तिहारमा मादल, खैँजडी र बाँसुरीको तालमा गुञ्जिने देउसीभैलोमा आधुनिक गीतसङ्गीत र प्रविधिको प्रभाव बढ्दै गएको छ। परम्परागत लोकभाका, बाजागाजा र सामूहिक नाचगानको स्थान आधुनिक गीत र साउण्ड सिस्टमले लिन थालेपछि देउसीभैलोको मौलिकता हराउँदै गएको छ।
बागलुङ बजारका चोक तथा बस्तीमा देउसीभैलोको चहलपहल बढे पनि परम्परागत शैली कम देखिन थालेको छ। ठूला साउण्ड सिस्टममा आधुनिक गीत बजाएर नाच्ने प्रवृत्ति बढेको छ।
कुनै समय मादल, बाँसुरी र खैँजडीको तालमा सोरठी, मारुनी, कौरा, यानीमाया, सुनिमाया र झ्याउरे भाकामा देउसीभैलो खेल्ने चलन थियो। गीतमार्फत गाउँघरका सुखदुःख र सामाजिक सन्देश प्रस्तुत गरिन्थ्यो। अहिले यस्ता मौलिक भाका र नाच हराउँदै गएका छन्।
स्थानीय प्रेम श्रेष्ठले पश्चिमा संस्कृतिको प्रभाव र नयाँ पुस्ताको मौलिक कला तथा संस्कृतिप्रतिको घट्दो चासोले देउसीभैलोको पहिचान कमजोर बन्दै गएको बताए। त्यस्तै, रबीप्रसाद शर्माले आधुनिक प्रविधि र देखासिकीका कारण परम्परागत शैली हराउँदै गएको उल्लेख गर्दै यसको मौलिक स्वरूप जोगाउनुपर्ने बताए।
यद्यपि, केही समूहले पुराना भाका र संस्कृतिलाई निरन्तरता दिने प्रयास गरिरहेका छन्। भकुण्डे टोल समूहले पाका पुस्ताबाट मौलिक गीत र नाच सिकेर नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले परम्परागत शैलीमा देउसीभैलो खेल्दै आएको छ।
देउसीभैलो मनोरञ्जन र दक्षिणा सङ्कलनको माध्यम मात्र नभई नेपाली समाजको कला, संस्कृति र सामूहिक एकताको अभिव्यक्ति पनि हो। समयअनुसार शैली परिवर्तन भए पनि मौलिक बाजा, भाका र नाचको संरक्षण हुन नसके तिहारसँग जोडिएको सांस्कृतिक पहिचान कमजोर बन्ने चिन्ता बढेको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- म्याग्दीको बेनी–दरवाङ सडक मर्मत सुरु
- आज भाइटिका पर्व मनाइँदै: दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै दाजुभाइ
- दिदीबहिनी र दाजुभाइ नहुनेका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुल्दै
- एनपीएल २०२६: सुदूरपश्चिम रोयल्सको शानदार जित, जनकपुर बोल्ट्स २७ रनले पराजित
- बाँसका सामग्री उत्पादनमा जुट्दै कटैयागाउँ, श्रम र सामाजिक सद्भावको नमुना
- काँकडभिट्टा नाका: गत वर्षको तुलनामा यस असोजमा चिया निर्यात दोब्बर
- आज नेपाल संवत् ११४७ को नयाँ वर्ष र म्ह: पूजा आराधना
- आज ११२औँ गणेशमान जयन्ती: लोकतन्त्रका ‘सर्वोच्च कमाण्डर’लाई सम्झिँदै
- एनपीएल: आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै
- आज गोवर्द्धन पर्वत, बली राजा, गोरु तथा हलिको पूजा आराधना