वर्षाः खाँदबारीमा तीन घर बगायो, ताप्लेजुङमा सडक अवरुद्ध

सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ। करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन्।

पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो। बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो।

पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन्। त्यस्तै चट्याङ लागेर चिचिला गाउँपालिका–२ आहालेकी सावित्रा गुरुङको मृत्यु भएको छ।

खाँदबारी नगरपालिका– ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा कम्तीमा एक सय १० परिवारलाई प्रत्यक्ष असर परेको वडा नं ६ अध्यक्ष अर्जुनकुमार तामाङले जानकारी दिनुभयो। खेतबारीमा ठूलाठूला ढुङ्गा थुप्रिएर बगरमा परिणत भएका छन्।

डुङ्डुगे आकाशे सिँचाइ र हिँगुवा कुलो सिँचाइमा बाढी पसेपछि ती परिवार जोखिममा परेका हुन्। धुपू बाह्रबीसे जोड्ने माल्टा खोलामाथिको पक्की पुल जोखिममा परेको छ। खाँदबारी–४ सेकाहामा चार घर पहिरोबाट विस्थापित बनेका छन्। पहिरोबाट विस्थापित बनेका छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन्।

वर्षा धेरै भएकाले नदी किनारा, भिरपहरामा बसेकालाई सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले आग्रह गरेको छ। उद्धारका लागि सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखिएको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ।

बाढीले कम्तीमा रु तीन करोड बढीको क्षति पारेको अनुमान गरिएको जनाइएको छ। क्षतिको तथ्याङ्क भने गाउँस्तरमा भइरहेको छ। त्यस्तै चिचिला, मकालु र भोटखोला गाउँपालिका जोड्ने कोसी राजमार्गअन्तर्गत मुढे–नुम र ठूलोढुङ्गा–अरुणथान सडकखण्डमा भएको अवरुद्ध हटाउने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

ताप्लेजुङमा सडक अवरुद्ध

ताप्लेजुङमा बुधबार राति वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिकाका विभिन्न ठाउँमा पुल बगाएको छ। बाढीले चार ठाउँमा पुल बगाएपछि तमोर करिडोरअन्तर्गतको सदरमुकाम फुङलिङबाट तापेथोक–लेलेप जोड्ने सडक अवरुद्ध भएको हो।

बाढीले फक्ताङलुङ गाउँपालिकामा पर्ने सिसवा खोला, तावा खोला र सिस्ने खोलामा रहेका पुल बगाएको स्थानीय सुसन लिम्बूले जानकारी दिनुभयो। तावा खोलामा रहेको बेलिब्रिज र काठबाट निर्मित मोटरेवल पुल बाढीले बाढीले बगाएको हो। सो स्थानमा बुधबार रातभर वर्षा भएको थियो।

बाढीले पुल बगाएपछि फक्ताङलुङ गाउँपालिकाको केन्द्र रहेको तापेथोकसहितका क्षेत्रमा सडक अवरुद्ध भएको छ। त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ। सिसावा खोलामा जेठ ३१ गते बिहान आएको बाढीले तमोर नदी केहीबेर थुनिएको थियो। अहिले नदीको पानी निकास भइरहेको छ। सो क्षेत्रमा प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

पानी थुनिएकोभन्दा तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन  सूचना जारी गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताउनुभयो। ताप्लेजुङमा अधिकांस क्षेत्रमा बुधबार रातभर वर्षा भएको थियो। वर्षाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढेको छ। केही ठाउँमा पहिराले अलैँचीसहितका बालीनालीमा क्षति पुगेको स्थानीयले बताएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link