प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले विजयादशमीको अवसरमा देश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा विजयादशमीको अवसरमा शुभकामना सन्देश दिँदै भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
उनले यो पर्व असत्यमाथि सत्यको विजयको उत्सव भएको उल्लेख गरेका छन्। पौराणिक मान्यताअनुसार दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको दिनका रूपमा विजयादशमी मनाइने उनले बताएका छन्।
उनले विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले सत्कर्ममा विजय प्राप्त गर्ने प्रेरणा दिने बताएका छन्। टाढा रहेका मान्यजनलाई समेत खोजीखोजी भेट्न जाने परम्पराले पारिवारिक आत्मीयता र सम्बन्धलाई थप बलियो बनाउने उनको भनाइ छ।
उनले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक सोच त्याग्न प्रेरित गर्ने उल्लेख गरेका छन्। साथै, समाजमा विद्यमान भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गरी हरेक नागरिकलाई सरकार आफ्ना लागि रहेको अनुभूति गराउन आवश्यक रहेको बताएका छन्। परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट मात्रै समाजमा रहेका विकृति हटाउन सकिने बताएका छन्।
विविधतायुक्त नेपाली समाजमा विजयादशमीले सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एकताको सूत्रमा बाँध्ने तथा लामो समयदेखि टाढिएका साथीभाइ र आफन्तसँग आत्मीयता साटासाट गर्ने अवसर प्रदान गर्ने पनि उनले उल्लेख गरेका छन्। उनले सबैलाई आआफ्नो स्थान र क्षमताअनुसार विजयादशमी मनाउन आग्रह गर्दै आपसमा सद्भाव, एकता, सम्मान र माया साटासाट गर्न आह्वान गरेका छन्।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मेसिनले सहज बनाएको पुर्ख्यौली सीप : माटोमै भविष्य खोज्दै श्रीराम
- दमौली जानुपर्ने बाध्यताको अन्त्य, शुक्लागण्डकीबाटै करसम्बन्धी सेवा
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- देशभर आज मौसम मुख्यतया सफा, केही क्षेत्रमा आंशिक बादल
- अपी हिमाल
- आफ्नै लगानीमा च्याउ उद्योग: बर्दिबासदेखि इटहरीसम्म बजार जोड्दै महोत्तरीका युवा
- भारतमा प्रधानमन्त्री बालेन्द्र शाहको व्यस्त दोस्रो दिन: राष्ट्रपति भवनमा राजकीय स्वागतदेखि मोदीसँग द्विपक्षीय वार्तासम्म
- पोचेटिनोको खराब सुरुवात, युनाइटेड ४-० ले पराजित
- आजको लागि विदेशी मुद्राको विनिमय दर
- सोमबारको मौसम: उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली