म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकस्थित टपरी एग्रोकी प्रबन्ध सञ्चालक जमुना आचार्य जलजला गाउँपालिकाको सर्वोत्कृष्ट उद्यमी घोषित भएकी छन् ।
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय, जलजला गाउँपालिका र दायित्व संस्थाको सहकार्यमा सञ्चालित वृद्धिमुखि उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रमअन्तर्गत शुक्रबार गाउँपालिकाको कार्यालय लामाखेतमा आयोजित लगानी प्रस्तुतीकरण कार्यक्रममा उत्कृष्ट अंक प्राप्त गरेपछि आचार्यलाई नगद रु. एक लाख ५० हजारसहित सम्मान गरिएको हो ।
बाल्यकालमै देब्रे हात गुमाएकी आचार्यले स्थानीय कृषि तथा पशुजन्य उत्पादनको सङ्कलन, प्रशोधन र बजारीकरणका लागि सामूहिक रूपमा टपरी एग्रो सञ्चालन गर्दै आएकी छन् । मूल्याङ्कन समितिको सिफारिसका आधारमा उनको व्यावसायिक योजना र प्रस्तुति सर्वोत्कृष्ट ठहरिएको दायित्व संस्थाका गण्डकी प्रदेश प्रमुख विजय जिसीले जानकारी दिए ।
कार्यक्रममा उत्कृष्ट १० मा परेका अन्य नौ जना उद्यमीलाई पनि जनही रु। एक लाखका दरले पुरस्कार प्रदान गरिएको थियो । ९ वडाबाट प्राप्त एक सय ५४ आवेदनमध्ये विभिन्न सूचकका आधारमा चरणबद्ध छनोट गरी अन्तिम १० उद्यमीलाई लगानी प्रस्तुतीकरणका लागि छनोट गरिएको जलजला गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए ।
टपरी एग्रोका आचार्यसँगै जलजला कृषि तथा पशुपंक्षी फर्मकी शुभकुमारी कार्की, अभिषेक तरकारी तथा पशुपंक्षी फर्मकी सावित्री खत्री, थापा लोकल मार्टकी कमला बानियाँ थापा, मल्ल ढाका उद्योगकी उषा मल्ल, गोमा गाइभैँसी फर्मका तोपबहादुर क्षेत्री, पाईजा अर्ग्यानिक फलफुल तथा पशुपंक्षी फर्मकी बसन्ती पाईजा, पाईजा नर्सरी फर्मका नरबहादुर पाईजा, राधादेवी पशुपंक्षी तथा कृषि फर्मकी राधिका भुसाल र श्रीहरि सुन्तला बगैँचा तथा पशुपंक्षी फर्मकी ताराकुमारी रेग्मीले उद्यमको सुरुवातको इतिहास, चुनौती, सफलता, अनुभव र भावी योजना प्रस्तुत गरेका थिए ।
एक सय ५४ जनाबाट पहिलो चरणमा छानिएका ४० जनालाई तालिम दिएर व्यावसायिक योजना तयार गर्न लगाएर दोस्रो चरणमा २० जना उत्कृष्ट उद्यमी छनौट गरीएको थियो । यस कार्यक्रम मार्फत गत आ।व। २०८१/२०८२ मा उत्कृष्ट २० मा छनौट भएका उद्यमीहरूलाई न्यूनतम रु। ५० हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद रु। २५ हजार पूरक अनुदान प्रदान गरिएको दायित्व संस्थाका जलजला फिल्ड अधिकृत विश्वनाथ आचार्यले बताए । “४० जना भित्र परेका तर उत्कृष्ट २० बाट बाहिरिएका २० जना उद्यमीलाई रु. ३४ हजार बराबरको प्रविधि खरिदका लागि जनही नगद रु २० हजार बराबरको पूरक अनुदान प्रदान गरिएको थियो,” उनले भने “उद्यमको स्थलगत अनुगमनतर्फ ७५ प्रतिशत र एसएमएस भोटिङतर्फ २५ प्रतिशतको मूल्याङ्कनबाट गत माघ महिनामा १० जनालाई छनौट गरी प्रविधि खरिदका लागि जनही नगद रु. एक लाख अनुदान उपलब्ध गराइएको थियो ।”
प्रदेश सरकारको रु. ४० लाख, जलजला गाउँपालिकाको रु. २० लाख र दायित्व संस्थाको रु. १५ लाख लागतमा सञ्चालित कार्यक्रममार्फत उद्यमीलाई तालिम, व्यावसायिक योजना निर्माण, प्रविधि सहयोग तथा अनुदान उपलब्ध गराएको छ ।
जलजलासंगै बागलुङको बडीगाड गाउँपालिका, गोरखाको सिरानचोक गाउँपालिका, तनहुको म्याग्दे गाउँपालिका, नवलपुरको हुक्सेकोट गाउँपालिकामा नमुना परियोजनाको रूपमा सञ्चालन भएको कार्यक्रम प्रभावकारी देखिएको गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका प्रशासकीय अधिकृत अशोक कुमार नेपालीले बताए ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- फिफा विश्वकप २०२६: क्वाटरफाइनलको अन्तिम दिन, नर्वे र इङ्गल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्याण्ड भिड्दै
- सारङ्गीको धुनमा यमबहादुरको ३६ वर्ष
- गर्मी छल्न रिगतालमा पर्यटकको भीड
- पूर्णखोप सुनिश्चित नगर बन्यो सूर्यविनायक
- आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
- कोशी, बागमती र लुम्बिनीसहित ६ प्रदेशमा भारी वर्षाको चेतावनी
- फिफा विश्वकप २०२६: बेल्जियमलाई २-१ ले पाखा लगाउँदै स्पेन सेमिफाइनलमा, फ्रान्ससँगको भिडन्त पक्का
- फिफा विश्वकप २०२६: दोस्रो क्वाटरफाइनलमा स्पेन र बेल्जियमको महाभिडन्त
- आधुनिक प्रविधिबाट रङ्गीन भेडेखुर्सानी खेती
- मुगुमा माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजनाको प्रारम्भिक काम सुरु