‘भारतको सामूहिक अभिव्यक्ति’ बोकेर हेम राना

तीस वर्षअगाडि रोजगारीको सिलसिलामा भारत पुग्नुभएका हेम रानाले नेपालमा ‘भारतको सामूहिक अभिव्यक्ति’को पहिलो प्रदर्शनी गरिरहनुभएको छ। गत वर्षको अन्तिममा बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा सुरु गरिएको प्रदर्शनीमा अमित कल्ला, सिआर एम्ब्राम, हिम्मत ग्यारी, एमडी सुलेमान, रवि ठाकुरलगायत १२ चित्रकारका चित्र छन्।

रङ्गमञ्च र चित्रकलालाई मनोरञ्जनका प्रारम्भिक क्षेत्र मानिए पनि युवाको आकर्षण भने कम देखिन्छ। यद्यपि भारतमा केही वर्षयता प्रदर्शनी व्यवस्थापन गर्ने काम (क्युरेट) गरिरहनुभएका रानाले लामो प्रयासपछि नेपालमा भारतीय कलाकारका अमूर्त शैलीका चित्र प्रदर्शनी गर्न सम्भव भएको बताउनुभयो।

“भारतमा चित्रकला प्रदर्शनी गरे पनि नेपालमा आउन समय नै लाग्यो। मलाई सिद्धार्थमै प्रदर्शनी गर्नु थियो। गत वर्षदेखि योजना बनाएर अहिले प्रदर्शनी भइरहेको छ”, रानाले भन्नुभयो, “यहाँ राखिएका चित्रले भारतीय संस्कृतिलाई व्यक्त गरेको छ। एउटा कलाकारका लागि यो प्रदर्शनीले लाभ दिनेछ।”

आफू जन्मेको देश नेपाल र कर्म दिएको देश भारतबीच सांस्कृतिक साइनो प्रगाढ पार्न यस्ता प्रदर्शनी सहयोगी विश्वास उहाँको छ। रानाले चित्रकलामा निरन्तरता दिएमा भविष्य उज्ज्वल रहेको बताउनुभयो। “चित्र बनाउन गाह्रो छ, त्यसलाई ग्यालरीसम्म ल्याउन झन् गाह्रो तर निरन्तरता दिएमा अवश्य सफल भइन्छ। हाम्रो समूहमा केही नयाँ र केही पुराना छन्, उनीहरूको अनुभवले पनि यसलाई निरन्तरता दिन प्रेरणा दिन्छ”, उहाँले भन्नुभयो।

हेम राना

उहाँका अनुसार ग्यालरीमा विभिन्न उमेरका दर्शक प्रदर्शनी अवलोकन गर्न आइरहेका छन्। यद्यपि सङ्ख्यात्मक रुपमा परिपक्क अनुहारलाई बढी देखिएको बताउनुभयो। पहिलो प्रदर्शनीमार्फत उत्साहित राना वार्षिक रुपमा एउटा प्रदर्शनी नेपालमा गर्ने तयारीमा हुनुहुन्छ।

दुई देशको सम्बन्ध र सद्भावलाई चित्रकलाको माध्यमले बढाउन यस्ता प्रदर्शनी उपयोगी हुने कलाकार एससी सुमनले बताउनुभयो। उहाँले भन्नुभयो, “भारतबाट बाह्र जना आएर आफ्नो अभिव्यक्तिलाई चित्रकलामार्फत व्यक्त गर्नुभएको छ। यसले कला र संस्कृतिलाई आदानप्रदान गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। निकट भविष्यमा हामी पनि नेपाली कलाकार लगेर भारतमा प्रदर्शनी गर्ने तयारीमा छौँ।”

पछिल्लो समय नेपालमा चित्रकलामा सम्भावना देखिएको उहाँको विश्लेषण छ। गत वर्ष विसं २०८० मा भएका गतिविधिले यस वर्ष निरन्तरता पाउने मात्र नभई बृहत् रुप लिने उहाँको विश्वास छ।

“गत वर्ष नेपालका सातै प्रदेशमा भएको प्रदर्शनीले स्थानीय चित्रकलालाई अगाडि आउन मद्दत गर्‍यो। अहिले प्रदर्शनी बढिरहेका छन्, यसले कलाकारलाई ग्यालरीसम्म ल्याउन ठूलो मद्दत गरेको छ”, कलाकार सुमनले भन्नुभयो। गत चैत २७ गतेदेखि सुरु भएको प्रदर्शनी यही वैशाख १० गतेसम्म चल्नेछ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link