सिमेन्ट उद्योगमार्फत हुने कार्वन उत्सर्जनको मात्रालाई रोक्दै नेपालमा सञ्चालित सिमेन्ट उद्योगमार्फत पर्यावरणीय भविष्य खोज्नका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। खानी तथा भूगर्भ विभाग र सिमेन्ट उत्पादक सङ्घले भारतको टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्टसँग नेपालमा चुनढुङ्गा क्याल्साइन माटोको प्रविधि (एलसी३) प्रयोग गरी सिमेन्ट उत्पादन गर्नेसम्बन्धी समझदारीपत्रमा सोमबार साँझ हस्ताक्षर गरेको हो।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवद्वय मुकुन्दप्रसाद निरौला र नारायणप्रसाद शर्मा दुवाडीको उपस्थितिमा खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरे, सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुव थापा र टेक्नोलोजी एण्ड एक्सन फर रुरल एडभान्समेन्टका उपाध्यक्ष सौमेन माइतेबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। चुनढुङ्गा क्याल्साइन माटोको प्रयोगमार्फत सिमेन्ट उत्पादन (लाइमस्टोन क्यालसाइन क्ले सिमेन्ट-एलसी३) गर्दा कार्वन उत्सर्जनमा ४० प्रतिशत कमी आउनुका साथै कोइलाको खपतमा समेत कमी आउने खानी विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताउनुभयो। उक्त प्रविधिलाई स्वीस सरकार विकास सहयोग (एसडिसी) ले सहयोग गरेको छ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव निरौलाले चुनढुङ्गाको प्रयोगमार्फत सिमेन्ट उत्पादन गर्दा त्यसबाट निस्कने कार्वनले वातावरणमा नराम्रो प्रभाव पारेको भन्दै त्यसलाई कमी गर्न नयाँ प्रविधिले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उक्त प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्दा चुनढुङ्गाको प्रयोगमा समेत कमी आउने उहाँको भनाइ थियो।
मन्त्रालयका अर्का सचिव दुवाडीले नयाँ प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्दा मुलुकको अर्थतन्त्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले वातावरणीय सिमेन्ट उत्पादनका लागि सम्झौतामात्र नभई यसलाई कार्यान्वयनमा लैजान सके देशको सिमेन्ट उद्योगलाई सहयोग पुग्ने बताउनुभयो।
विभागका सिनियर जियोलोजिष्ट नारायण बाँस्कोटाले सन् २०१३ मा स्वीजरल्याण्डमा सुरु गरिएको उक्त प्रविधिलाई भर्खरै नेपालमा भित्र्याउन लागिएको बताउनुभयो। उक्त प्रविधिमार्फत सिमेन्ट उत्पादन गर्नसके कोइला आयातमा बर्सेनि बाहिरिने ठूलो रकमसमेत बचत हुने देखिन्छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आजदेखि शुक्र अस्त: के गर्नुहुन्छ, के गर्नु हुँदैन ?
- मुआब्जाको सहमतिपछि पुनःसञ्चालनमा जलविद्युत् आयोजना
- अन्तत: नौ महिनापछि अन्तरिक्षबाट फर्किए सुनिता र बुच
- दुई सय ३६ ह्याचरी उद्योग बन्द
- अधिकांश क्याम्पसमा स्ववियु निर्वाचन आज, विश्वविद्यालय क्याम्पसमा चैत ८ गते
- आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
- आजको मौसम : पश्चिमी वायुको आंशिक प्रभाव
- अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प
- जुनमा हुने जी–७ शिखर सम्मेलनमा जेलेन्स्कीलाई क्यानडाका प्रधानमन्त्री कार्नीको निमन्त्रणा
- सोलुखुम्बुमा हावाहुरीको वितण्डा
