दाहाल, बाँस व्यवसायी प्रणव श्रेष्ठ, उद्यमी सुनिता म्हेम्हाफुकी, समाजसेवी डा चिरञ्जीवी भट्टराई, नवकिरण ऊर्जाका राष्ट्रिय अध्यक्ष गुणराज ढकाललगायतको उपस्थिति रहेको थियो। भेलामा बाँसको विकास, व्यावसायिकता तथा बाँस उद्योगमा रोजगारी सिर्जना गरेर नागरिकलाई कसरी जोड्न सकिन्छ भन्नेबारेमा छलफल भएको नगरप्रमुख भट्टराईले जानकारी दिनुभयो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघिबाटै बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सागम्रीको प्रवर्द्धन गर्दै आएको छ। उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवं उद्यमीलाई तालिम तथा सामग्री उपलब्ध गराउँदै आएको छ भने उत्पादित सामग्री दिक्तेलस्थित सपिङ कम्प्लेक्समा सञ्चालित कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ। नगरप्रमुख भट्टराई र उपप्रमुख विशन राईले आफ्नो कार्यकक्षमा बाँसकै फर्निचर प्रयोग गर्नुभएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link