सामुदायिक वनको आम्दानीले विकास निर्माणका काम, तीन प्रतिशत ब्याजमा आयआर्जन कोष सञ्चालन

विकास निर्माणका काममा राज्यको मुख ताक्नुपर्ने स्थितिबाट अर्घाखाँचीको शीतगंगा नगरपालिका–१३ को भंगाला गाउँ मुक्त छ। विकट बस्ती भनेर चिनिने ३४ घरपरिवार रहेको भंगाला गाउँस्थित धिरीखोला सामुदायिक वनको आम्दानीबाटै विकास निर्माणका थुप्रै कामहरू भएका छन्।
धिरीखोला सामुदायिक वन उपभोक्ता समूहको आम्दानीबाट

मोटरबाटो, सिँचाइ योजना, खानेपानी, विद्यालय भवन निर्माण, इन्टरनेट विस्तार, विद्युत् विस्तारलगायतका विकास निर्माणका काम सम्पन्न भएको सामुदायिक वनकी अध्यक्ष रेमकला गुरुङले बताउनुभयो।

गुरुङका अनुसार यहाँ मोटरबाटो निर्माण तथा मर्मत कार्यमा झन्डै २० लाख रुपैयाँ खर्च भएको छ। मोटरबाटो बनेपछि अहिले गोरुसिङे–सन्धिखर्क सडकको डोहोटेबाट भंगाला गाउँ पुग्न सहज भएको छ। यस्तै भंगाला गाउँका भित्री सडक पनि निर्माण तथा मर्मत भएका छन्। अध्यक्ष गुरुङ बताएअनुसार यो वर्ष २५ लाख र विगतका वर्षमा ३५ लाख गरी ६० लाख रुपैयाँको लगानीमा भंगाला सिँचाइ योजना सम्पन्न भएको हो। यो योजनाबाट ५५ बिगाहा खेतमा सिँचाइ सुविधा पुगेको छ। अन्नवाली तथा मौसमी–बेमौसमी तरकारी पनि उत्पादन हुन थालेको छ।

यसैगरी गाउँमा रहेको बालुकण्ठ आधारभूत विद्यालयमा केही वर्षअघि १२ लाखको लागतमा ५ कोठे भवन निर्माण पनि सामुदायिक वनको आम्दानीबाट गरिएको सामुदायिक वनका पूर्वअध्यक्ष नारायण पौडेलको भनाइ छ। विद्यालय भवनको अभावमा प्रभावित भएको पठनपाठन भवन निर्माणपछि सुचारु भएको छ।

‘खानेपानी मर्मतमा वार्षिक ३० हजार हाराहारीमा खर्च हुन्छ,’ पूर्वअध्यक्ष पौडेलले भन्नुभयो, ‘गाउँमा ७ लाखको लागतमा भगवतीको मन्दिर निर्माण

गरिएको छ। गाउँमा आवश्यक विकासका काम गर्न राज्यको मुख ताक्नु पर्दैन। सामुदायिक वन सक्षम भएको खण्डमा यसैबाट धेरैथोक गर्न सकिन्छ भन्ने उदाहरण यो वनले प्रस्तुत गरेको छ।’

उपभोक्ताको आय आर्जन बढाउनमा पनि वनले सहयोग गरेको छ। तरकारी खेती, गाईभैँसी पालन, बाख्रापालन तथा बुंगुर पालन गर्ने कृषकहरूलाई वार्षिक ३ प्रतिशत ब्याजदरमा ऋण लगानी पनि गरिएको सामुदायिक वनका कार्यालय व्यवस्थापक गुणनिधि भुसाल बताउनुहुन्छ। ‘भैंसी पालनका लागि १६ जना, बाख्रा पालनका १३ जना, कुखुरा पालनमा ५ जना र बंगुर पालनमा ३ जनाले वार्षिक ३ प्रतिशत ब्याजदरमा ऋण लिएका छन्,’ भुुसालले जानकारी दिनुभयो।

उपभोक्ता तथा कृषक वसन्तप्रसाद भुसालका अनुसार भैँसीपालनका लागि वार्षिक ३ प्रतिशत ब्याजदरमा ७० हजार रुपैयाँ ऋण लगेको बताउनुभयो। दूध बिक्री गरेर आम्दानी गरिरहेको उहाँको भनाइ छ।

यसैगरी सामुदायिक वनले कृषि तथा पशुपालन गर्ने उपभोक्ताको हितलाई ध्यानमा राखी उनीहरूको मागका आधारमा हाते ट्याक्टर वितरण, घास काट्नको लागि चाप कटहर वितरण गरेको छ। वैदेशिक रोजगारीबाट फर्किएका ७ जनाले सस्तो ब्याजमा ऋण लिई विभिन्न पशुपन्छी पालनसमेत गरका छन्। यसैगरी धिरीखोला सामुदायिक वनले विदेशबाट फर्किएका दुई जनालाई अटो रिक्सा खरिदका लागि निब्र्याजे ऋणसमेत दिएको छ।

गाउँमा विकासित र युवालाई स्वरोजगार बनाउन लागिपरेको सामुदायिक वनले एक वर्षमा केके काम गर्ने भनी उपभोक्ताको भेलाबाट वार्षिक कार्ययोजना बनाउँछ। त्यसपछि मात्रै विकास निर्माण तथा वन संरक्षणका काम गर्दै आएको सामुदायिक वनकी सचिव पवित्रा रानाले जानकारी दिनुभयो। ‘सामुदायिक वनको आम्दानीको ४० प्रतिशत वन संवद्र्धन प्रणालीमा, ३५ प्रतिशत उपभोक्ताको आय आर्जनमा र २५ प्रतिशत सामाजिक विकासका कार्यमा खर्च हुन्छ,’ रानाले भन्नुभयो, ‘एक करोड दुई लाखको गरिबी निवारण आर्य आर्जनको कोष राखिएको छ। सोही रकमको व्याजबाट विभिन्न अनुदानसमेत वितरण गरिन्छ।’

यस्तै उपभोक्ता समूहभित्रका घरपरिवारमा सुत्केरी भएमा सामुदायिक वनले ५ देखि १० हजारसम्म सुत्केरी खर्चसमते वनकले दिँदै आएको छ। साथै अपांगता भएका व्यक्तिको मनोबल बढाउन वार्षिक ५ देखि १० हजार रुपैयाँले सम्मान पनि गर्दै आएको छ। सबै सामुदायिक वनको आम्दानीबाटै हुँदै आएको छ।

उदाहरणीय धिरीखोला सामुदायिक वनले आगलागीबाट बचाउन हेरालु राख्ने, सूचनामूलक सन्देश दिने र चोरी–तस्करी रोक्न तारबार पनि गरेको छ।

वार्षिक काठ–दाउरा बिक्रीबाट ८० देखि ९० लाख रुपैँया आम्दानी गर्दै आएको यस वनले सरकारलाई २५ प्रतिशत कर पनि तिर्दै आएको छ। बाँकी रकमबाट विभिन्न विकास निर्माण, स्वरोजगारमूलक कामहरू र वन संरक्षणका काम गर्दै आएको अध्यक्ष गुरुङको भनाइ छ।

२०६३ सालमा स्थापना भएको यस सामुदायिक वन २ सय ७ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यो अहिले वन संवर्द्धन प्रणालीमा आधारित छ। पुराना रुख काट्ने नयाँ रुख रोप्ने र जंगलमा सबै प्रजातिका रुख लगाउने उद्देश्यसहित वन व्यवस्थापन कार्य शुभारम्भ भएको हो।

‘वन व्यस्थापन भनेको बूढा रुखहरू काट्ने मात्र होइन, ठूलो रुख काटेको स्थानमा नयाँ बिरुवा कसरी उमार्ने, त्यसको संरक्षण तथा रेखदेख कसरी गर्ने, कसरी मोटो बनाउने र कसरी सदुपयोग गर्ने भन्नेसम्मको अवधारणासहित धिरीखोला सामुदायिक वन सुरु भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख ईश्वरीप्रसाद पौडेलले बताउनुभयो।

धिरीखोला वन नेपालकै उत्कृष्ट सामुदायिक वनका रुपमा समेत पुरस्कृत भइसकेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

सामुदायिक वनको आम्दानीले विकास निर्माणका काम, तीन प्रतिशत ब्याजमा आयआर्जन कोष सञ्चालन
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link