बाढी–पहिरोले बागलुङका सडक क्षतविक्षत

बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। विपद्का कारण जिल्लामा १३ जनाको ज्यान गएको छ भने मुख्य सडकमा मात्रै रु. ५० करोड बराबरको क्षति भएको छ।

सडक डिभिजन कार्यालयअन्तर्गतका राष्ट्रिय र सहायक राजमार्ग तथा पूर्वाधार विकास कार्यालयअन्तर्गतका प्रदेशस्तरीय सडक पूर्वाधारमा क्षति भएको आकलन गरिएको छ। ती सडकलाई दीर्घकालीन रूपमा निर्माण गर्न रु. एक अर्ब बढी खर्च लाग्ने अनुमान गरिएको छ। विवरणअनुसार, सबैभन्दा बढी क्षति मध्य पहाडी लोकमार्गको निसी र गलकोट खण्डमा भएको छ। यस्तै, प्रदेश सरकारअन्तर्गतको गलकोट–हरिचौर–ताराखोला खण्डमा क्षति पुगेको छ।

सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीका अनुसार कालीगण्डकी करिडोर, मध्य पहाडी लोकमार्ग, बागलुङ–बेनी सडकलगायतका राजमार्गमा रु. ३० करोडको क्षति भएको छ। मध्य पहाडी लोकमार्गको निसीखोलाको कानाबगर र झिवाखोला क्षेत्रमा ४०० मिटर सडकको ट्रयाक बगाउँदा बगरमा परिणत भएको छ। यस्तै घोडाबाधेदेखि हटियासम्मको लोकमार्गको सडक खण्डमा दर्जन बढी स्थानमा पहिरो गएको छ।

कालीगण्डकी करिडोरको कालाखोला बगर, बेलबगर र जैमिनीघाटलगायत स्थानमा क्षति पुगेको छ। बागलुङ बजार हुँदै सिगाना जाने सडक तथा बागलुङ बजारदेखि तित्याङ जाने सडकमा पहिरो खस्दा आवागमन प्रभावित भएको छ। यस्तै, पूर्वाधार विकास कार्यालय बागलुङको प्रारम्भिक तथ्यांक अनुसार प्रदेश सरकार मातहतमा काम भइरहेका क्षेत्रीय सडकमा रु. २० करोडको क्षति भएको अनुमान गरिएको छ।

कार्यालयका प्रमुख अनुप थापाका अनुसार सबैभन्दा बढी क्षति हरिचौर–ताराखोला सडकमा भएको छ। उनले आठ किलोमिटर लामो सडकको एक दर्जन स्थानमा पहिरो खसेको छ।

यस्तै शालग्राम सङ्ग्रहालय–मालिका–पञ्चकोट सडक तथा कुश्मिसेरा–राङ्खानी सडकमा क्षति पुगेको छ। “तथ्यांक सङ्कलनका क्रममै छौँ, सडक पूर्वाधारमा रु. २० करोड बराबरको क्षतिको अनुमान गरिएको छ”, थापाले भने, “ठेक्काको अवधि बाँकी रहेको हरिचौर–ताराखोला सडक पुन निर्माणका लागि ठेकेदारलाई पत्र पठाएका छौँ।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link