छठको रौनक: आज अस्ताउँदो सूर्यको आराधना गरिँदै

लोक आस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्।

मिथिलाञ्चलमा चार दिनसम्म मनाइने छठ पर्व गत शुक्रबार कात्तिक शुक्ल चतुर्थीका दिन ‘नहाय–खाय’ विधिबाट सुरु भएको हो। कात्तिक शुक्ल पञ्चमीका दिन दिनभर उपवास बसेर राति सख्खरमा पकाइएको खिर इष्टदेवलाई अर्पण गरी प्रसादका रूपमा ग्रहण गर्ने विधिलाई ‘खरना’ भनिन्छ। खरना सम्पन्न गरेपछि व्रतालुको निराहार व्रत सुरु हुने परम्परा छ।

भगवान् सूर्य र सूर्यपत्नी षष्ठी अर्थात् छठी देवीको आराधना गरिने यस पर्वमा आज साँझ पवित्र जलाशयमा बनाइएका घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिइन्छ। मिथिलामा यस विधिलाई ‘सझियाअरख’ वा ‘सझियाघाट’ भनिन्छ।

अर्घ्यका लागि घरघरमा ठकुवा, भुसुवालगायत मिष्ठान्न परिकार तयार गरिएका छन्। व्रतालुले जटासहितको नरिवल, केरा तथा अन्य फलफूल र प्रसादका सामग्री सूर्यदेवलाई अर्पण गर्नेछन्।

साँझको अर्घ्य दिएपछि व्रतालु रातभर जलाशय किनारमा बसेर छठी देवी र सूर्यको महिमासम्बन्धी गीत गाउने परम्परा छ। भोलिपल्ट सोमबार बिहान सूर्योदय हुनुअघि नै व्रतालु जलाशयमा कम्मरसम्म डुब्ने गरी पानीमा बसेर सूर्य उदाउने प्रतीक्षा गर्छन्। उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चार दिने पर्व सम्पन्न हुन्छ। मिथिलामा बिहानको यस विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।

सूर्य र छठी देवीको उपासनाबाट मनोकामना पूरा हुने, सुख–समृद्धि प्राप्त हुने, सन्तानबाट सुख मिल्ने तथा रोग व्याधिबाट मुक्ति पाइने जनविश्वास छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link