सिँचाइ सुविधा विस्तार भएपछि भोजपुरको पौवादुङमा गाउँपालिका–१, श्यामशिला चाँपेका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । पोखरी निर्माणपछि एकैसाथ २१ घरपरिवारलाई सिँचाइ सुविधा पुगेपछि यहाँका किसान व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् ।
स्थानीय किसान भरतबहादुर कार्कीले सिँचाइ सुविधा विस्तार भएसँगै करिब तीन रोपनीमा व्यावसायिक तरकारी खेती सुरु गरेको जानकारी दिए। बन्दाकोभी, काउली, मटरकोसा, लसुन, मूला, धनियाँ, आलु, तोरीलगायत विभिन्न नगदेबाली उत्पादन गर्दै आएको उनले बताए।
“टोलमा सिँचाइ सुविधा विस्तार भएपछि खेती गर्न सहज भएको छ”, किसान कार्कीले भने, “विगतमा पानीको अभावले समस्या थियो । अहिले पोखरी निर्माणपछि तरकारी खेतीमा सक्रिय भएका छौँ ।”
गाउँपालिकाले सञ्चालन गरेको प्राविधिक सेवा तथा विभिन्न अनुदान कार्यक्रमले व्यावसायिक तरकारी खेतीलाई थप प्रोत्साहन मिलेको कार्कीको भनाइ छ । सिँचाइ पोखरी निर्माण गरेर पानी वितरण गरिएपछि किसानले वर्षौँदेखि भोग्दै आएको सिँचाइ समस्या समाधान भएको छ । हाल टोलमा तीनवटा ठूला सिँचाइ पोखरीमार्फत पानी वितरण भइरहेको छ ।
पौवादुङमा –१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईका अनुसार प्रदेश सरकारबाट क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरी सिँचाइ सुविधा विस्तार गरिएको हो । “यस क्षेत्रमा सिँचाइ अभावले किसानलाई समस्या थियो”, उनले भने, “तरकारीलगायत कृषि उत्पादनका लागि यो क्षेत्र उपयुक्त भएकाले अब किसानले सहज रूपमा खेती गर्न सक्ने अवस्था बनेको छ ।”
सिँचाइ सुविधा विस्तारसँगै स्थानीय किसान व्यावसायिक रूपमा नगदेबाली खेतीमा जोडिन थालेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । उनका अनुसार सिँचाइ विस्तारपछि किसानले कृषि कर्ममार्फत आयआर्जन गर्न सक्ने वातावरण बनेको छ । सडक सञ्जालको राम्रो पहुँच रहेकाले यहाँ उत्पादित तरकारी बिक्रीमा पनि सहजता भएको उनको भनाइ छ ।
गाउँपालिका अध्यक्ष किरण राईले गाउँपालिकाभित्रका कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारलाई प्राथमिकतामा राखेर काम भइरहेको जानकारी दिए। किसानलाई व्यावसायिक बन्न प्रोत्साहन गर्ने उद्देश्यले आवश्यक अनुदान तथा प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
अध्यक्ष राईका अनुसार कृषि उत्पादनबाट आत्मनिर्भर बनाउने लक्ष्यसहित ‘एक घर, एक टनेल’ कार्यक्रमसँगै सिँचाइ पोखरी निर्माणलाई अघि बढाइएको छ । गाउँपालिकामा भूगोल र माटो सुहाउँदो जैविक खेतीमा जोड दिँदै उत्पादित कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सेवासमेत सञ्चालनमा ल्याएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ऐतिहासिक निर्वाचन सम्पन्न: प्रधानमन्त्रीद्वारा नेपाली जनता र सरोकारवालाको प्रशंसा
- मतगणना सुरु हुँदै : १६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयमा गणना
- मतदान सकियो, मतगणना तयारी : काठमाडौंका १० क्षेत्रमा यी स्थानमा गणना
- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२: देशभर उत्साहजनक रूपमा मतदान सम्पन्न, करिब ६० प्रतिशत मत खस्यो
- देशभर शान्तिपूर्ण रूपमा मतदान
- किरियापुत्रीद्वारा मतदान
- राष्ट्रपति र उपराष्ट्रपति मतदानमा सहभागी भएनन्
- काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण मतदान जारी
- पुन सञ्चालनमा आयो : इजरायलको मुख्य विमानस्थल
- १०७ वर्षीय रावतले गरे मतदान