मानिसको सबैभन्दा पुरानो साथी हो कुकुर। तर कोरोना महामारीका बेलामा आफूलाई संकट आएपछि काठमाडौँ उपत्यकामा धेरै मानिसले आफ्नो पुरानो साथीलाई सडकमा धपाइदिए र बनाइदिए छाडा कुकुर।
कोभिड महामारी अगाडिको एक तथ्याङ्कका अनुसार काठमाडौँ उपत्यकाका सडकहरूमा एक लाखभन्दा बढी छाडा कुकुर भौतारिरहेका छन्। कोरोनाको समयमा रोग सङ्क्रमणको त्रास, कुकुरको उपचार र खानेकुराको अभाव, अकस्मात् शहर नै छाडेर बाहिरिनु पर्ने दबाब जस्ता अनेकन कारणले मानिसहरूले आफूले पालेका कुकुरलाई सडक छाडिदिए। यतिबेला कति कुकुर सडकमा भौँतारिएका छन् कसैलाई पनि थाहा छैन। तर कुकुरको व्यवस्थापन हरेक स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार कुकुरले टोकेपछि भ्याक्सिन लगाउन बिरामीहरू अस्पताल आउनेको संख्या पछिल्लो एक वर्षमा निकै बढेको छ। “अस्पतालमा महिनामा झन्डै १८ हजार बिरामी कुकुरको टोकाइपछि उपचार र भ्याक्सिनका लागि आउने गरेका छन्”, डाक्टर पुनले भन्नुभयो, “खोप लगाउन आउने यस्ता बिरामीमध्ये ८० प्रतिशत काठमाडौँ उपत्यका भित्रकै हुन्छन्। एक वर्षमा टेकु अस्पतालमा करिब दुई लाख जनाले रेबिज विरुद्धको भ्याक्सिन लगाएका छन्।” यो संख्या हरेक वर्ष पाँच हजार भन्दा बढि थपिईरहेको डा. शेरबहादुर पुनले बताउनुभयो।
“मान्छेले कुकुरलाई बिच्क्याउने, कुकुरले मान्छेलाई टोक्ने” यो घटनाक्रममा सबैभन्दा बढी महिला तथा बालबालिका पर्ने गरेका छन्। बालबालिकाले अन्जान मै कुकुरलाई जिस्काउने र चलाउने गर्दा धेरै घटना भएको छ,” डाक्टर पुनले भन्नुभयो, ‘पैदलयात्री, साइकल तथा मोटरसाइकल यात्रीलाई पनि छाडा कुकुरले झम्टिने गरेको देखिन्छ।”
यसको उदाहरण काठमाडौं महानगरपालिका -९ स्थित सेतोपुलको सेतो गणेश मन्दिरसँगै तरकारी तथा फलफूल बेच्ने ७० वर्षीया कान्छीमाया गुरुङ हुनुहुन्छ। कोरोना महामारीका क्रममा कसैको घरबाट परित्याग गरिएको कालो कुकुर गणेश मन्दिरको आडमा बस्न थाल्यो। त्यसलाई कान्छीमायाले नै रेखदेख गरिरहनुभएको छ। तर एक दिन सबेरै मन्दिर सफा गर्न जाँदा त्यही कुकुरले उहाँलाई टोक्यो। अहिले उहाँ शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु गएर नियमित भ्याक्सिन लगाई रहनुभएको छ। दायाँ गोडाको पिँडुलामा कुकुरले टोकेको घाउ निको हुँदैछ। तर पनि उहाँले आफूलाई टोक्ने कुकुरलाई हेरचाह गरिरहनुभएको छ।
पशु कल्याण संघले काठमाडौं उपत्यकाका सबै महानगर तथा नगरपालिकासँग उपलब्ध तथ्याङ्कका आधारमा करिब एक लाख सामुदायिक कुकुर उपत्यका भित्र भौतारिइरहेको विवरण बाहिर ल्याएको थियो। जसको व्यवस्थापन हरेक स्थानीय सरकारका लागि चुनौतीपूर्ण बनेको छ। मनुमित्र की अभियन्ता संगीता सापकोटाले काठमाडौँ महानगरसँगको सहकार्यमा १६ हजार भन्दा बढी सामुदायिक कुकरको स्थायी बन्ध्याकरण गरिसकिएको र अहिले पनि अभियान चलिरहेको बताउनुभयो।
उपत्यकामा कुकुर बन्ध्याकरण अभियान निरन्तर चलाइए पनि कोरोना महामारीको समयमा शहरमा हजारौं बयस्क कुकुरको संख्या थपिएको छ। “कोरोनाको समयमा उपत्यकामा बयस्क र आक्रामक कुकुरको संख्या बढेको हो। त्यसैले कुकुरको टोकाईबाट हुने बिरामीको चाप अस्पतालमा थपिईरहेको हुनसक्छ”, सापकोटाले भन्नुभयो।
तथ्यांक अनुसार काठमाडौंको भित्री शहरी भागमा भन्दा बाहिरी क्षेत्रमा अहिले बढी सामुदायिक कुकुरको समस्या देखिएको छ। सामुदायिक कुकुरहरू एउटा निश्चित क्षेत्रमा मात्रै बस्ने भएकाले भित्री शहरमा निकै थोरै मात्रै बाँकी छन्, तर चक्रपथ बाहिर निरन्तर घुमन्ते कुकुरको चाप बढिरहेको छ। काठमाडौंमा प्रति किलोमिटर सडकमा औसत २२ वटा सामुदायिक कुकुर भेटिने गरेको तथ्यांक छ। हरेक दिन छाडा कुकुरले टोकेका ५ सय देखि ७ सय सम्म जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका लागि पुग्छन्।
कुकुरको उपचार तथा उद्धारमा समस्या
सार्वजनिक स्थानमा छाडा कुकुरको संख्या बढेपछि स्थानीय बासिन्दाको माग अनुसार भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले गएको साता नगर क्षेत्रमा ३ दिनसम्म सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण अभियान चलायो। शुक्र भेट डिस्ट्रिब्युटर नामको संस्थाले मध्यपुर थिमी नगरपालिकाको वित्तिय सहयोगमा तिन दिनसम्म चलाएको बन्ध्याकरण तथा रेबिज भ्याक्सिन लगाउने कार्यक्रममा झण्डै पाँच सय कुकुरको उपचार सम्भव भएको छ। अभियानमा संलग्न सबी श्रेष्ठले मध्यपुर थिमीको वडा नं. ७, ८ र ९ मा डा. अर्जुन अर्याल, डा. नवीन श्रेष्ठ लगायत अन्य चार चिकित्सक, ४ प्राविधिक सहित १४ जनाको टोलीले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान सुरु गरिएको बताउनुभयो। मध्यपुर थिमी नगरको यो अभियानपछि भक्तपुरका बाँकी नगरपालिकाले पनि चासो देखाएका छन्। यता काठमाडौं महानगरपालिकामा भने पटक पटक चलाइएका यस्ता अभियानले पनि छाडा कुकुरको संख्या घटेको छैन।
बिहान दिउँसो अथवा उज्यालोमा भन्दा बढी साँझ र बेलुकी छाडा कुकुरहरू बढी आक्रामक हुने र टोकाईका घटना बढ्ने चिकित्सकहरू बताउँछन्। पैदल यात्रीले हिँडडुल गर्दा त्यस्ता कुकुरलाई जिस्क्याउने, सवारी साधनले ठक्कर दिएर हिँड्ने गर्दा त्यसैको रिस कुकुरले महिला तथा बालबालिकालाई बढी पोख्छन्। छाडा कुकुरको संख्या घटाउन काठमाडौं महानगरपालिका र पशु स्वास्थ्य कार्यालयले विशेष अभियान नै चलाउनु पर्ने अभियन्ता सापकोटाको सुझाव छ।
सडकमा भौँतारिएर हिँड्ने धेरै कुकुर नियमित उपचारको पहुँचबाट पर छन्। यसको अर्थ यस्ता कुकुरको टोकाईबाट मान्छेमा घातक रेबिजको संक्रमण हुनसक्छ। रेबिज लागेपछि उपचार असम्भव हुन्छ, कुकुरले टोकेपछि सम्भव भएसम्म चाँडो अस्पताल पुग्नुपर्छ र नियमित परीक्षणसँगै भ्याक्सिन लगाउनुपर्छ, सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनको सुझाव छ।
विभिन्न संस्थाले निकालेको तथ्याङ्ककै आधारमा महानगरले छाडा कुकर नियन्त्रण शीर्षकमा वार्षिक १३ लाख रुपैयाँ भन्दा बढी खर्च गरिरहेको हुन्छ। तर कुकरको टोकाईबाट उत्पन्न जोखिम र मानवीय हताहति उस्तै छ। टेकु अस्पतालको मात्रै तथ्यांक हेर्दा काठमाडौँमा वर्षेनी रेबिज, टिटानसजस्ता रोग लागेर औसतमा २० जनाले ज्यान गुमाई रहेका छन्। छाडा कुकुरको समस्या जटिल बनेपछि महानगरपालिकाले गएको वर्ष सिंहदरबारभित्रका कुकुर बन्ध्याकरण अभियान चलायो। काठमाडौं महानगरपालिका १० ले पनि मनुमित्र संस्थासँग सहकार्य गरेर सामुदायिक कुकुर संख्या नियन्त्रण गर्यो। तर चोक चोकमा हरेक दिन नयाँ नयाँ कुकर देखिने गरेका छन्।
पशु सेवा विभागका प्रमुख अवधेश झाले महानगर भित्र भेटिएका १८ हजार कुकुरको बन्ध्याकरण गरिसकिएको बताउनुभयो। “हरेक दिन उपचार चल्छ र हरेक दिन नयाँ नयाँ कुकुर थपिन्छन्”, झाले भन्नुभयो “घरमा कुकुर पाल्ने तर रहर पुगेपछि, समस्या आएपछि सडकमा लखेट्ने मान्छे कै कारण निस्केको समस्या हो।”
“घरबाट सडकमा निस्केका कुकुरले जब उचित खानपान र स्याहार पाउँदैन तब बढि आक्रामक बन्छन्”, झाले भन्नुभयो “यस्ता सामुदायिक कुकुरको उचित रेखदेख तथा संरक्षण गर्ने निकाय नै तोकिनुपर्छ। कुकुर सडकमै मरेका हुन्छन्, दुर्गन्ध फैलिएको हुन्छ, आपसमा झगडा गरेर बिरामी भएका र रोगले ग्रस्त बनेका कुकरले धेरै बालबालिकालाई टोक्छन्, यो ठूलो समस्या हो,” उहाँले भन्नुभयो।
पशुसेवा विभागका अनुसार, सडकमा छाडा कुकुरले छाडा चौपायालाई पनि टोकेको हुन्छ तर कुकुरको टोकाईबाट बिरामी भएका र मरेका चौपायाको विवरण कतै छैन। त्यस्ता चौपाया कहाँ लगेर फालिन्छ र त्यसको सीनोबाट थप कति कुकुर तथा चराचुरुङ्गीमा संक्रमण फैलिन्छ भन्ने पनि विवरण छैन। यो भुस्याहा कुकुर, छाडा कुकुर अथवा सामुदायिक कुकुरबाट सृजित झन् डरलाग्दो समस्या हो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
यशोदा भण्डारी/काठमाडौँ का अन्य पोस्टहरु:
- वर्षेनी हराउँछन् ३ हजार बालबालिका, दैनिक १० जना बेपत्ता
- आफ्नो ठेकदारलाई दिएर निजी शौचालयमा नि:शुल्क पहुँच खोज्दै महानगर
- उपभोक्ता झुक्याउने प्रपञ्च: फेरि ग्यासमा दुई थरी मूल्य
- उपत्यकामा बादँरबाट सरुवा रोगको संक्रमण फैलने त्रास
- “रातो कर” माफीका नाममा माफिया मालामाल
- सानो झरीमा पनि किन डुब्न थाल्यो काठमाडौं?
- पेट्रोल पम्प कि पेट्रोल बम ? घरको खुड्किलामा पम्प, भुईंतलामा भण्डारण ट्याङ्की
- खोलामा बस्ती कि बस्तीमा खोला: मिलन चोकको कथा
- सरकारी पैसामा गुणस्तरहीन सेनेटरी प्याड: सुरक्षित भण्डारण र विसर्जनको मतलबै छैन
- त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा थोत्रा विमान: लाजको पसारो