आइपिएल: दिल्ली क्यापिटल्समाथि रोयल च्यालेन्जर्स बेंगलुरुको सानदार जित

इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत हिजो सोमबार भएको ३९ औँ खेलमा साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले दिल्ली क्यापिटल्सलाई ९ विकेटको भारी अन्तरले पराजित गर्दै कीर्तिमानी जित हात पारेको छ। दिल्लीको घरेलु मैदान अरुण जेटली स्टेडियममा भएको यस खेलमा बेंगलुरुका बलरहरूको घातक बलिङ सामु दिल्लीको ब्याटिङ तासको महल झैँ ढल्यो।

टस जितेर पहिले बलिङ गर्ने बेंगलुरु कप्तान रजत पाटीदारको निर्णयलाई बलरहरूले सही साबित गरिदिए। दिल्लीले पावरप्लेमै मात्र १३ रन जोड्दा ६ महत्त्वपूर्ण विकेट गुमाएर आइपिएल इतिहासकै खराब सुरुवात गर्‍यो। जोस हजलउड र भुवनेश्वर कुमारको जोडीले दिल्लीका कुनै पनि ब्याटरलाई क्रिजमा टिक्न दिएनन्। दिल्ली १६.३ ओभरमा मात्र ७५ रनमा अलआउट भयो। दिल्लीका लागि अभिषेक पोरेलले सर्वाधिक ३० रन र डेभिड मिलरले १९ रन बनाए भने अन्य ब्याटरहरूले दोहोरो अङ्क समेत जोड्न सकेनन्।

बेंगलुरुका लागि जोस हजलउडले ३.३ ओभरमा १२ रन खर्चेर ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ ओभरमा मात्र ५ रन खर्चेर ३ विकेट लिए।

७६ रनको झिनो लक्ष्य पछ्याएको बेंगलुरुले मात्र ६.३ ओभरमा १ विकेट गुमाएर जित हासिल गर्‍यो। ओपनर देवदत्त पडिक्कलले विस्फोटक ब्याटिङ गर्दै १३ बलमा ३४ रन (३ चौका, ३ छक्का) बनाए। विराट कोहलीले १५ बलमा २३ रन जोड्दै टोलीलाई जित दिलाए। सोही क्रममा विराट कोहलीले आइपिएल इतिहासमा अर्को एउटा ठुलो व्यक्तिगत कोशे ढुङ्गा (९००० रन) समेत पार गरेका छन्।

दिल्लीका तर्फबाट एक मात्र विकेट काइल जेमिसनले लिए। घातक बलिङ गरेका जोस हजलउड खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। यस जितसँगै बेंगलुरुअङ्क तालिकामा बलियो स्थानमा उक्लिएको छ भने दिल्लीको लागि प्लेअफको बाटो थप कठिन बनेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link